२०८२ भाद्र २ गते सोमवार
इलाम । किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ६८ औं जन्मोत्सवको अवसरमा मंसिर ११ देखि १७ सम्म १४ औं संस्करणको आत्मानन्द लिङदेन गोल्डकप सञ्चालन हुने भएको छ ।
मंगलबार इलाममा आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितासम्बन्धी जानकारी दिइएको हो । प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।
प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद समिति इलाम, गोधुली क्लब धरान सुनसरी, फिदिम स्पोर्टिङ क्लब पाँचथर, झापा–११ झापा, बीबीएफसी दमक झापा, रेडहर्ष इलाम, माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत र श्रीजङ्गा स्पोर्टिङ क्बल मोरङको सहभागिता रहनेछ । माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ अघिल्लो संस्करणको समेत विजेता टिम हो ।
प्रतियोगिताका विजेताले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता माङसेबुङ गाउँपालिका ५ स्थित आत्मानन्द खेलमैदानमा हुनेछ ।
लिङ्देनको जन्मोत्सवको अवसरमा फुटबलका साथै म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो), धनुकाँड, करातेलगायतका खेल पनि हुनेछन् ।
म्यारथुनतर्फ साढे ५ किलोमिटर दुरीको माङसेबुङ चक्रपथको परिक्रममा गर्नु पर्नेछ । म्यारथुनमा प्रथम हुनेले नगद १० हजार १ सय ६८ रुपैयाँ, द्वितीय हुनेले नगद ८ हजार १ सय ६८ रुपैयाँ, तृतीय हुनेले नगद ६ हजार १ सय ६८ रुपैयाँ र सान्तवना हुनेले नगद ४ हजार १ सय ६८ रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता सञ्चालनका लागि करिब २१ लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष आङबुहाङले बताए । त्यसका लागि किरात धर्मावलम्बी भक्तजन र विभिन्न खेलप्रेमी व्यक्ति तथा संघसंस्थाबाट आर्थिक सहयोग संकलन गरिने आङबुहाङले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij