Logo

२०७८ मंसिर १२ गते आइतवार

images

दश भाइको नौटङ्की

दश भाइको नौटङ्की

माधव घिमिरे

२५ भाद्र २०७८
  • 3.6K
    SHARES
  • images
    images
    दश भाइको नौटङ्की
    images
    images
    images

     यतिखेर नवगठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई लाग्नसक्छ– यदि यो दुनियाँ विश्वासमा चल्थ्यो भने कसैको घरमा चाबी हुँदैनथ्यो । उनले जिन्दगीको निकै महङ्गो पाठ सायद विश्वासिला ठानिएका सस्ता पूर्वसहकर्मीबाट सिकेका छन् । कामना गरौँ, संभवतः उनले पीडा दिने र पीडामा साथ दिने दुवै थरीलाई नभुल्लान् भलै नेपालका आम नेतामा यस्तो चरित्र भने अनपेक्षित नै हुन्छ । अहिले हिजोका आफ्नै विश्वासिला ठानिएका कुनै सहकर्मीले ओलीको शब्द सापटी लिएर सगर्व क्षमादानको घोषणा गरेका छन् त कोही चार महिना अघि गरिएको भनिएको कथित कसुरवापत्को सूचना चार महिनापछि दर्ज गरेर सभामुखले किन तात्तातै कारवाहीको घोषणा गरेनन् भनेर सभामुखको निष्पक्षतामा औंलो उठाइरहेछन्, भलै त्यो कारवाहीपछि अन्य आधा दर्जन कारवाही गर्दै फिर्ता लिँदै गरिएका किन नहुन् । आफैँले साधारण सदस्यताबाट निष्कासन गरेका अध्यक्षसँग मिलापपछिका यी गर्जनमा कहीँ न कहीँ दास मानसिकताकै हरक आउँछ । 

    images
    images
    images

    चल्लाभन्दा हल्ला ठूलो

     दश भाइको विषयले गर्माएको मूलतः वामपन्थी राजनीति अझै सेलाएको छैन । गत पौषमा जनप्रतिनिधिमूलक संस्थाको हठात् गला सेरिएपछि यी दश भाइले संसदीय राजनीतिलाई दिशानिर्देश गर्नका निम्ति खेलेको भूमिका नेपाली इतिहासमा अवश्यमेव अभिलिखित हुने नै छ किनकि त्यो भूमिका संसदीय राजनीतिलाई नै सर्वस्व र सर्वोपरि ठान्नेहरूका निम्ति अहम् र अनुकरणीय थियो, छ र रहिरहनेछ । एउटा सङ्गिन घडीमा उनीहरूले लिएको अडानलाई न्यायिक निकायले अनुमोदन पनि गरिसकेको छ । ओली सत्ताच्युत नभएसम्म लोकतन्त्रमाथि खतराको घण्टी बजि नै रहने छ भन्ने उनीहरूको निष्कर्ष सही सावित भएको छ । उनीहरूले ओलीलाई हैकमवादी, विचारहीन, अक्षम, अक्षम्य अपराधी, भष्मासुर, आत्मकेन्द्रित, रामपन्थी, पदलोलुप, आचारसंहिता उल्लङ्घनकर्ता, अवैध नेतृत्व, साइबर स्यालका संरक्षक, प्रसस्तीका पूजक, भजनेका ‘बा’ लगायत जेजति आरोप लगाए ती कालक्रममा सिद्ध भइसकेका प्रतीत हुन्छन् । उनीहरूसँग चट्टानी अडान थियो र केही बुँदे सम्झौताको तमसुक पनि । ‘पार्टी पाटीझैं किमार्थ हुनुहुन्न । यो सर्वथा विधिसम्मत चल्नुपर्छ ।’ भन्ने अडान निःसन्देह कठोर थियो जसले दुई तिहाइको सरकार तासको महलझैं गर्ल्यामगुर्लुम मात्र भएन, ज्योतिषबाहेक कसैले नसोचेका, नचिताएका र धुमिल इतिहास भएका शेरबहादुर देउवा अकस्मात राष्ट्रको कार्यकारी प्रमुखको कुर्सीमा पुनः उदार । यिनै दश भाइको टेकोमा माधव नेपाल राष्ट्रपति कार्यालयमा गई ल्याप्चे लगाए; अदालतको दैलो ढक्ढक्याए; समानान्तर पार्टीको रिहर्सल गरे र स्वच्छ राजनीतिको नयाँ घर निर्माण गर्ने दाबी गर्दै अहोरात्र खटे । त्यतिञ्जेल यी दश भाइले विनामोलाहिजा र सगर्व माधव नेपालको पीठमा धाप मारि नै रहे । तर जब नयाँ घरको छाना हाल्ने तरखर के हुँदै थियो, विद्रोहको झण्डा उठाएका आफैँले अथ्र्याएको मक्किएको छानो नै छाने । गनाएको घर नै रोजे । आफैँले प्रतिगमनकारी करार गरी धारे हात लगाएका नेता नै पुजे । 

    बखत परे बाँका, अघिपछि काका

     भनिन्छ, पखेटा भएर मात्र हुन्न, उड्नलाई त साहस चाहिन्छ । सायद जोखिम मोल्ने साहस नै अभाव त थिएन उनीहरूसँग ? कि तारिफको पुलमुनि स्वार्थको नदी बगेको हुन्छ भन्ने भेउ पाएनन् उनीहरूले ? जति बुँदे सहमति गरे पनि ओलीले यतिखेरसम्म त तिनलाई रद्दीको टोकरीममात्रै फ्याँकिदिएका छन् । अन्यथा २०७५ जेठ २ मा फर्किएको एमालेको स्थायी समितिको बैठकमा त्यसपछि पार्टी एकीकरण गरेका तत्कालीन माओवादी केन्द्रका सदस्यहरू हुने थिएनन् । त्यसरी नै वैशाख २७ गते पार्टी ह्विप उल्लङ्घन गरेको आरोपमा १४ जना सांसदलाई गरिएको कारवाही फिर्ता गर्नुपर्ने उनीहरूको अडान पनि सम्बोधन गरिएको होइन । दुई दुई पटक संसदको गला रेट्ने अक्षम्य अपराधबारे पश्चाताप गर्नु त कता हो कता बरू ओलीले उनीहरूकै सामु साहसिक कदम भनेर स्व–प्रसस्ती गाएका छन्, आफ्ना कदमबारे । न्यायिक निकायले गलत पुष्टि गरेको कुराको सस्वर वाचन सुन्दै गर्दा पनि उनीहरूको ओठ त टालिएकै छ अझ यो मौनताको अर्थ कसरी लगाउलान् सामान्यजनले भन्ने हेक्का गरेको समेत देखिन्न । ओलीले छँदाखाँदाको केन्द्रीय कमिटीबाट अरूलाई हटाएर अध्यक्ष र महासचिवमात्र कायम राखेको कुरामा आफूले गल्ती गरेको कहीँकतै स्विकारेका छैनन् । बरू आफ्नो बदमासीलाई नेपाल समूहको माग अर्थ्याएर पूरा गरिदिएको सगर्व घोषणा गरेका छन् । दशबुँदे भनेकै मूलतः ओलीले गरेका गल्तीको फेहरिस्त हो जसलाई मागका रुपमा अर्थ्याएर पूरा गरेको बहाना बनाएका छन् तर दश भाइको लाज ढाक्ने लँगौटीभन्दा बेसी केही बनेको छैन यो । आफूले गरेको अक्षम्य अपराध विरुद्ध औंलो उठाउनेलाई ‘एमनेस्टी ग्रान्टेड’ भन्दै गर्वसाथ घोषणा गरेका छन् । अपराध मनन त कता हो कता ! ‘एमनेस्टी ग्रान्टेड’ पो ? यही भुलभुलैयामा छन् आफूलाई अब्बल विधिपालक दाबी गर्ने कथित दोस्रो तहका नेताहरू । कति अनौठो हुँदोरहेछ राजनीतिक भविष्य सुनिश्चितताको काल्पनिक चास्नी ! बखत परे बाँका भनिहाल्ने, अघिपछि काकाको साइनो ? अवसरवादिताको अनौठो नेपाली संस्करण होइन र यो ? 

    जहाँ जङ्गल, उहीँ मङ्गल 

     ल मानौँ, मूल्य प्रतिस्थापित गर्नका निम्ति नै विद्रोह गरे रे उनीहरूले । न्यायिक निकायले सोही कुरा सही ठहर्याउँदै परमादेश पनि जारी गर्यो । संविधानले आफ्नो सामान्य मार्ग पनि पक्र्यो । तर उनीहरू त्यस्तो झुन्डमा समाहित भए जसका विरुद्ध आधा वर्षभन्दा बढी कालो अरिङ्गालझैं खनिए । उनीहरू त्यस्ता चरा सावित भए जसलाई पखेटामा होइन, मक्किएको डालीमा ज्यादा विश्वास र भरोसा छ । ‘जहाँ जङ्गल, उहीँ मङ्गल’को पुरातन भाष्य अनुशरण गरे उनीहरूले । के उनीहरूले आफूले गरेको विद्रोहको अपराध बोध गरेका हुन् ? उसोभए पार्टीलाई विभाजनको यो तहसम्म पुर्याउने अपराधको जनतासामु पश्चाताप गर्नुपर्दैन ? आफ्नो पार्टीको सरकार ढाल्न सारा बुता खर्च गरेको प्रायश्चित गर्नुपर्दैन ? आफ्ना अध्यक्षलाई दुई दुई पटकसम्म पार्टी सदस्यताबाट गलहत्याएको कसुरमा कान समाउनु पर्दैन ? संसद विघटन सही थियो भनेर सार्वजनिक रूपमा स्वीकार्नु पर्दैन ? आफ्ना अध्यक्षविरुद्धका तमाम कटु अभिव्यक्ति हामीले सुराको सुरमा दिएका थियौं भन्नुपर्दैन ? अध्यक्षलाई आलोचना गरेवापत् सजायको भागीदार बन्छु भनेर प्रतिवद्धता जाहेर गर्नुपर्दैन ? गुटमा लिप्त भएर पार्टीलाई पाटीको बास बनाएकोमा उठबस गर्नुपर्दैन ? पाँच छ महिनासम्म दिइएका सार्वजनिक अभिव्यक्ति महाभुल भए भनी स्विकार्नु पर्दैन ? 

    रूख चढाउने, फेद काट्ने

    रूख चढेर फेद काट्ने दश भाइले मनन गर्नुपर्छ कि विश्वास जति मूल्यवान् छ नि धोका त्योभन्दा बेसी महङ्गो हुन्छ । अब दक्षिणी गुप्तचरसँगको मध्यरातको गोप्य भलाकुसारीलाई महान् नेताको अमूल्य कूटनीतिक कामको रुपमा व्याख्या गर्नुपर्दैन ? एनसेल करबारेको आफ्नो पूर्व टिप्पणीलाई सच्याउनु पर्दैन ? प्रतिगमनको आफ्नो पूर्व अडान गलत भएको र ओलीको कदम अग्रगमन भएको सकार्नु पर्दैन ? नैतिकताविहीन नेतालाई महान् कर्मवापत् जदौ गर्नुपर्दैन ? प्रतिगमनका विरुद्ध हिजो सडकमा ओरालेका जनतासँग भुल भयो भनेर माफी माग्नु पर्दैन ? अदालतको फैसलाविरूद्ध होमा हो मिलाउनु पर्दैन ? बोलेको बोली र बन्दुकको गोली उस्तै हुन् भन्ने कुरा नबुझ्ने नेतालाई दण्डित नगर्लान् जनताले ? हिजो के मतभेद थियो र सडक तताइयो, अनि आज के सम्बोधन भयो र गला मिलाइयो ? यसको हिसाबकिताब दश भाइसँग जनताले ऐनमौकामा माग्ने नै छन् । गणितको यथोचित ज्ञानसहित उनीहरूले जवाफ दिनुपर्नेछ । अन्यथा ‘मर्न हम्मे, बाँच्न धौ’को अवस्था ननिम्तिएला भन्न सकिन्न । यसबारे दश भाइलाई चेतना भया !

    images
    प्रकाशित मिति :भाद्र २५ २०७८ शुक्रवार - ०८:०३:३३ बजे

    माधव घिमिरे

    सम्बन्धित समाचार