Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

तालिवानले अफगानिस्तानमा यसरी गर्यो वारपार, कसरी भयो अमेरिकाको लज्जास्पद हार ?

तालिवानले अफगानिस्तानमा यसरी गर्यो वारपार, कसरी भयो अमेरिकाको लज्जास्पद हार ?


  • 6.6K
    Shares

    तालिवानले अफगानिस्तानमा यसरी गर्यो वारपार, कसरी भयो अमेरिकाको लज्जास्पद हार ?
    images

    अफगानिस्तानबाट हतारहतारमा अमेरिकी सैनिकहरू निस्कँदा अनि देशमा तालिबानले सोचेभन्दा छिटो सत्ताकब्जा गर्दा अमेरिकाको विश्वव्यापी छविमा थप धक्का पुगेको छ । 

    अमेरिकाको लज्जास्पद हार तथा अव्यवस्थित सैन्य फिर्तीलाई राष्ट्रपति जो बाइडनको ठूलो राजनीतिक विफलताका रूपमा लिनुपर्छ । बाइडनको बाँकी कार्यकाललाई थप संकटमा पार्ने कदमका रूपमा यसलाई लिन सकिन्छ । 

    बीस वर्षभन्दा बढी समय अमेरिकाले अफगानिस्तानमा बिताएको भए पनि त्यहाँको राजनीति र संस्कृति, त्यहाँका जनतामा युद्धप्रतिको वितृष्णा तथा त्यस असफल राज्यका नेताहरूको अपराध र भ्रष्टाचारलाई बुझ्नै सकेन । 

    बाइडनका राजनीतिक तथा भूराजनीतिक शत्रुहरूले उनका कमजोरीबाट फाइदा उठाउन खोजिरहेका छन् । तर सबभन्दा ठूलो कुरा, अफगान जनता पुनः एकपटक तालिबानको कठोर शासनमा बस्नुपर्ने स्थिति आएको छ । 

    अमेरिकाले अफगान अनुवादक, कामदार तथा बिचौलियाहरूलाई सुरक्षित स्थानमा लग्न नसक्दा उनीहरू तालिबानको प्रतिशोधको शिकार बन्ने पक्का छ । त्यस्तो प्रतिशोधले अमेरिकाको विश्वव्यापी छविमा ठूलो आघात गर्नेछ । 

    अमेरिकाले २० वर्षअघि अफगानिस्तानमा युद्ध शुरू गर्दा प्रतिशोध लिनुपर्ने भाव सबल थियो । शीतयुद्धको अन्त्यपछि अमेरिकाको उच्च शक्तिको मिथकलाई सेप्टेम्बर ११ को घटनाले चकनाचुर बनाएको अवस्थामा अमेरिका युद्धमा होमिएको थियो । 

    तर अहिले अमेरिका अफगानिस्तानबाट बाहिर निस्कनका लागि हतार गरिरहेको छ र उसलाई ढुंगेयुगका लडाकूहरूले झुक्न बाध्य बनाएका छन् । ती जिहादीहरू आफ्नो भूमिमा जिहादका लागि मर्न तयार छन् र युद्धले जर्जर बनेको मुलुकमा पुनः सामन्तवादी युग फर्काउन खोज्दैछन् । 

    अफगान युद्धले हजारौं अमेरिकीहरूको ज्यान लियो र अंगभंग गरायो । लाखौं अफगान नागरिक पनि युद्धको वेदीमा होमिए । युद्धमा खर्र्बौं डलर स्वाहा भयो । तर यति लामो र खर्चिलो युद्ध यस्तो बेइज्जतीपूर्ण तरिकाले अन्त्य हुँदा विश्व समुदाय नै स्तब्ध छ । 

    बाइडनले अफगानिस्तानबाट सेना फर्काउनुको उद्देश्य बुझ्न सकिन्थ्यो । अमेरिकाले अर्को देशमा आफ्नो जस्तो व्यवस्था कायम गर्नु भ्रम हो अनि वर्षौंवर्षसम्म अमेरिका त्यहाँ संलग्न रहे पनि कुनै परिणाम आउँदैनथियो भन्ने कुरा बुझेका थिए । 

    तालिबानविरुद्ध लडाइँका लागि अमेरिकाले अफगान सुरक्षाबल तथा प्रहरीमा अर्बौं डलर खर्च गरेको तर त्यो कुनै पनि काम नलागेको देख्दा अमेरिकी अधिकारीहरू आश्चर्यमा परेका छन् । अमेरिकी सेनाका उच्च अधिकृत तथा कूटनीतिकर्मीहरू कसरी आफ्नो पूर्वाग्रहका कारण गलत निर्णय लिन पुगे भन्ने कुरा यसबाट देखिन्छ । 

    त्यसो त बाइडनले आम अमेरिकीहरूले चाहेमुताबिककै कदम चालेका हुन् । अमेरिका वर्षौंदेखि टाढाटाढा देशका युद्धहरूमा फसेको देख्दा अमेरिकी जनतामा निराशा र वितृष्णाको स्थिति आइसकेको छ । अफगानिस्तानमा अमेरिकी सेना २० वर्षसम्म किन बसिरहेका हुन् भनी आम अमेरिकीले प्रश्न सोधिरहेका थिए । 

    युद्ध चर्काउनुपर्छ भन्ने विषयमा हतियार व्यापारीबाहेक अन्य कुनै पनि अमेरिकी सहमत थिएनन् । आम अमेरिकीको यो चासोलाई बेवास्ता गर्दै राष्ट्रपति जो बाइडनले तालिबानलाई रोक्ने नाममा थप अमेरिकी सैनिक तैनाथ गर्ने निर्णय लिएको भए अमेरिकामा उनको चर्को आलोचना हुने थियो । अनि ओबामाको पालामा उपराष्ट्रपति छँदा बाइडनले विदेशी युद्धमा अमेरिकाको संलग्नतालाई विरोध गर्ने गर्थे र अहिले पनि उनी युद्धको पक्षमा देखिँदैनन् । त्यसैले अमेरिकी सैनिक फिर्ता गर्ने उनको निर्णय अवश्यम्भावी थियो । 

    तर सैन्य फिर्ता गर्ने कदम व्यवस्थित हुनुपर्थ्यो । तालिबानले यति छिटै अनि यति सजिलै सत्तामा नियन्त्रण गर्ला भनी आकलन गर्न ह्वाइट हाउस पूर्णत अक्षम देखियो । ६ महिनामा मात्र काबुल तालिबानको नियन्त्रणमा आउँछ भन्ने अमेरिकी गुप्तचर संस्थाको अघिल्लो साताको आकलन एक छेउ पनि नमिल्दा अमेरिकाको छविमा थप धक्का लागेको छ । 

    अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले आइतवार ठूलठूला कुरा गरेको भए पनि विगत केही दिनमा अफगानिस्तानमा भएको घटना बाइडन प्रशासनका लागि राजनीतिक र भूराजनीतिक दुवै किसिमबाट क्षति हो । 

    बाइडन अमेरिकाका कमान्डर–इन–चीफ भनिन पनि लायक देखिएनन् किनकि उनी आफैंले तालिबानको विजय अवश्यम्भावी नभएको बताएका थिए । अफगान सेना तालिबानको प्रतिकार गर्न सक्षम छ भनी उनले दाबी गरेका थिए ।

    बाइडनको अव्यवस्थित सैन्य फिर्तीलाई विपक्षी रिपब्लिकन पार्टीले चर्को आलोचना गरेको छ । पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रशासनले बनाएको फिर्ती योजनालाई अनुपालन नगरी अव्यस्थित काम गरेको भन्दै आलोचना गरे । अब अमेरिकाका शत्रुहरूले अमेरिकामा आक्रमण गर्ने नयाँ अड्डा फेला पारे भनी उनले टिप्पणी गरेका छन् । 

    भियतनाम युद्ध हारेपछि साइगनबाट अमेरिकीहरूलाई हेलिकप्टरमा राखेर उद्धार गर्नुपर्ने स्थिति आउँदा अमेरिकाको बेइज्जती भएको थियो । त्यस्तो साइगन क्षण अफगानिस्तानमा दोहोरिने छैन भनी बाइडनले आश्वस्त तुल्याउन खोजेको भए पनि काबुलस्थित अमेरिकी दूतावासको छतमा अमेरिकी सेनाको हेलिकप्टर आएर कूटनीतिकर्मीहरूको उद्धार गरेको दृश्य संसारले देख्यो । अझ दूतावासमा राखिएको अमेरिकी झण्डालाई कुनै समारोहविना नै तल ल्याइँदा त्यसको लज्जात्मक प्रतीकात्मकता अमेरिकाको छविका लागि घातक ठहरियो । 

    अर्को महत्त्वपूर्ण कुरा, अमेरिका अफगानिस्तानबाट अव्यवस्थित रूपमा निस्कँदा ऊ एक विश्वासिलो साझेदार हुँदै हैन भन्ने प्रमाणित भयो । आफूलाई काम परुन्जेल उपयोग गर्ने अनि काम लाग्न छोडेपछि परित्याग गरिदिने अमेरिकाको पुरानो स्वभाव यसपालि पनि देखियो । अमेरिकाको साझेदार बनेका संसारका विभिन्न मुलुकले यसबाट गतिलै पाठ पढेको हुनुपर्छ ।

    राष्ट्रपति बनेलगत्तै अमेरिका फर्कियो (अमेरिका इज ब्याक) भन्दै डंका पिटेका बाइडनले आफ्नो परराष्ट्रनीतिको पहिलो संकटलाई व्यवस्थापन गर्न नसकी अमेरिकालाई थप बेइज्जती गराए । विश्वका विभिन्न मुलुकमा लोकतन्त्रको संरक्षणका लागि आह्वान गर्ने बाइडनले अफगानिस्तानमा बामे सर्दै गरेको लोकतान्त्रिक सरकारलाई संकट पर्दाको अवस्थामा चटक्कै छोडिदिँदा लोकतन्त्रको फोस्रो गफ मात्र गरेको प्रमाणित भयो । 

    सीएनएनमा प्रकाशित स्टिफन कोलिनसनको विश्लेषण 

    प्रकाशित मिति :श्रावण ३२ २०७८ सोमवार - १२:३६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij