२०८२ भाद्र २ गते सोमवार
शुक्रवार राति युरोकपको क्वार्टरफाइनलमा बेल्जियम र इटलीबीच भिडन्त हुँदैछ । जर्मनीको म्युनिखमा रहेको अलायन्ज एरिनामा हुने यस खेलमा विश्वको पहिलो नम्बरको टीम बेल्जियम यो वर्ष एउटा पनि खेल नहारिकन उच्च उत्साहमा छ । उता इटलीले लगातार ३१ खेलमा अपराजित रही कीर्तिमान बनाएको छ ।
राउन्ड अफ १६ मा थोर्गान हजार्डको गोलका साथ बेल्जियमले पोर्चुगललाई हराएको थियो । तर थोर्गानका दाइ इडन हजार्ड र टीमका अर्का प्रतिभाशाली खेलाडी केभिन डीब्रुइना घाइते भएकाले बेल्जियम चिन्तित छ ।
उता इटलीले अस्ट्रियालाई राउन्ड अफ १६ को खेलमा अतिरिक्त समयमा हराएर क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । फेडरिको चिएसा र म्यात्तिओ पेसिनाको गोलको सहायतामा इटली क्वार्टरफाइनल पुगेको हो । इटलीले यस प्रतियोगितामा नौ गोल गरिसकेको छ । अनि डिफेन्समा त इटली पहिलेदेखि नै बलियो टोली हो ।
बेल्जियमका लागि डीब्रुइना र इडन हजार्ड शुरूआती टोलीमा नरहने अनि सब्स्टिच्युटका रूपमा आउने सम्भावना छ । तर अन्य खेलाडीहरू पनि उच्च फर्ममा छन् ।
इटलीको कुरा गर्दा अघिल्लो खेलमा गोल गरेका पेसिना र म्यानुएल लोकातेलीलाई शुरूआती लाइनअपमा राख्ने कि सब्स्टिच्युटका रूपमा ल्याउने भन्ने विकल्प छ । मार्को भेरात्तीले उम्दा प्रदर्शन गरिरहेका छन् । अनि पाका कप्तान जर्जिओ चीलेनी पनि चोटबाट मुक्त भएका छन् ।
बेल्जियमको सम्भावित स्टार्टिङ लाइनअप
कोर्टुआ, आल्डरवेरल्ड, भार्मेलेन, भर्टोन्गन, थोर्गान हजार्ड, विट्सल, तिएलमान्स, मुनिएर, मर्टन्स, लुकाकु, कारास्को
इटलीको सम्भावित स्टार्टिङ लाइनअप
दोन्नारुम्मा, डी लोरेन्जो, बोनुच्ची, चीएलिनी, स्पिनाज्जोला, बारेला, जोर्गिन्हो, भेरात्ती, चिएसा, इम्मोबिल, इन्सिग्ने
यो खेल कसले जित्ला भन्न एकदमै गाह्रो छ । खेलको कुनै क्षणमा एउटा खेलाडीले गरेको उत्कृष्ट प्रदर्शनले परिणाम सुनिश्चित गर्ने देखिन्छ ।
तर बेल्जियमका प्रमुख खेलाडी घाइते भएकाले इटलीको सम्भावना बढी हो कि जस्तो देखिन्छ । इटलीको आक्रमण दह्रो भएकाले उसको सम्भावना बढी देखिएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij