२०८२ भाद्र १ गते आइतवार
रसुवाको लहरेपौवा गाउँको सुन्दरताका कैयौं आयामहरू छन् । यसको पर्यटकीय महत्व छ । धार्मिक महत्व छ । अन्य कयौं महत्वको ब्याख्या गर्न सकिन्छ ।
लहरेपौवाको सांस्कृतिक महत्वको सन्दर्भमा निबन्ध लेख्न सकिन्छ । भावुक कविता र गजल लेखेर फेसबुकमा वाह ! वाह ! कमाउन सकिन्छ । लहरेपौवाको घुम्तीमा उभिएर हिमालको दृश्यपान गर्न सकिन्छ । माझगाँउनेरको पौवाको चौरमा पसेर इतिहासबारे थोरबहुत गम्न सकिन्छ । यसरी गम्दा खुल्दै खुल्दै जान्छ रसुवाको दुखान्त कथा ।
पञ्चायतकालीन इतिहासका एकजना चर्चित पात्र रामकृष्ण आचार्यको घर भुकम्पले ढालिसकेको छ । घर ढलेसँगै इतिहासको एउटा अध्याय ध्वस्त भएको छ । उनको भतिजाको घरमा कांग्रेसको चारतारे झण्डा हल्लिरहेको छ । तल फलाखु सुसाइरहेको छ । त्रिशुलीको छाल उर्लिरहेछ । र सल्ला झंै सुसाइरहेछ रसुवाको कथा ।
इतिहास र बर्तमान संयोजनले मान्छेको कथा बन्छ । देशको सन्दर्भमा पनि यही हो । इतिहासको धुवाँले निस्सासिएर देशको कथा बनेको हुन्छ । देशको कथामा दुःखसाध्य अध्यायहरू कति छन् कति । यो सानो हिमाली जिल्लाले ब्यहोरेको दुखादायी कथाहरूमा देशको कथामा झैँ इतिहासको बासी गन्ध आइरहेछ ।
मसानघाटमा बस्ति बसाल्नु हुन्न । यो कुनै अध्यात्मिक गुरुले दिएको सनसनीपुर्ण तर्क होइन । बिज्ञानले त्यही भन्छ । मसानघाटको बस्तीलाई बाढी पहिरोको जोखिम धेरै हुन्छ । यस्तो खराब बिम्ब म यो नामि सम्भावनायुक्त जिल्लाको सन्दर्भमा जोडन चाहन्न । रसुवालाई मसानघाट बनाउने राजनीति हाम्रो लागि स्विकार्य छैन । तपाईंलाई मनोबिज्ञानप्रती रुचि छ भने कृपया भुतप्रेतको कथा नसम्झिनु होला । रसुवाको राजनीतिबाट हामी भुत प्रेत मसान मन्साउन चाहन्छांै । हामीलाई नक्कली झाँक्रीहरू चाहिँदैन जो आफै बोक्सीको रूपमा खडा भइरहेछन् ।
रामकृष्ण आचार्यको बिम्ब अब पुरानो भएको छ । इतिहासलाई बिर्सेर तपाईं भबिस्यको गोरेटो कसरी हिँड्नुहुन्छ ? गाउँको गोरेटोमा झरीले सम्झनाहरूलाई भिजाएको छ । पहेंलो पन्चायती रङ्ग खुलिइदै गएपनि दिमागभरी पन्चायत ज्यूंदो छ । चारतारे झण्डालाई उही पन्चायतको बतासले हल्लाउन छोडेको छैन । उही तीन बीस उही साठी अर्थात् रसुवाको दुखान्त कथाले मन बिझाइरहन्छ ।
त्रिशुली खोला कुन कुन जलमाफियाको झोलामा छ ? हामी बेखबर छौँ । बल्ने ढुंगाको कारोबारी को हो ? उसको ठेगाना हामीलाई थाहा छैन । जलविद्युतको शेयर जनतालाई दिनुपर्छ भनेर आन्दोलन गर्नेहरू बिकास बिरोधी तत्वको रूपमा दर्ज भएका छन् । त्रिशुली खोला बेचेर तपाईंको घरमा पाँच हजारमा भोट किन्न आउने मान्छे को हो ? माफिया, दलाल, तस्कर, गुण्डाहरूको शैलीबारे यो सानो जिल्लाले खासै जान्दैन । तपाईं यहाँ आएपछि नयाँ उखान बनाउन गर्न सक्नुहुन्छ चुनाव हारे रसुवा जानु, न्याय नपाए गोर्खा किन जान ?
धुन्चे होटेलमा पाँच हजारको रक्सी हाकिमलाई खुवाएर बिकास बजेट झ्वाम पारिंदैछ । के यो पञ्चायती मानसिकता होइन ? प्राबिधिकलाई पाँच खुवाएर आएको बजेट सहि सदुपयोग नगर्नेहरू जय नेपाल दाइ भनेर हिँडिरहेको देख्छु । के यो पञ्चायती मानसिकता होइन ? बिकासप्रेमी मान्छेहरूलाई कसरी खुल्याउने भनेर साइवर आंतक मच्चाउनेहरूलाइ के थाहा कसैकसैले यहाँ टिकट बेच्छन् , पार्टी आस्था बेच्छन् , सपनाहरू बेच्छन् । तपाईंलाई भुसको थैलामा हाल्दिन्छन् र तपाईंको मुल्य रु पाँच हजार पाँच साठीमा सिमित गरिदिन्छन् ।
जगतजंगको फाटेको कटन पाइन्ट र थोिित्रंदै गएको समाजवादी तिर्सना संसदवादको हिलोमा गाडिएको छ । जित्नेहरूको मात्र ब्यबस्था संसदवाद हो । लोकतन्त्रमा त फरक मतको पनि स्थान हुन्छ । बिपक्षीको आवाज सुनिन्छ । बिपक्षी आलोचनालाई स्थान दिने गरिन्छ ।
गोसाइँकुण्डमा महादेवको मुर्ति बनाउनु भन्दा महत्वपूर्ण कुरा हो पाहा खोलामा पुल बनाउनु । माननीयज्युको नक्कली स्टाटस भन्दा महत्वपूर्ण हो जिबजिबे अस्पतालमा पुर्वाधारको बिकास गर्नु । कार्यकर्ताको वाइक तेल हालेर हाहाहुहु गर्नु भन्दा महत्वपूर्ण हो स्वच्छ राजनीति बाताबरणको निर्माण गर्नु । यस्ता ससाना कुराले यो सानो हिमाली जिल्लामा अर्थ राख्छ ।
पछिल्लो समय चुनावमा पराजित भएपनि कमरेड जनार्दन ढकाल जिल्लामा बिकास बजेट ल्याउन पहल गरिरहेका छन् । धारापानीदेखि लोकिलसम्म बाटो बन्दैछ, पिच हुँदैछ । नौकुण्डको सन्दर्भमा पनि उनले पहल गरेको देखिन्छ । धोबीखोलामा पुल वन्यो भने पुर्बी रसुवाको मुहार फेरिन्छ । पिच हुँदा त्यो भेगको अर्थतन्त्र सुधार हुन्छ । ढकालले ल्याएको बजेट सही ठाउँमा प्रयोग होस् । जनमुखी काम होस् । हाम्रो अपेक्षा यही छ । कसैले जिल्लामा बिकास गर्छु भनेर अघि सर्दा उसलाई किन भाँजो हाल्नु ? बरु निरन्तर खवरदारी आबश्यक हुन्छ । चुनाव जितेपछि एकदिन पनि मतदाताको पिर मर्का सुन्न नचाहने मानिसहरूको निम्ति कमसेकम ढकालको यो पहल उदाहरणीय हो । कसैले भन्लान् उनले अर्कोपटक चुनाव जित्न यसो गर्दैछन् । संसदीय राजनीति गरेपछि कसैले चुनाव जित्छु भनेर अपेक्षा गर्नु कुन नौलो कुरा हो र ? ढकालले मात्र होइन सबैले यस्तो रहर बोकिहिँडेका हुन्छन । काम गरेर जनतामा लोकप्रिय भएर जनताको पिरमर्कालाई बुझेर राजनीति गर्नु पो असली राजनीति हो । भोटको लागि जनतालाई चोट दिनुहुन्न खोइ तपाईंले कुरा बुझेको ?
सानो चिया पसलमा दैनिक ढकालले चुनाव जित्छन् कि आचार्यले संसद पडकाउँछन् भनेर बहस गर्नुभन्दा बिग्रदै गएको रसुवाको राजनीतिक वातावरणलाई सुधार्न के गर्न सकिन्छ ? हामी खासै चिन्तित हुँदैनौ । जागीर कस्ले लगाइदिन्छ, बजेट कस्ले पार्दिन्छ ? कस्ले कुलोमा कति खायो ? कस्को छोराले जागीर खायो ? कस्को छोरीले कस्लाइ प्रेम गरी ? यस्तै बकम्फुसे कुरा गरेर जिन्दगी बिताइरहेका छौँ हामी ।
हिमाली भेगमा पर्यटकीय बिकास, जडिबुटी खेती, ट्राउट माछा पालन , रसुवागढी नाकाको सुधार आदिवारे हामी खासै सोच्दैनौं । रसुवा जलविद्युतमा अत्यधिक सम्भावना बोकेको जिल्ला हो । तर खोलालाई झोलामा हालेर हिँड्ने माफियाहरूलाइ हामीले खवरदारी गर्न सकेका छैनौं । स्थानीय स्रोतमाथि जनताको अग्राधिकारको कुरा गर्नेहरू खोलालाई झोलामा हाल्ने पापी कर्म गरिरहेका छन् । चुनावमा चर्को भाषण गर्ने, च्यात्तिएको सर्ट लगाएर हिँडने , आफूलाई दर्दनाक देखाएर काठमाडौंमा सिसाको महल हाल्ने नेताहरू रसुवामा मात्र छैनन् । तर यहाँका चाहिँ उदाहणीय छन् ।
एकहप्ता अगाडि एउटा सानो कुलोको काम हुँदै थियोे । संयोगले म त्यहाँ पुगेको थिएँ । कांग्रेसी दाबी गर्ने एकजना नेताको ठेक्का रहेछ दुई चार लाखको । काम गर्ने कांग्रेस कार्यकर्ता नै । उनीहरूबिच बहस हुँदै रहेछ जस्ले वढी दिन्छ उसलाई भोट हाल्ने । भाइ कांग्रेस प्रवृत्ति भनिन्छ क्यारे यो । त्यस्तै दृश्य देखियो । टोली नेता मसँग भन्दैथियो –मान्छे बढाउन क्रियाशिल सदस्यता वाँडियो, यिनको हालत यो छ । उनीहरूको बहस पैसा केन्द्रित भएपछि टोली नेताले चिच्याएर भन्यो – तिमीहरू दोकला भएकोले नै मोहन दाइले हामीलाई बजेटमा महत्व दिनुभएन । दाइले हस् हस् मात्र भन्नुभयो ।
यस्तै यस्तै मान्छेहरूको कमी छैन यहाँ । अलिकता बिचारको सन्दर्भ पनि जोडन आवश्यक ठान्छु । बिचारको मृत्यु भएपछि अराजकताले जन्म लिन्छ । अराजकताले समाजको बिनास गर्छ । हाम्रो देशको सन्दर्भको कुरा गर्ने हो भने यहाँ लोकतन्त्रको कोखबाट अधिनायकवाद जन्मिरहेछ । अधिनायकवादको बाछिटा चारैतिर फलिरहेको छ । यसको असर पछौटे समाजमा गहिरो छ ।
न्यून चेतना भएको , बौद्धिकताले मुन्टो उठाउन नसकेको, बिकास निर्माणमा पछाडि परेको, गरिबीको मार खाएको समाजमा लोकतन्त्रको विरुवा हुर्कन सक्दैन । लोकतन्त्रको सुन्दर बतासमा अराजकताको दुसित हावा मिसिन्छ । तपाईंले रसुवाको राजनीतिक बाताबरणमा यसरी निस्सासिन पुग्नुहुन्छ । जसरी अधिनायकवाद थिच्दा लोकतन्त्र निस्सासिन्छ । प्रतिकुल राजनीतिले अब निस्सासिएका छौँ ।
एउटा सांसद जित्नको निम्ति पचासौं करोड आबश्यक हुन थालेको छ । बगलीमा छुरा हालेर हिँडनेहरूको रजगज हुन थालेको छ । यस्तो हुन थालेको अहिलेदेखि होइन । पुरानै घाउ बल्झिरहेको छ, दुखिरहेको छ, चहर्याइरहेको छ । बन ढडेको सवैले देख्छन् मन ढडेको कस्ले देख्ने ?
बिरही कमरेड रसुवामा दुखिरहेकै छ कर्णाली । कहिले भार्खुका लेकहरूमा दुख्छ, कहिले भोर्लेका बेसीहरूमा दुख्छ । कहिले गत्लाङ गोल्जुङतिर दुख्छ । कहिले ठाडेका लेकहरूमा दुख्छ । कहिले डाँडा गाउँ ठुलो गाउँका पहिरोहरूमा दुख्छ । कहिले धैबुङका गाउँहरूमा दुख्छ । कहिले डोल्माका आँखाहरू दुख्छन् । स्याफ्रुका घुम्तिहरूमा दुख्छ । कहिले वीर सरका सपनाहरूमा दुख्छ । तर सपनाहरू मरेका छैनन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij