२०८३ मंसिर १३ गते आइतवार
काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पोखरास्थित आन्तरिक राजस्व कार्यालयले पनि लोट्री सुरु गरेको छ । मंसिर १ देखि १५ गतेसम्मका विजेता उपभोक्ता तथा बिक्रेताका लागि मंसिर १६ गते लोट्री घोषणा गर्न लागिएको हो ।
पोखरा उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम आयोजना गरी नतिजा सार्वजनिक गरिने कार्यालयले जनाएको छ ।
बिल माग्ने र दिने संस्कारको विकास गर्ने उद्देश्यले उपहार कार्यक्रम सञ्चालन गरिएको कार्यालय प्रमुख शिवप्रसाद ढुंगानाले जानकारी दिएका छन् । उनका अनुसार कार्यक्रममा सहभागी हुन उपभोक्ताले १०० रुपैयाँ वा सोभन्दा बढी मूल्यको वस्तु तथा सेवा खरिद गर्दा प्राप्त हुने बिलमार्फत आवेदन दिन सक्नेछन् ।
यसका लागि आन्तरिक राजस्व विभागको वेबसाइटमा गएर बिल नम्बर, बिक्रेताको स्थायी लेखा नम्बर लगायत आवश्यक विवरण भरी प्रविष्टि गर्नुपर्नेछ ।
कार्यक्रममा पहिलो चरणमा १५ जना विजेता उपभोक्ताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, एक जना भाग्यशाली विजेताले १० लाख रुपैयाँको बम्पर उपहार पाउनेछन् ।
बम्पर उपहार रकममा नियमानुसार २५ प्रतिशत कर कट्टा गरी विजेतालाई ७ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिनेछ । अन्य पुरस्कारमा कर कट्टा गरी एक लाख रुपैयाँ प्रदान गरिने ढुंगानाले बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij