२०८३ मंसिर १३ गते आइतवार
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा श्रीमान कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। मादक पदार्थ सेवन गरेका श्रीमानले कुटपिट गर्दा श्रीमतीको ज्यान गएको हो।
इन्द्रसरोवर गाउँपालिका–४ गोठभित्ता निवासी करिब ४० वर्षीय रमेश पाख्रिनले आफ्नै ३५ वर्षीया श्रीमती रुकु पाख्रिनमाथि शुक्रबार राति घरमै कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी रुकु अचेत अवस्थामा पुगेकी थिइन्।
घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी चौकी फाखेलबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले घरभित्रको सुत्ने कोठामा रुकुलाई मृत अवस्थामा फेला पारेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए।
प्रहरीले घटनास्थल सुरक्षित राख्दै मृतकका श्रीमान रमेशलाई नियन्त्रणमा लिएको छ। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सनम मल्लको कमान्डमा अनुसन्धान टोलीसमेत घटनास्थल पुगेको थियो।
कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइएको डीएसपी काफ्लेले बताए। पक्राउ परेका रमेशलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij