२०८३ मंसिर ११ गते शुक्रवार
१. विपद् पुनर्निर्माणलाई प्राथमिकता दिँदै वागमती सरकार, ६ अर्ब जुटाउन मन्त्रालयका बजेट कटौती हुँदै
भोटेकोशी बाढीले क्षति पु¥याएका क्षेत्रको पुनर्निर्माण र प्रभावित नागरिकको पुनःस्थापनालाई प्राथमिकतामा राख्दै वागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट पुनःप्राथमिकीकरण गर्ने भएको छ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भौतिक संरचनाको पुनर्निर्माणमा मात्र सिमित नभई प्रभावित नागरिकको आवास, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक गतिविधि र सामाजिक जीवनलाई सामान्य अवस्थामा फर्काउने गरी ६ अर्ब रुपैयाँ खर्च गरिने बताएका छन् । ल्हेन्दे भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि प्रदेश सरकारले ६ अर्ब रुपैयाँ जुटाउने तयारी गरेको हो ।
२. विज्ञानमन्त्री पुनको राजीनामा माग गर्दै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका कर्मचारीहरु आन्दोलित
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका कर्मचारीहरु आन्दोलित भएका छन् । शुक्रवार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ऐन तथा नियमावलीका सम्बन्धमा सरोकारवालाहरुसँग कुनै छलफल नै नगरी अध्यादेश ल्याइएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । विज्ञान प्रविधि तथा नवप्रवर्तन महावीर पुनले नैतिक जिम्मेवारी लिइ तत्काल राजीनामा दिन माग गर्दै विरोध प्रदर्शन गरेका छन् । प्रतिष्ठानको प्राङ्गणमा प्रदर्शन गर्दै उनीहरुले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ऐन तथा नियमावली सरोकारवालाहरुसँग छलफल नगरी ल्याइएको र आफ्ना सुझावहरु बेवास्ता गरिएको उनीहरुको भनाइ छ ।
३. नेपाल–भारत सीमा समस्या कुटनीतिक वार्ताबाट समाधान गर्ने सहमति, सीमाको संयुक्त स्थलगत निरीक्षण गरिने
प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा सम्बन्धी बाँकी समस्यालाई कुटनीतिक माध्यमबाट समाधान गर्ने सहमति भएको छ । प्रधानमन्त्री साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको छलफलका क्रममा सीमा समस्यालाई संयुक्त भिजन डकुमेण्टमा समेत समावेश गरिएको हो । दुवै देशका प्रधानमन्त्रीले नेपाल–भारत सीमाको संयुक्त स्थलगत निरीक्षण तथा सीमा स्तम्भहरूको मर्मतसम्भार कार्यलाई अघि बढाउने विषयमा सहमति जनाउनुभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताउनु भयो । शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले सीमा सम्बन्धी विद्यमान समस्या समाधानको प्रक्रिया अघि बढाउन दुवै देशका परराष्ट्र सचिव र विदेश सचिवलाई निर्देशनसमेत दिइएको बताउनु भयो ।
४. निर्वाचनमा एआईको दुरुपयोग रोक्न कानूनी व्यवस्था र कडा जरिवाना आवश्यकः पोखरेल
पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनमा कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोग गरी भ्रामक प्रचार गर्ने प्रवृत्ति रोक्न कानूनी व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले एआईबाट तयार पारिएका सामग्रीको पहिचान सहज बनाउन वाटरमार्क अनिवार्य गर्नुपर्ने र दुरुपयोग गर्नेलाई कडा जरिवानाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको हो । शुक्रवार ललितपुरमा सरोकारवालाहरुसँग निर्वाचन आयोगको छलफल कार्यक्रममा बोल्दै उहाँले एआईलाई कानूनी दायरामा ल्याउँदै यसको नियमन आवश्यक रहेको बताउनु भयो । उहाँले एआई टुल्सको प्रयोगमार्फत अनुसन्धान केन्द्र र प्रयोगशालाबाट गलत तथा भ्रामक सामग्री पहिचान गर्ने प्रणाली विकास गर्नुपर्ने उल्लेख गर्नुभयो । एआईबाट सिर्जना गरिएका सामग्रीमा एआईको भूमिका कस्तो छ भन्ने पहिचान गर्न नमूना परीक्षणसमेत गर्नुपर्ने उनको भनाइ छ ।
५. निर्वाचन प्रणाली र मतदान प्रक्रियामा परिवर्तन गर्नुपर्छः आयुक्त सुब्बा
निर्वाचन आयुक्त डा. राजीव सुब्बाले निर्वाचनलाई परम्परागत ढंगले सञ्चालन गर्दै आएको व्यवस्थामा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । शुक्रवार ललितपुरमा निर्वाचन आयोगले चौथो पञ्चवर्षिय रणनीतिक योजनाबारे सरोकारवालाहरुसँग गरेको छलफल कार्यक्रममा यस्तो बताउनुभएको हो । उहाँले अबको निर्वाचन प्रणाली, व्यवस्था र निर्वाचनसम्बन्धी सम्पूर्ण क्रियाकलापमा समयअनुकूल परिवर्तन आवश्यक रहेको बताउनु भयो । अहिलेको निर्वाचन प्रक्रियाले विभिन्न कारणले धेरै नागरिकलाई मतदान गर्न कठिनाइ भइरहेको उहाँको भनाइ छ । सुब्बाले विदेशमा रहेका वा कामको सिलसिलामा एक जिल्लाबाट अर्को जिल्लामा पुगेका नागरिकलाई समेत मतदानको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
६. निर्वाचन आयोगको दुई वर्षे कार्ययोजनाः ३५ क्रियाकलापमध्ये ९ वटामात्रै पूर्ण कार्यान्वयन
निर्वाचन आयोगले चौथो पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत दुई वर्षमा सम्पन्न गर्नुपर्ने ३५ वटा क्रियाकलापमध्ये ९ वटामात्रै पूर्ण कार्यान्वयन गरेको छ । १६ वटा क्रियाकलाप आंशिक रूपमा कार्यान्वयन भएका छन् भने १० वटा क्रियाकलाप सुरु नै हुन सकेका छैनन् । शुक्रवार ललितपुरमा निर्वाचन आयोगले चौथो पञ्चवर्षीय रणनीतिक योजनाबारे सरोकारवालासँग गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले यस्तो जानकारी दिनुभएको हो । उहाँकाअनुसार आयोगको रणनीतिक योजनामा पाँचवटा रणनीतिक स्तम्भ, २० वटा कार्यनीति र १४६ वटा मुख्य क्रियाकलाप समावेश छन् ।
७. दशौं खेलकुदको महिला क्रिकेटमा तीन टोली सेमिफाइनलमा
विभागीय टोली त्रिभूवन आर्मी र एपिएफ क्लव कर्णालीमा जारी दशौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा समूहविजेताका रूपमा सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनलमा पुग्न जित्नैपर्ने खेलमा आर्मीले सहआयोजक राष्ट्र कर्णाली प्रदेशमाथि ९७ रन र सशस्त्र प्रहरी बलको एपिएफले मधेस प्रदेशमाथि ८० रनको जित निकाल्दै समूह विजेता बने । तीन समूहबाट शिर्ष टोली र उत्कृष्ट एक उपविजेता सेमिफाइनलमा पुग्ने प्रावधान छ । तीनै समूहका उपविजेताको समान अंक भए नेट रनरेट आधार बन्ने भएको छ । तीन टोली रहेको समूह ‘ए’ बाट आर्मी र समूह ‘बी’ बाट एपिएफ विजेताका रूपमा सेमिफाइनलमा पुगे । समूह ‘सी’ बाट यसअघि नै बागमती प्रदेश सेमिफाइनलमा पुगिसकेको छ । समूहको चरणको अन्तिम खेलमा मंगलवार गण्डकी र सुदूरपश्चिम प्रदेश बीच हुनेछ । यो खेलपछि नै उत्कृष्ट एक उपविजेताको टुङ्गो लाग्नेछ ।
८. आफूलाई हिंसात्मक गतिविधिबाट अपदस्थ गरिएको ओलीको दाबी, सुरक्षा संयन्त्रले साथ नदिएको आरोप
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते आफूलाई हिंसात्मक गतिविधिमार्फत प्रधानमन्त्रीबाट अपदस्थ गरिएको दाबी गर्दै त्यसबेला राज्यका सुरक्षा संयन्त्रले साथ नदिएको बताउनुभएको छ । सम्पादकहरूसँग भएको एक अन्तरक्रियामा अध्यक्ष ओलीले भदौ २३ र २४ गतेका घटनालाई पूर्वयोजनासँग जोड्दै आफूले सम्भावित जोखिमबारे जानकारी पाएको भएपनि राज्य संयन्त्रबाट सहयोग नपाएको बताउनुभएको हो । उहाँले बंगलादेश र श्रीलंकाका घटनाको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै परिस्थिति निर्माण गर्ने तयारी पहिलेदेखि नै रहेको दाबी गर्नुभयो ।
९.आज पनि निर्वाचन धनबल, बाहुबल र मिडियाको प्रभावमा हुन्छः पद्मा अर्याल
नेकपा एमालेकी सचिव एवं सांसद पद्या अर्यालले नेपालको निर्वाचन प्रणालीमा अझै पनि धनबल, बाहुबल र सञ्चारमाध्यमको प्रभाव कायम रहेको आरोप लगाउनुभएको छ ।
शुक्रवार ललितपुरमा निर्वाचन आयोगको सरोकारवालाहरुसँगको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनमा पैसाको चलखेल, शक्तिको दुरुपयोग र मिडियाको प्रभावले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्ने गरेको बताउनु भयो । आफूले निर्वाचन लड्दासमेत बुथ कब्जा र धाँधलीका घटना भोगेको उल्लेख गर्दै उहाँले त्यससम्बन्धी प्रमाण आफूसँग रहेको दाबी गर्नुभयो । अर्यालले निर्वाचन प्रणाली सुधारका लागि पहिले विद्यमान विकृति र समस्या पहिचान गर्नुपर्ने बताउनु भयो ।
१०. इजिप्टमा इन्धन ट्याङ्कर दुर्घटनामा ३१ जनाको मृत्यु, चालक पक्राउ
इजिप्टको गिजा प्रान्तमा इन्धन बोकेको ट्याङ्कर दुर्घटनापछि भएको भीषण आगलागीमा ३१ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । दुर्घटनाको कारण बनेको आरोपमा प्रहरीले एक जना कार चालकलाई पक्राउ गरेको छ । बुधवार गिजा प्रान्तको रिङरोडमा कारले इन्धन ट्याङ्करलाई ठक्कर दिएपछि ट्याङ्कर पल्टिएर आगलागी भएको थियो । घटनाबारे अनुसन्धान गरिरहेको इजिप्टको सरकारी अभियोजन कार्यालयले बिहीवार चालकलाई पक्राउ गरिएको जनाएको छ । अभियोजन कार्यालयका अनुसार सोधपुछका क्रममा चालकले आफूले प्रतिघण्टा ११० किलोमिटरको गतिमा गाडी चलाइरहेको र अन्य सवारीसाधनलाई उछिन्ने क्रममा लेन परिवर्तन गरिरहेको स्वीकार गरेका छन् ।
१२. गाजामा इजरायली हवाई आक्रमणमा हमासका सुरक्षा अधिकारीसहित परिवारका चार जनाको मृत्यु
गाजा सहरमा इजरायलले गरेको हवाई आक्रमणमा हमासद्वारा सञ्चालित आन्तरिक सुरक्षा सेवाका एक वरिष्ठ अधिकारीसहित उनकी पत्नी र दुई छोरीको मृत्यु भएको छ । बुधवार बिहान गाजा सहरको पश्चिममा रहेको अल–शाती शरणार्थी शिविरस्थित एक अपार्टमेन्टलाई लक्षित गरी इजरायली ड्रोनले क्षेप्यास्त्र प्रहार गरेको प्यालेस्टिनी तथा स्वास्थ्य स्रोतले जनाएका छन् । आक्रमणपछि अपार्टमेन्टमा आगलागी भएको थियो । स्वास्थ्य स्रोतका अनुसार घटनामा चार जनाको मृत्यु भएको छ । उनीहरूको शव गाजा शहरस्थित अल–शिफा मेडिकल कम्प्लेक्समा पु¥याइएको थियो ।
१३. ग्रीसमा राष्ट्रव्यापी हडताल, यातायात र सार्वजनिक सेवा प्रभावित
तलब वृद्धि, पेन्सन, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा बजेट बढाउनुपर्ने माग गर्दै ग्रीसमा गरिएको २४ घण्टे राष्ट्रव्यापी हडतालका कारण यातायात र सार्वजनिक सेवा प्रभावित भएका छन् । ग्रीसको सबैभन्दा ठूलो सार्वजनिक क्षेत्रको ट्रेड युनियन एडेडवाई तथा देशभरका दर्जनौँ श्रमिक केन्द्र र ट्रेड युनियनको आह्वानमा बुधवार हडताल भएको हो । राजधानी एथेन्समा प्रदर्शनकारीहरूले विभिन्न मागसहित नाराबाजी गर्दै संसद् भवनतर्फ ¥याली निकालेका थिए । उनीहरूले तलब वृद्धि तथा पेन्सन, स्वास्थ्य र शिक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न माग गरेका थिए । हडतालका कारण एथेन्समा मेट्रो, विद्युतीय रेल र ट्राम सेवा सिमित समयतालिकाअनुसार सञ्चालन भएका थिए । देशभरका बन्दरगाहमा फेरी सेवा ठप्प रह्यो । हवाई यातायातसमेत प्रभावित भएको थियो ।
१४. चीन–मंगोलिया–रुस अन्तर्राष्ट्रिय यात्रुवाहक रेल सेवा शुरु
चीन, मंगोलिया र रुसलाई जोड्ने अन्तर्राष्ट्रिय यात्रुवाहक रेल सेवा सञ्चालनमा आएको छ । बेइजिङदेखि रुसको इर्कुत्स्कसम्म सञ्चालन हुने नयाँ रेल सेवाको पहिलो रेल बिहीवार स्थानीय समयअनुसार दिउँसो २ः३५ बजे मंगोलियाको राजधानी उलानबाटरस्थित रेल स्टेसन पुगेको छ । चीन–मंगोलिया–रुस अन्तर्राष्ट्रिय यात्रुवाहक रेल सेवा (भी३–४) अन्तर्गत पहिलो रेल उलानबाटर पुगेपछि तीन देशबीचको सीमापार यात्रुवाहक रेलमार्गको मध्य खण्ड सञ्चालनमा आएको हो । यससँगै तीनै देशबीच प्रत्यक्ष स्थलमार्गबाट यात्रु आवागमनको सम्पर्क स्थापित भएको छ । कुल दुई हजार ६६६ किलोमिटर दूरीको यो रेल यात्राका लागि करिब ५५ घण्टा लाग्नेछ ।
१५. चीनमा छाडिएका रासायनिक हतियार नष्ट गर्न जापानलाई चीनको दबाब
दोस्रो विश्वयुद्धका क्रममा चीनमा छाडिएका रासायनिक हतियार नष्ट गर्ने काम तीव्र बनाउन चीनले जापानलाई आग्रह गरेको छ । नेदरल्याण्ड्सको हेगमा बुधवार आयोजित रासायनिक हतियार निषेध महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (सीएसपी–३१) मा चीनले जापानलाई आफ्नो दायित्व पूरा गर्न र हतियार नष्ट गर्ने प्रक्रिया तिब्र बनाउन आग्रह गरेको हो । चिनियाँ प्रतिनिधिमण्डलले ‘चीनको भूभागमा जापानद्वारा छाडिएका रासायनिक हतियार नष्ट गर्ने वर्तमान अवस्था र चुनौती’ विषयमा छुट्टै कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा ४० भन्दा बढी देशका एक सयभन्दा बढी प्रतिनिधि सहभागी थिए । चिनियाँ प्रतिनिधिमण्डलका अनुसार जापानले चीनमा छाडिएका रासायनिक हतियार नष्ट गर्ने समयसीमा चारपटक उल्लंघन गरिसकेको छ ।
१६. जापानको आणविक नीतिमा सरकारको कदमविरुद्ध टोकियोमा प्रदर्शन
जापानका प्रधानमन्त्री साने ताकाइची नेतृत्वको सरकारले आणविक हतियारसम्बन्धी नीतिमा परिवर्तन गर्न खोजेको भन्दै नागरिक समूहले विरोध प्रदर्शन गरेको छ । राजधानी टोकियोमा आयोजित प्रदर्शनमा सहभागीहरूले जापानको तीन प्रमुख सुरक्षा दस्तावेज संशोधन गर्ने क्रममा तीन गैरआणविक सिद्धान्तलाई कमजोर बनाउने तथा आणविक ऊर्जाबाट चल्ने पनडुब्बी निर्माण गर्ने सरकारी योजनाको विरोध गरेका हुन् । प्रदर्शनमा जापान कांग्रेस अगेन्स्ट एन्ड एच बम्सका सहअध्यक्ष तथा प्रतिनिधिसभाका पूर्वसदस्य तेत्सुओ कानेकोले जापानको तीन गैरआणविक सिद्धान्तको ऐतिहासिक पृष्ठभूमि स्मरण गराउँदै यसलाई कुनै पनि अवस्थामा कमजोर पार्न नहुने बताए । उनले जापानमा राष्ट्रिय महत्त्वका नीतिगत निर्णय मन्त्रिपरिषद्को निर्णयबाट मात्रै गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।
१७. दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई झुटो बयान मुद्दामा सफाइ दिने निर्णय सर्वोच्च अदालतबाट सदर
दक्षिण कोरियाको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति युन सुक योललाई झुटो बयान दिएको आरोपमा सफाइ दिने तल्लो अदालतको निर्णयलाई सदर गरेको छ । बिहीवार सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री हान डक सुको विद्रोहसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा झुटो बयान दिएको आरोपमा युनलाई सफाइ दिने निर्णय अन्तिम रूप दिएको हो । अदालतले विशेष अनुसन्धान टोलीले दायर गरेको पुनरावेदनसमेत खारेज गरेको छ । युनमाथि विद्रोह र अन्य अभियोगको अनुसन्धान गरेका स्वतन्त्र विशेष अनुसन्धानकर्ता चो उन सुक नेतृत्वको टोलीले पुनरावेदन गरेको थियो । विशेष अनुसन्धान टोलीले पहिलो सुनुवाइमा युनलाई दुई वर्षको जेल सजाय माग गरेको थियो ।
१८. भूमध्यसागरीय क्षेत्रका चुनौती समाधान र क्षेत्रीय शान्तिका लागि सहकार्यमा जोड
भूमध्यसागरीय क्षेत्रका साझा चुनौती समाधान, क्षेत्रीय सहकार्य विस्तार र शान्ति स्थापना गर्ने उद्देश्यले युरोपेली तथा मध्यपूर्वी मुलुकका प्रतिनिधिहरूले छलफल गरेका छन् । भूमध्यसागरका लागि संघ (युफएम) का ४३ सदस्य राष्ट्रका प्रतिनिधिहरू बुधवार आयोजित ११औँ क्षेत्रीय मञ्चमा सहभागी हुँदै क्षेत्रीय समस्या र साझा चुनौतीबारे छलफल गरेका हुन् । युरोपेली संघकी विदेश नीति प्रमुख काजा कलास र जोर्डनका उपप्रधानमन्त्री तथा विदेशमन्त्री अयमान सफादीले संयुक्त रूपमा मञ्चको अध्यक्षता गरेका थिए । स्पेनका विदेशमन्त्री जोसे म्यानुएल अल्बारेसले क्षेत्रीय संवाद र सहकार्यका लागि युफएम महत्त्वपूर्ण माध्यम भएको बताए ।
१९. युक्रेनलाई ६२ करोड १९ लाख डलरको एफ–१६ मर्मत उपकरण विक्री गर्न अमेरिकाको स्वीकृति
अमेरिकाले युक्रेनका एफ–१६ लडाकु विमानको मर्मतसम्भारका लागि आवश्यक उपकरण तथा सहयोग उपलब्ध गराउन ६२ करोड १९ लाख अमेरिकी डलर बराबरको प्रस्तावित बिक्रीलाई स्वीकृति दिएको छ । अमेरिकी विदेश मन्त्रालयले बुधवार जारी गरेको विज्ञप्तिमा युक्रेनको एफ–१६ लडाकु विमान बेडाका लागि मर्मतसम्भार सहयोग र सम्बन्धित उपकरण बिक्री गर्ने प्रस्ताव स्वीकृत गरिएको जनाएको हो । उक्त खरिदका लागि बेल्जियम, डेनमार्क, नेदरल्याण्ड्स र नर्वेले बहुराष्ट्रिय ‘जम्पस्टार्ट’ कार्यक्रममार्फत रकम उपलब्ध गराउनेछन् । यस कारोबारमा अमेरिकी सरकारको कुनै पनि रकम खर्च नहुने विदेश मन्त्रालयले स्पष्ट पारेको छ ।
२०. सीमावर्ती नदीको पानीको गुणस्तर संयुक्त रूपमा परीक्षण गर्न थाइल्याण्ड र म्यानमार सहमत
सीमापार नदीमा बढ्दो प्रदूषण नियन्त्रण तथा पानीको गुणस्तर निगरानी गर्न थाइल्याण्ड र म्यानमार संयुक्त रूपमा परीक्षण गर्ने सहमत भएका छन् । दुवै देशले कोक र साई नदीको पानीको गुणस्तर संयुक्त रूपमा परीक्षण गर्ने सहमति गरेका हुन् । पहिलो चरणको परीक्षण आगामी डिसेम्बरदेखि सन् २०२७ जनवरीसम्म गर्ने तयारी छ । बैंककमा बुधवार सम्पन्न पानीको गुणस्तर व्यवस्थापनसम्बन्धी द्विपक्षीय संयुक्त कार्यदलको पहिलो बैठकमा एक वर्षे कार्ययोजनामा सैद्धान्तिक सहमति भएको हो । संयुक्त विज्ञप्तिअनुसार कोक नदीमा दुवै देशतर्फ चार–चार स्थान र साई नदीमा दुई–दुई स्थान गरी कुल १२ स्थानबाट पानीको नमुना संकलन गरिनेछ । दुवै देशले आ–आफ्ना सम्बन्धित निकायमार्फत वर्षमा कम्तीमा दुईपटक पानीको गुणस्तरसम्बन्धी तथ्याङ्क आदानप्रदान गर्ने सहमति पनि गरेका छन् ।
२१. स्वेज नहर हुँदै पूर्ण सञ्चालन पुनः शुरु गर्ने विषयमा इजिप्ट र मास्र्कबीच छलफल
इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी र डेनमार्कको बहुराष्ट्रिय जहाजरानी तथा लजिस्टिक्स कम्पनी एपी मोलर–मास्र्कका प्रमुख कार्यकारी अधिकृत भिन्सेन्ट क्लर्कबीच स्वेज नहर हुँदै समुन्द्री यातायातको पूर्ण सञ्चालन पुनः शुरु गर्ने विषयमा छलफल भएको छ । इजिप्टको राजधानी कायरोमा बुधवार भएको भेटमा दुई पक्षबीच सहकार्य विस्तार तथा स्वेज नहर र लाल सागर हुँदै मास्र्कका जहाज सञ्चालनलाई पूर्ण रूपमा नियमित गर्ने विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति सिसीले स्वेज नहर र लाल सागर हुँदै पुनः जहाज सञ्चालन गर्ने मास्र्कको निर्णयको स्वागत गर्दै उक्त जलमार्ग समुद्री यातायातका लागि सुरक्षित रहेको र त्यहाँ कुनै खतरा नरहेको बताएका छन् ।
२२. जेन–जी आन्दोलनका घाइते र शहीद परिवारको एकीकृत राहत प्याकेज कार्यान्वयनमा तिब्रता दिइएको छः सरकार
सरकारले जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेको पुनःस्थापना, जीविकोपार्जन र सामाजिक संरक्षणसम्बन्धी एकीकृत राहत प्याकेज कार्यान्वयनलाई तिब्रता दिइएको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता हेमराज अर्यालले यस्तो जानकारी दिनुभएको हो । उहाँकाअनुसार एकीकृत प्याकेज कार्यान्वयनका लागि गठित समन्वय समितिको बैठकले कार्यान्वयनमा गएका कार्यक्रमलाई निरन्तरता दिने र बाँकी कार्यक्रम सबै मन्त्रालयको समन्वयमा अघि बढाउने निर्णय गरेको समेत गरेको छ ।
२३. तल्लो अरुण जलविद्युत आयोजनाको ठेक्का आह्वानः २०३० को डिसेम्बरदेखि विद्युत उत्पादन गर्ने लक्ष्य
तल्लो अरुण जलविद्युत आयोजनाबाट सन् २०३० डिसेम्बर ४ देखि विद्युत उत्पादन गर्ने लक्ष्य निर्धारण गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री कार्यालयका प्रवक्ता हृमराज अर्यालले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको बताउनु भयो । प्रधानमन्त्री बालेन्द्र साहको यही मंसिर ६ र ७ गते भएको भारत भ्रमणका क्रममा प्रधानमन्त्री साह र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उक्त आयोजनको शिलान्यास गर्नुभएको थियो ।
२४. पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको प्रशिक्षण
नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले नेपाली पर्यटन व्यवसायीमा बढ्दो चिनियाँ भाषाको ज्ञानले नेपाल र चीनबीच पर्यटन, व्यापार तथा सांस्कृतिक सहकार्यका लागि नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभएको छ । काठमाडौंमा आयोजित चिनियाँ भाषा प्रशिक्षण समापन तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चिनियाँ भाषा सिकेका पर्यटन क्षेत्रका पेशाकर्मीले दुई देशबीच पर्यटन प्रवद्र्धन तथा व्यवसाय विस्तारमा पुलको भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले भाषा, शिक्षा, संस्कृति तथा पर्यटनका माध्यमबाट नेपाल–चीन सम्बन्ध थप सुदृढ हुँदै गएको समेत बताउनु भयो ।
२५. मेयर हुँदा बालेनले फुटपाथ व्यवसायीलाई गरेको व्यवहार नजरअन्दाज गर्दा सुकुम्बासी नागरिकले दुःख पाएः वरिष्ठ मानव अधिकारकर्मी प्याकुरेल
वरिष्ठ मानव अधिकारकर्मी सुशील प्याकुरेलले मुलुकमा कानूनको शासन नभई मनपरी शासन चलिरहेको टिप्पणी गर्नुभएको छ । शुक्रवार काठमाडौंको माईतीघर मण्डलामा जबरजस्ती उठिबास तथा भूमिहीन सुकुम्बासी नागरिकमाथि अमानवीय व्यवहारविरुद्ध नागरिक ऐक्यवद्धता तथा विरोध कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री बालेन्द्र साह काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा फुटपाथ व्यापारीमाथि गरेको व्यवहारलाई नजरअन्दाज गर्दा आज सुकुम्बासी नागरिकले दुःख पाउने स्थिति सिर्जना भएको बताउनु भयो ।
२६. होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी नागरिक भन्छन्–‘बास देउ, नत्र थापाथलीमै छोडिदेउ’
वैकल्पिक आवासको व्यवस्था नगरी हटाउन खोजिएको भन्दै होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारले सरकारको विरोध गरेका छन् । सरकारले गत १२ र १३ बैशाखमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीमाथि डोजर चलाएर खाली गराएको थियो । घरबारविहीन बनाइएका परिवारलाई सुरक्षित बसोवासको व्यवस्था नगरी अस्थायी आश्रयस्थलबाट समेत हटाउन खोजिएपछि उनीहरुले सरकारको निर्णयको विरोध गरेका छन् । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका सुकुम्बासी नागरिकले उचित व्यवस्थापनबिना आफूहरूलाई हटाउन खोजिएको भन्दै शुक्रवार रित्तो थालसहित विरोध प्रदर्शन गरेका छन् । सरकारले शुक्रवार बिहानैदेखि खाना दिन छोडेको तथा आजैदेखि होल्डिङ सेन्टर छोडेर जान निर्देशन दिएको थियो ।
२७. प्रशासनिक पुनर्संरचनाको नाममा सामाजिक सुरक्षा कार्यक्रमको मूल चरित्र परिवर्तन गरे स्वीकार्य हुँदैनः श्रेष्ठ
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले सामाजिक सुरक्षा कोषको स्वायत्तता, त्रिपक्षीय संरचना र श्रमिक प्रतिनिधित्व कमजोर बनाउने कुनै पनि कदम स्वीकार्य नहुने बताउनुभएको छ । नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रशासनिक पुनर्संरचनाका नाममा सामाजिक सुरक्षा कार्यक्रमको मूल चरित्र परिवर्तन गर्ने, त्रिपक्षीय संरचनालाई कमजोर बनाउने तथा श्रमिक आन्दोलनको संस्थागत सहभागिता घटाउने प्रयास स्वीकार्य नहुने बताउनु भयो । उहाँकाअनुसार सामाजिक सुरक्षा कोषलाई श्रम प्रशासन र श्रमिक अधिकारको मूल संरचनाबाट अलग गर्न मिल्दैन ।
२८. बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, थप ४० अर्ब खिच्दै राष्ट्र बैंक
बैंक तथा वित्तीय संस्थामा निक्षेप निरन्तर बढे पनि कर्जा प्रवाहले अपेक्षित गति लिन नसक्दा बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएको छ । लगानीयोग्य रकम पर्याप्त हुँदासमेत कर्जाको माग विस्तार हुन नसकेपछि नेपाल राष्ट्र बैंकले बजारबाट थप ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रिय बैंकले दुई महिनाका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन शुक्रबार बोलकबोल गर्ने भएको हो । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले मंसिर ११ गते जारी गरेको सूचनाअनुसार दिउँसो २ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सकिनेछ । निक्षेप संकलनको ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ ।
२९. सबै अस्थायी कर्मचारी र शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन आधार तयार गरिएको छः मन्त्री वादी
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सरकारले संघीय सरकारअन्तर्गत करारमा कार्यरत कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्तालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने नीतिगत आधार तयार गरेको बताउनुभएको छ । नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सामाजिक सुरक्षा मन्त्री बादीले क्रमशः प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी अस्थायी प्रकृतिका सबै कर्मचारी तथा शिक्षकलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्ने सरकारको योजना रहेको बताउनु भयो ।
३०. सामाजिक सुरक्षा कोषको दायरा विस्तार गर्न आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्छौंः अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताउनुभएको छ ।
नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आवद्धता बढाउन सरकारले यस वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो । आगामी वर्षहरूमा समेत सामाजिक सुरक्षाको दायरा विस्तारका लागि निरन्तर बजेट विनियोजन गर्दै जाने उहाँले बताउनु भयो । सामाजिक सुरक्षालाई लोककल्याणकारी राज्यको आधारस्तम्भका रूपमा स्थापित गर्न आगामी पाँच वर्षसम्म निरन्तर बजेट विनियोजन गर्दै जानुपर्ने उहाँको भनाइ छ । आगामी बजेटपछि सामाजिक सुरक्षा प्रणालीलाई उल्टाउन नसकिने दीर्घकालीन सुधारका रूपमा स्थापित गर्न सकिने उहाँले बताउनु भयो ।
३१. सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगानी हुनुप¥योः पाण्डे
नेपाल उद्योग वाणिज्य महासघका उपाध्यक्ष (एसोसिएट) तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभएको छ । नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले कोषमा जम्मा भएको अर्बौँ रुपैयाँ बैंकमा राखेर मात्र उपलब्धिमूलक नहुने बताउँदै ठूला परियोजना, उद्योग तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताउनु भयो । उहाँकाअनुसार कोषको रकम उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सके देशको विकासमा योगदान पुग्नुका साथै श्रमिकले आफ्नो योगदानको राम्रो प्रतिफलसमेत प्राप्त गर्न सक्छन् । पाण्डेले मन्त्रालयको नाम र संरचना परिवर्तन भए पनि श्रमिकको सामाजिक सुरक्षाप्रतिको सरकारको जिम्मेवारी परिवर्तन हुन नहुने बताउनु भयो ।
३२. सामाजिक सुरक्षा प्रणालीलाई व्यावहारिक बनाउन लागौँः लामिछाने
नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछानेले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउन उनीहरूको वास्तविक आय, कामको प्रकृति र आर्थिक क्षमताका आधारमा व्यावहारिक नीति बनाउनुपर्ने बताउनुभएको छ । नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सामाजिक सुरक्षामा श्रमिकको दर्ता सङ्ख्या बढाउनु मात्र पर्याप्त नहुने बताउँदै उनीहरूको योगदान गर्नसक्ने अवस्था र रोजगारीको निरन्तरतासमेत ध्यानमा राख्नुपर्ने बताउनु भयो । उहाँकाअनुसार रोजगारदाता पनि विभिन्न आर्थिक चुनौतीबाट गुज्रिरहेका छन् । व्यवसायको लागत, बैंक ब्याजदर, कर प्रशासनका प्रक्रिया, बजारको अनिश्चितता, मागमा हुने उतारचढाव, विद्युत तथा उत्पादन लागत र कार्यशील पुँजीको अभावले व्यवसाय सञ्चालन कठिन बन्दै गएको छ ।
३३. सहआयोजक कर्णाली महिला बास्केटबलको अन्तिम चारमा
तीन विभागीय टोली नेपाल पुलिस, एपिएफ र त्रिभूवन आर्मी क्लवसहित सुदूरपश्चिम प्रदेश सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुदको महिला बास्केटबल (फुल कोर्ट) मा सेमिफाइनलमा पुगेका छन् । सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुदमा शुक्रवार महिला बास्केटबलतर्पm फुल कोर्ट र तीन बाई तीन (३×३) दुवै विधामा सेमिफाइनल समीकरण पूरा भएका छन् । तीन बाई तीन महिला बास्केटबलमा आर्मी, बागमती, एपिएफ र सहआयोजक कर्णाली प्रदेशले सेमिफाइनलमा स्थान बनाएका छन् । फुल कोर्टतर्पm क्वार्टरफाइलनमा एफिएफले गण्डकी प्रदेशलाई ७९–१२ अंक, सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ३९–१६ र पुलिसले कोशी प्रदेशलाई ५५–४० अंकले हराए ।
३४. दशौं राष्ट्रिय खेलकुदको ट्रफी र टर्च जुम्लासम्म पुग्ने
कर्णाली प्रदेशमा खेल प्रतिष्पर्धा चलिरहँदा दशौं राष्ट्रिय खेलकुदको ट्रफी र टर्च ¥याली शुरु भएको छ । नेपालका चर्चित खेलाडी सम्मिलित टोलीले कर्णाली प्रदेशका विभिन्न जिल्लामा दशौं खेलकुदको ट्रफीसँगै टर्च ¥याली गर्नेछन् । उक्त टोलीमा कर्णालीकै स्थानीयसमेत रहेका धावक हरिबहादुर रोकाया, १३औं दक्षिण एशियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता कराते खेलाडी मन्डेकाजी श्रेष्ठ, नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, जुडोकी ओलम्पियन देबु थापा र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ छन् । सुर्खेतमा शुक्रवार एक कार्यक्रमका बीच कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ र राखेपका सदस्यसचिव रामचरित्र मेहतालगायतले उक्त टोलीलाई बिदाइ गरे ।
३५. सुनकोशी–मरिण ठेक्का रद्ध प्रकरणमा सरकारले आर्थिक चलखेल गर्न खोजेको काँग्रेसको आशंका
नेपाली काँग्रेसले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्ध गरिएको घटनामा सरकारले वित्तीय अनुशासन उल्लङ्घन गरेको आंशका व्यक्त गरेको छ ।
पार्टी मुख्यालय सानेपामा सम्पन्न केन्द्रिय समिति बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका सहमहामन्त्री अजयबाबु शिवाकोटीले बताउनु भयो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले आर्थिक स्वार्थका आधारमा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गरेको आशंका व्यक्त गर्नुभयो । उहाँले पासपोर्ट छपाई प्रकरण र सुनकोशी–मरिण ठेक्का रद्द प्रकरणका घटनामा अनियमितताको फण्डाफोर गर्ने निर्णय गरिएको बताउनु भयो । उहाँले सरकार सत्तानिकट व्यक्तिहरूलाई संरक्षण गर्ने र फरक मत राख्नेहरूमाथि फरक ढङ्गले कानून लागू गर्ने प्रवृत्तिमा लागेको आरोप समेत लगाउनु भयो । न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij