२०८३ मंसिर ७ गते सोमवार
काठमाडौं । पाटन दरबार क्षेत्रस्थित कार्तिक डबलीमा सञ्चालन भइरहेको ऐतिहासिक कार्तिक नाचको दशौँ दिन आइतबार साँझ ‘नरसिंह अवतार’ अर्थात् हिरण्यकश्यपु वधको दृश्य मञ्चन गरिएको छ।
गत कात्तिक २७ गतेदेखि सुरु भएको नाचमा भगवान् विष्णुको नरसिंह अवतारसँग सम्बन्धित पौराणिक कथालाई परम्परागत नृत्य र अभिनयमार्फत प्रस्तुत गरिएको हो। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस नाचमा तान्त्रिक विधि र मौलिक शैलीको प्रयोग गरिन्छ।
नेपाल संवत् ७६१ अर्थात् सन् १६४१ मा मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेको मानिने कार्तिक नाच नेपालको ऐतिहासिक सांस्कृतिक सम्पदामध्ये एक हो। यसमा भगवान् विष्णुका विभिन्न अवतार तथा धार्मिक आख्यानलाई नृत्य र अभिनयमार्फत जीवन्त रूपमा प्रस्तुत गरिन्छ।
यस वर्षको नाचमा भक्त सुरदास प्याखँ, माधवानर लीला, बाठा तालेश, जलशयन, वराह अवतार र नरसिंह अवतारलगायतका प्रसङ्ग समेटिएका छन्।
कार्तिक नाच संरक्षण समितिको आयोजनामा हरेक दिन साँझ ७ बजे सञ्चालन भइरहेको नाच मंसिर ७ गते वस्त्रहरण लीला र मंसिर ८ गते दधि लीला मञ्चन गरेसँगै समापन हुनेछ।
नेवारी कला, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको कार्तिक नाच अवलोकन गर्न स्वदेशी तथा विदेशी दर्शकहरूको उपस्थिति रहने गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij