२०८३ मंसिर ६ गते आइतवार
१. सुशासन र भ्रष्टाचार अन्त्य सरकारको प्रमुख आवश्यकताः सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै सुशासन स्थापित गर्नु सरकारको प्रमुख आवश्यकता भएको बताउनुभएको छ । आईतवार काठमाडौंमा बाह्रखरी मिडियाको आठौँ संस्करणको कथा प्रतियोगिताका विजयीहरुलाई पुरस्कार प्रदान गर्दै उहाँले जनताको अपेक्षा र विश्वासअनुसार सरकारले इमानदारी, प्रतिवद्धता र जवाफदेहिताका साथ काम गर्नुपर्ने बताउनुभएको हो । सभामुख अर्यालले २०८२ भदौ २३ र २४ गतेको विद्रोहले नेपाली राजनीतिमा महत्वपूर्ण परिवर्तनको आधार तयार गरेको उल्लेख गर्दै युवा नेतृत्वको अगुवाइमा राष्ट्रिय स्वतन्त्र पार्टी ठूलो जनमतसहित शासन सञ्चालनको जिम्मेवारीमा पुगेको बताउनु भयो ।
२. विद्यालयलाई एआईमैत्री र प्रविधिसक्षम बनाउने प्रधानाध्यापक संघको प्रतिवद्धता
प्रधानाध्यापक संघ नेपालले विद्यालय शिक्षाको गुणस्तर सुधार, प्रविधिमैत्री शिक्षा र विद्यालय रूपान्तरणका लागि १२ बुँदे राष्ट्रिय प्रतिवद्धता सार्वजनिक गरेको छ । जनकपुरधाममा मंसिर ४ देखि ६ गतेसम्म आयोजित तेस्रो राष्ट्रिय प्रधानाध्यापक शिखर सम्मेलनले ‘राष्ट्रिय विद्यालय रूपान्तरण प्रतिवद्धता–पत्र, २०८३’ जारी गर्दै विद्यालयलाई सुरक्षित, हरित, प्रविधिमैत्री, एआई (कृत्रिम बुद्धिमत्ता) सक्षम, समावेशी र सीपमूलक सिकाइ केन्द्रका रूपमा विकास गर्ने संकल्प गरेको हो । ‘लेट्स बिल्ड बेटर स्कुल्स टुगेदर’ भन्ने नारासहित आयोजित सम्मेलनमा देशभरका करिव एक हजार प्रधानाध्यापक, शिक्षाविद्, शिक्षक तथा शिक्षा क्षेत्रका सरोकारवालाहरू सहभागी थिए ।
३. भारतमा रहेका नेपालीको पीडाः पहिचान लुकाउनुपर्ने बाध्यतादेखि असुरक्षित यात्रासम्म
नागरिकता भएर पनि बैंक खाता र सिमकार्ड खोल्न समस्या, नेपाली महिलामाथि शोषण, म्यानपावर ठगी र असुरक्षित यातायातको मार
भारतमा वर्षौंदेखि बसोवास गर्दै आएका नेपालीहरू आफ्नै देशको नागरिकता बोकेर पनि विदेशी भूमिमा आफ्नो पहिचान लुकाउन बाध्य छन् । बैंक खाता खोल्नेदेखि सिमकार्ड लिनेसम्मका झन्झट, रोजगारीका नाममा ठगी, महिला तथा बालबालिकामाथि हुने शोषण, असुरक्षित यातायात र उपचारका क्रममा आर्थिक संकटजस्ता समस्याले उनीहरूलाई पिरोलिरहेको छ । भारतमा लाखौँ नेपाली रहेको अनुमान गरिए पनि उनीहरूको यकिन तथ्याङ्क र अवस्थाबारे राज्यसँग व्यवस्थित अभिलेख छैन । वर्षौंदेखि भोग्दै आएका यी समस्या सुनाउँदै प्रवासी नेपालीहरूले अब पहिचान, सुरक्षा र सामाजिक सुरक्षाको प्रत्याभूति हुनेगरी नेपाल सरकारले भारतसँग कुटनीतिक पहल गर्नुपर्ने माग गरेका छन् ।
४. बाह्रखरी कथा प्रतियोगिताको प्रथम पुरस्कार चेतनाथ आचार्यलाई, ‘भोटेकोशीको सुसाहट’ उत्कृष्ट
बाह्रखरी मिडियाले आयोजना गरेको ‘डिगो १२ खरी कथा प्रतियोगिता, २०८३’ को प्रथम पुरस्कार कथाकार चेतनाथ आचार्यले प्राप्त गर्नुभएको छ । उहाँको ‘भोटेकोशीको सुसाहट’ शिर्षकको कथाले प्रथम स्थान हासिल गर्दै नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको हो । प्रतियोगितामा ‘सपनाको अर्को रङ्ग’ कथाका कथाकार मधुर भट्टराई द्वितीय हुनुभएको छ । उहाँले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । यस्तै, ‘अस्तित्वको अल्गोरिदम’ कथाकी कथाकार सरस्वती सरस तृतीय हुनुभएको छ । उहाँले नगद ६० हजार रुपैयाँ प्राप्त गर्नुभयो । आईतवार काठमाडौंमा आयोजित विशेष समारोहमा प्रतियोगिताका विजेता घोषणा गरिएको हो । कार्यक्रममा प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले विजेता कथाकारहरूलाई पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
५. बालेनको भारत भ्रमणबारे भीम रावलः सार्वभौम स्वतन्त्र देशको संयुक्त भिजन पेपर अरे, बालेन र मोदीले घाँटी जोडेर के गर्ने हुन् ?
नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले नेपाल र भारतबीच तयार पारिएको संयुक्त भिजन पेपरको औचित्यमाथि प्रश्न उठाउनुभएको छ । प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणलाई लक्षित गर्दै टिप्पणी गर्ने क्रममा उहाँले एउटा सार्वभौम र स्वतन्त्र देशले अर्को देशसँग मिलेर संयुक्त भिजन पेपर बनाउनु अनौठो भएको बताउनुभएको हो । ‘एउटा सार्वभौम स्वतन्त्र देशले अर्को देशसँग मिलेर भिजन पेपर बनाउँछ ? कतै सुन्नुभएको छ ? संयुक्त भिजन पेपरमा अब दुईले घाँटी जोडेर के गर्ने हुन् ?’ उहाँले प्रश्न गर्नुभयो । रावलले संयुक्त भिजन पेपरबाट नेपालको राष्ट्रिय हितमा सुखद् परिणाम आउनेमा आशंका व्यक्त गर्नुभयो । भारत भ्रमणबाट प्रधानमन्त्रीले के उपलब्धि हासिल गरेर फर्कनुहुन्छ भन्नेकुरा हेर्नुपर्ने उहाँको भनाइ छ ।
६. प्रधानमन्त्री साहको स्वागतका लागि नयाँ दिल्लीमा भव्य तयारी
प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँ दिल्लीमा स्वागतको तयारी तिब्र पारिएको छ । प्रधानमन्त्री साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तस्बिरहरू नयाँ दिल्लीका विभिन्न स्थानमा रहेका सडकका पोलहरूमा राखिएका छन् । त्यस्तै, नेपाल र भारतका राष्ट्रिय झण्डाहरू पनि पोलहरूमा फहराएर राजधानीलाई सजाइएको छ । प्रधानमन्त्री बनेपछि साह पहिलो पटक भारत भ्रमणमा जान लाग्नुभएको हो । यसअघि उहाँ संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जानुभएको थियो । प्रधानमन्त्री साहको यो दोस्रो विदेश भ्रमण हो ।
७. प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ आईतवार दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री साहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाहलगायत सहभागी हुनुहुन्छ । उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसहित भ्रमण टोलीमा ३५ जना सदस्य रहेका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुहुनेछ ।
८. प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने
प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री साह आईतवार अपरान्ह नयाँ दिल्ली पुग्नुभएको हो । प्रधानमन्त्री बनेपछि उहाँको यो पहिलो भारत भ्रमण हो । भ्रमणका क्रममा प्रधानमन्त्री साहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुहुनेछ । त्यस्तै, भारतीय विदेशमन्त्री एस. जयशंकरले आईतवार नै उहाँसँग भेट गर्ने कार्यक्रम रहेको छ । सोमवार प्रधानमन्त्री साहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुनेछ । वार्तामा द्विपक्षीय सम्बन्ध, व्यापार, पारवहन, ऊर्जा, लगानी तथा पूर्वाधार विकासलगायतका विषयमा छलफल हुने कार्यक्रम छ ।
९.२२ वर्षपछि हुन लागेको सम्यक महादानको तयारी, परम्परा नमासिने गरी भुइख्याःको व्यवस्थापन गरिँदै
२२ वर्षपछि आयोजना हुन लागेको सम्यक महादानलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले परम्परागत धार्मिक स्थल र संरचनाको संरक्षणसँगै व्यवस्थापकीय तयारी अघि बढाएको छ । काठमाडौं महानगरपालिकाले आगामी माघ १ गते सम्यक महादान आयोजना गर्ने तयारी गरेको छ । त्यसको पूर्वतयारीस्वरूप महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आईतवार भुइख्याः क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको हो । सम्यक महादानका लागि आवश्यक स्थानको पहिचान, परम्परागत विधिअनुसार प्रयोग हुँदै आएका क्षेत्रको संरक्षण र व्यवस्थापनको योजना बनाउन अनुगमन गरिएको डंगोलले बताउनु भयो । उहाँकाअनुसार भुइख्याःमा सदियौँदेखि सम्यक महादान आयोजना हुँदै आएको परम्परालाई निरन्तरता दिने उद्देश्यले महानगरले तयारी गरिरहेको छ ।
१०. इरान अमेरिकी शर्तमा सहमत हुन तयार नभएको ट्रम्पको भनाइ, वार्ता अनिश्चित
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अमेरिका–सँग सम्झौता गर्न इच्छुक देखिए पनि वासिङ्टनले स्वीकार गर्न सक्ने सर्तमा सहमत हुन तयार नभएको बताउनुभएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौता गर्न चाहेको तर आफूलाई स्वीकार्य हुने खालको सम्झौता गर्न नचाहेको बताउनु भयो । यसैबीच, अमेरिकी विशेष दूत स्टिभ विटकफ र राष्ट्रपति ट्रम्पका सल्लाहकार जारेड कुश्नरले बिहीवार जर्मनीको बर्लिनमा कतारका वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गरेको अमेरिकी अनलाइन सञ्चारमाध्यम एक्सियोसले जनाएको छ । भेटमा अमेरिका र इरानबीच वार्ताको वातावरण बनाउन कतारले गरिरहेको मध्यस्थता प्रयासबारे छलफल भएको बताइएको छ ।
११. कोप–३१ को समापन सत्र सम्पन्न, अन्तिम निष्कर्षपत्र सप्ताहान्तमा सार्वजनिक हुने
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१ औँ सम्मेलन (कोप–३१) को समापन सत्र सम्पन्न भएको छ । शुक्रवार मध्यरातिसम्म चलेको समापन पूर्ण बैठकसँगै सम्मेलनको औपचारिक छलफल टुङ्गिएको हो । सम्मेलनको अन्तिम निष्कर्षपत्र भने सप्ताहान्तसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ । टर्कीको अन्ताल्यामा आयोजित सम्मेलनको समापन सत्रमा अध्यक्ष मुरात कुरुमले जलवायु परिवर्तनका विषयमा ठोस नतिजा हासिल गर्नु सबै पक्षको साझा जिम्मेवारी भएको बताउनु भयो । उहाँले सहमतिका लागि अब धेरै दूरी पार गर्न बाँकी नरहेको उल्लेख गर्दै सबै प्रतिनिधिमण्डललाई आ–आफ्ना प्राथमिकताभन्दा साझा सहमतिमा केन्द्रित हुन आग्रह गर्नुभयो । उहाँले सम्मेलनबाट ‘अन्ताल्या सहमति’ हासिल हुने विश्वास व्यक्त गर्नुभयो । विभिन्न विषयमा लामो समयदेखि गहन छलफल र परामर्श भइरहेको उल्लेख गर्दै उहाँले अब परिणाम दिने समय आएको बताउनु भयो ।
१२. चीनको झाङ्झाउ आणविक ऊर्जा केन्द्रमा चौथो युनिटका तीन स्टीम जेनेरेटर जडान
चीनको झाङ्झाउ आणविक ऊर्जा केन्द्रको चौथो युनिटमा तीनवटा स्टीम जेनेरेटर जडान गरिएको छ । आणविक ऊर्जा केन्द्रका महत्त्वपूर्ण उपकरण मानिने यी जेनेरेटरलाई केन्द्रका ‘तीन फोक्सो’का रूपमा समेत चिनिन्छ । स्टीम जेनेरेटरले आणविक रिएक्टरको कोरबाट उत्पन्न हुने अवशिष्ट ताप हटाउने तथा रेडियोधर्मितालाई नियन्त्रणमा राख्ने प्रक्रियामा महत्वपूर्ण भुमिका निर्वाह गर्छन् । आणविक ऊर्जा केन्द्रको सुरक्षित सञ्चालनका लागि यी उपकरणलाई महत्त्वपूर्ण मानिन्छ । चौथो युनिटमा जडान गरिएका जेनेरेटर ‘जेडएच–६५’ मोडेलका हुन् । यो चीनमा पूर्ण रूपमा स्वदेशी बौद्धिक सम्पत्ति अधिकार रहेको दाबी गरिएको तेस्रो पुस्ताको पहिलो आणविक ऊर्जा स्टीम जेनेरेटर हो ।
१३. चीनमा भएको त्रिपक्षीय शिखर सम्मेलनलाई वर्षौंपछिको महत्वपूर्ण अन्तर्राष्ट्रिय बैठकका रूपमा ट्रम्पको व्याख्या
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा अमेरिका, रुस र चीनका नेताबीच भएको त्रिपक्षीय शिखर सम्मेलनलाई पछिल्ला वर्षहरूकै सबैभन्दा महत्वपूर्ण अन्तर्राष्ट्रिय बैठकमध्ये एक भएको बताउनुभएको छ । शुक्रवार आफ्नो धारणा सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले एशिया प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनका क्रममा विभिन्न विश्व नेताहरूसँग सकारात्मक छलफल भएको उल्लेख गर्नुभयो । उहाँले चीनमा भएको त्रिपक्षीय बैठकलाई अभूतपूर्व र ऐतिहासिक घटनाका रूपमा व्याख्या गर्नुभएको हो । ट्रम्पकाअनुसार अमेरिका, रुस र चीनका नेताबीच भएको उक्त बैठक तीन देशका प्रमुखहरूबीचको पहिलो त्रिपक्षीय शिखर सम्मेलन थियो । उहाँले सम्मेलनबाट पहिलोपटक त्रिपक्षीय शान्ति घोषणापत्र जारी भएको दाबीसमेत गर्नुभयो ।
१४. परमाणु शक्तिबाट सञ्चालित पनडुब्बी भित्र्याउने योजनाको विरोधमा जापानमा ४७ हजार हस्ताक्षर
जापानले परमाणु शक्तिबाट सञ्चालित पनडुब्बी भित्र्याउने योजना अघि बढाएको भन्दै त्यसको विरोधमा दशौँ हजार नागरिकले हस्ताक्षर अभियान चलाएका छन् । जापानका विभिन्न नागरिक संस्थाहरूले शुक्रबार ४७ हजार हस्ताक्षरसहितको विरोधपत्र रक्षा मन्त्रालयमा बुझाउँदै सरकारलाई उक्त योजना त्याग्न आग्रह गरेका हुन् । सिटिजन्स न्युक्लियर इन्फर्मेसन सेन्टरसहित विभिन्न नागरिक समाजका संस्थाहरूले संयुक्त रूपमा सञ्चालन गरेको अभियानबाट करिव एक महिनामै ४७ हजार हस्ताक्षर सङ्कलन गरिएको आयोजकहरूले जनाएका छन् । विरोधपत्रमा जापान परमाणु बम आक्रमणको पीडा भोगेको विश्वको एकमात्र देश भएकाले उसले लामो समयदेखि परमाणु निःशस्त्रीकरणको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गरिएको छ ।
१५. प्रतिवन्धले इरानको व्यापार रोक्न नसकेको आन्तरिक मन्त्रालयको दाबी
अमेरिकाले इरानमाथि लगाएको समुन्द्री नाकाबन्दी तथा स्थल र हवाई आवागमनमा लगाइएका प्रतिवन्धले मुलुकको व्यापारिक कारोबार रोक्न नसकेको इरानी आन्तरिक मन्त्रालयले दाबी गरेको छ । इरानी आन्तरिक मन्त्रालयका प्रवक्ता अली जेइनिभान्डले शनिवार अमेरिकी प्रतिबन्धका बाबजुद इरानको व्यापारिक गतिविधि जारी रहेको बताउनुभएको हो । उहाँले छिमेकी मुलुकहरूसँग सीमा तथा व्यापारसम्बन्धी समस्याबारे मन्त्रालयले निरन्तर परामर्श गरिरहेको जानकारी दिनुभयो । छिमेकी देशहरूसँगका केही सीमा नाका अस्थायी रूपमा बन्द हुँदा पनि सीमा क्षेत्रबाट हुने व्यापारिक कारोबारमा गम्भीर अवरोध नपुगेको उहाँको भनाइ छ । विद्यमान समस्या वार्ता र समन्वयबाट समाधान हुने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो । यसैबीच, इरानका राष्ट्रपति मसुद पेजेस्कियानले मुलुक अहिले ‘मौन आर्थिक युद्ध’को सामना गरिरहेको बताउनुभएको छ ।
१६. यमनमा साउदी हवाई आक्रमणमा ४१ जनाको मृत्यु भएको हुथी सञ्चारमाध्यमको दाबी
यमनमा साउदी अरबले गरेको हवाई आक्रमणमा कम्तीमा ४१ जनाको मृत्यु भएको हुथी विद्रोही समूहसम्बद्ध सञ्चारमाध्यमले जनाएको छ । मृत्यु हुनेमा ११ बालबालिका र सात महिला रहेको जनाइएको छ । हुथी समूहको नियन्त्रणमा रहेको अल–मसिरा टेलिभिजनकाअनुसार पछिल्लो २४ घण्टामा यमनका विभिन्न स्थानमा भएका आक्रमणमा अन्य २८ जना घाइते भएका छन् । घाइते हुनेमा तीन बालबालिका पनि छन् । टेलिभिजनले हुथी नियन्त्रणमा रहेको राजधानी सानाका स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै उक्त विवरण सार्वजनिक गरेको हो । यद्यपि आक्रमण भएका स्थानबारे विस्तृत जानकारी दिइएको छैन । उक्त हताहतीको विवरण स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । साउदी अधिकारीहरूले पनि घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।
१७. लण्डनमा सैन्य खर्च कटौतीको माग गर्दै प्रदर्शन, शिक्षा र स्वास्थ्यमा लगानी बढाउन आग्रह
बेलायतको राजधानी लन्डनमा सैन्य खर्च कटौती गर्न र शिक्षा, स्वास्थ्य तथा आवासजस्ता सार्वजनिक सेवामा लगानी बढाउन माग गर्दै शुक्रवार प्रदर्शन भएको छ । बढ्दो जीवनयापन खर्च र सैन्य क्षेत्रमा भइरहेको लगानीको विरोधमा प्रदर्शनकारीहरू मध्य लण्डनका पार्लियामेन्ट स्क्वायर र ट्राफलगर स्क्वायरमा भेला भएका थिए । उनीहरूले ‘युद्धमा होइन, शिक्षामा लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै सरकारको खर्च प्राथमिकतामाथि प्रश्न उठाएका थिए । प्रधानमन्त्रीको सरकारी निवास टेन डाउनिङ स्ट्रिटनजिकै प्रदर्शनकारीहरूले ¥याली निकालेपछि त्यस क्षेत्रमा सवारी आवागमनसमेत प्रभावित भएको थियो । प्रदर्शनका क्रममा आन्दोलनकारी र दक्षिणपन्थी समूहका केही प्रदर्शनकारीबीच झडपसमेत भएको जनाइएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो ।
१८. पत्रकार धरपकडको विरोधमा महासंघले काठमाडौं जिल्ला प्रशासन अगाडी धर्ना दिने
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले पत्रकार धरपकडको विरोधमा काठमाडौं जिल्ला प्रशासन अगाडी धर्ना दिने भएको छ । महासंघले मंसिर ९ गते ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित जिल्ला प्रशासन कार्यालयअगाडि भेला भएर विरोध प्रदर्शन गर्ने भएको हो । महासंघको केन्द्रिय समितिको सर्कुलरअनुसार धर्ना दिन लागिएको काठमाडौं शाखाकी अध्यक्ष शोभा अर्यालले जानकारी दिनुभयो । समाचार कक्षमा धरपकड, साइबर कानूनको प्रयोगमार्फत पत्रकारलाई पक्राउ गर्ने तथा सरकारले ल्याएको प्रेस काउन्सिल अध्यादेशको विरोधमा प्रर्दशन कार्यक्रम आयोजना गर्न लागिएको उहाँको भनाई छ । सरकारले पछिल्लो समय प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गतिविधि बढाएको उहाँको आरोप छ । प्रेसलाई अंकुश लगाउनेगरि सरकारले पत्रकार महासंघसँग कुनै छलफल नै नगरी प्रेस काउन्सिलसम्बन्धी अध्यादेश ल्याएको उहाँले बताउनु भयो ।
१९. मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आईतवार मुख्यमन्त्री यादवले प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णबाट पद तथा गोपनियताको शपथ लिनुभएको हो । जनता समाजवादी पार्टीका संसदीय दलका नेता समेत रहनुभएका यादवलाई प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८ को ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शनिवार मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजिनामा दिएपछि प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रयोजनका लागि मंसिर ४ गते शुक्रवार अपराह्न ४ बजेसम्म दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।
२०. सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा सहमतिको सरकार गठन गर्ने बताउनुभएको छ । आईतवार मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले सबै दलको सहमतिमा सरकार विस्तार गर्ने बताउनुभएको हो । उहाँले मन्त्रिपरिषद् विस्तार र विश्वासको मत लिने विषयमा सोमबारदेखि नै सबै राजनीतिक दलसँग छलफल गर्ने जानकारी दिनुभयो । आफूले यसअघि पहिलोपटक विश्वासको मत लिँदा सबै दलको समर्थन प्राप्त गरेको उल्लेख गर्दै उहाँले यसपटक पनि सबै दलबाट विश्वासको मत लिएर सरकारलाई अगाडि बढाउने प्रयास रहने बताउनु भयो । उहाँले मन्त्रिपरिषद् विस्तार पनि राजनीतिक दलहरूसँगको छलफलपछि टुंगो लाग्ने उल्लेख गर्नुभयो ।
२१. हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुबै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले हिन्दू राष्ट्र स्थापनाका लागि सडक र सदन दुवैबाट सशक्त आवाज उठाउनुपर्ने बताउनुभएको छ । नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रिय महाविधेशनको उद्घाटन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले धार्मिक गुरुहरूलाई मठ मन्दिरमा आउने सबै राजनीतिक दलका नेताहरुलाई हिन्दु राष्ट्र बनाउनको लागि दबाब दिन पनि आग्रह गर्नुभयो । मन्दिरमा आउने नेताहरूलाई ‘हाम्रो हिन्दु राष्ट्र खोइ ?’ भनेर प्रश्न गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले हिन्दु समुदायका पक्षमा आवाज उठाउन नसक्दा सनातनी समुदायको विश्वास गुम्दै गएको बताउनु भयो । उहाँले गौहत्या, गौतस्करी तथा हिन्दु समुदायमाथि हुने हिंसाका घटनामा सडकमा उत्रिएर विरोध र खबरदारी गर्नुपर्ने बताउनु भयो ।
२२. अध्यक्ष लिङदेनको आरोप–नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने निर्णय दलहरूले आम नागरिकको इच्छाविपरित विदेशी शक्तिको हस्तक्षेप र दबाबमा गरे
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने निर्णय राजनीतिक दलहरूले आम नागरिकको इच्छाविपरित विदेशी शक्तिहरुको हस्तक्षेप र दबाबमा गरेको आरोप लगाउनुभएको छ । आईतवार नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले दलहरुले धर्मलाई राजनीतिसँग जोडेर आफ्नो राजनीतिक रोटी सेक्ने काम गरेको आरोप पनि लगाउनु भयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्रको पक्षमा वकालत गर्नु राजनीति नभएको जिकिर समेत गर्नुभयो ।
२३. नयाँ भनिएकाहरुको सरकार आएपछि जनताले धेरै दुःख पाएः एमाले महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ भनिएकाहरुको सरकार गठन भएपछि सबैभन्दा धेरै पीडा जनतालाई भएको टिप्पणी गनुर््भएको छ । आईतवार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले वर्तमान सरकारले महँगी नियन्त्रण गर्न नसकेको भन्दै आलोचना समेत गर्नुभयो । महासचिव पोखरेलले दुई वर्षअघिको तुलनामा अहिले बजारभाउ आकाशिएको दाबी गर्दै सरकार जनताको सुख र सहजताका लागि जिम्मेवार नभएको आरोप समेत लगाउनु भयो । उहाँले जनताले आर्थिक कठिनाइ भोगिरहँदा शासकहरूले सामाजिक सञ्जालमार्फत परिवर्तन र चमत्कारको आश्वासन मात्रै बाँडिरहेको टिप्पणी समेत गर्नुभयो । उहाँले सामाजिक सञ्जालको अत्यधिक प्रयोगले मानिसको सोचाइ, सामाजिक व्यवहार तथा परम्परागत मूल्य र मान्यतामा समेत नकारात्मक असर पारिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
२४. मुलुकको आन्तरिक राजनीति अनावश्यक दिशामा जान नदिन दलहरूले भुमिका खेल्नुपर्छः सहसंयोजक नेपाल
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले मुलुकको आन्तरिक राजनीति अनावश्यक दिशामा जान नदिनको लागि राजनीतिक दलहरूले भुमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित ‘राष्ट्रिय जागरण अभियान’ शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो जोड दिनुभएको हो । उहाँले अमेरिका लगायतका देशमा हालै सम्पन्न निर्वाचनबाट एउटै शक्ति सधैँ सत्तामा रहन नसक्ने उदाहरण पेश गरेको भन्दै आफूहरु आत्तिन नहुने समेत बताउनु भयो । उहाँले दलहरु र जनताबीचको दूरी कम गर्न लोकतान्त्रिक शक्तिहरुबीच सहकार्यको आवश्यक रहेको पनि बताउनु भयो ।
२५. पीपीएसम्बन्धि नयाँ फ्रेमवर्कः खारेज गर्न इप्पानको माग
सरकारले जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) का लागि नयाँ मापदण्ड प्रश्ताव गरेको छ । जलविद्युत आयोजनाको पीपीए गर्न तीन चरणको नयाँ प्रक्रिया सरकारले प्रश्ताव गरेको छ । यसअघि आयोजना सर्वेक्षण, वातावरणीय अध्ययन, उत्पादन अनुमतिपत्र र ग्रिड जडान सम्झौता पूरा गरेपछि पीपीएका लागि योग्य मानिने व्यवस्था रहे पनि नयाँ प्रश्तावले थप कडा शर्त र मूल्यांकन प्रणाली अघि सारेको छ । प्रश्तावित व्यवस्थाको पहिलो चरणमा आयोजनाले ६ वटा न्युनतम अनिवार्य योग्यता पूरा गर्नुपर्नेछ । यसमा कानूनी वैधता, संरक्षित क्षेत्रसम्बन्धी स्वीकृति, अद्यावधिक ग्रिड जडान सम्झौता, प्रशारण सुविधाको सुनिश्चितता, सुख्खायाममा कुल ऊर्जाको न्युनतम ३० प्रतिशत उत्पादन सुनिश्चितता र वित्तीय दिगोपना समेटिएका छन् ।
२६. प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान
प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणका क्रममा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान गरेको छ । महासङ्घका अध्यक्ष निकोलस पाण्डेको नेतृत्वमा रहेको टोली आईतवार भारत प्रस्थान गरेको हो । टोलीलाई महासङ्घका महासचिव शिवहरी घिमिरेसहितका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका थिए । प्रधानमन्त्री साहको आजदेखि शुरु हुने दुईदिने भारत भ्रमणमा सहभागी हुन निजी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीसहितको टोली भारत जान लागेको हो । प्रधानमन्त्री साहको भ्रमणका क्रममा नेपाल–भारतबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध र सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
२७. प्रधानमन्त्री साहलाई भेट्न ताज होटल पुगे विदेशमन्त्री जयशंकर
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र साहलाई भेट्न भारतीय विदेशमन्त्री एस जयशंकर भारतको राजधानी नयाँदिल्लीस्थित ताज होटल पुग्नुभएको छ । आईतवार दुई दिने भारत भ्रमणका क्रममा रहनुभएका साहलाई भेट्न भारतीय विदेशमन्त्री जयशंकर ताज होटल पुग्नुभएको हो । आईतवार दिउँसो साह त्रिभूवन विमानस्थलबाट दिल्ली जानुभएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा रहनुभएका साहले आईतवार भारतीय विदेशमन्त्री र सोमवार भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट गर्ने कार्यतालिका रहेको छ ।–न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij