२०८३ मंसिर ४ गते शुक्रवार
काठमाडौं । वीरगंजसहित बारा र पर्साका विभिन्न पालिकालाई जोडेर सञ्चालन गर्न लागिएको एकीकृत सार्वजनिक यातायात सेवा (नगर बस) यही मंसिरभित्र सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक सम्पूर्ण तयारी अघि बढाउने निर्णय गरिएको छ।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बिहीबार बसेको अन्तरपालिका बैठकले यस्तो निर्णय गरेको हो।
नगर बस सञ्चालनलाई दिगो र व्यवस्थित बनाउन चारवटा पालिकाको सहभागितामा १ करोड रुपैयाँको एकीकृत सञ्चालन कोष स्थापना गर्ने निर्णयसमेत बैठकले गरेको छ। कोषमा वीरगंज महानगरपालिकाले ४० लाख, जितपुरसिमरा उपमहानगरपालिकाले ३० लाख, कलैया उपमहानगरपालिकाले २५ लाख र परवानीपुर गाउँपालिकाले ५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय भएको छ।
यसअघि गत कात्तिक १२ गते बसेको बैठकले यातायात सेवा सञ्चालनको सम्भाव्यता र आवश्यक तयारीका लागि चारवटै पालिकाका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरेको थियो। बिहीबारको बैठकले उक्त कार्यदलले तयार पारेको प्रतिवेदन आवश्यक संशोधनसहित पारित गरेको छ। साथै, नगर बस सञ्चालनसम्बन्धी कार्यविधि तयार पार्ने जिम्मेवारी पनि सोही कार्यदललाई दिइएको छ। कार्यदलले मंसिर ७ गतेभित्र कार्यविधि तयार गरी पेस गर्नुपर्नेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij