२०८३ मंसिर २ गते बुधवार
काठमाडौं । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा १८ दिने नवजात शिशुको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव सिर्जना भएको छ ।
चिकित्सक तथा नर्सको चरम लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाउँदै पीडित परिवार र आफन्तहरूले अस्पतालको गेट बन्द गरी प्रदर्शन गरेका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्न माग गरेका छन् ।
घटनापछि आक्रोशित आफन्त तथा स्थानीयको भीड जम्मा भएपछि अस्पताल परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
पर्सा प्रहरीका प्रवक्ता सञ्जीवबाबु खड्काका अनुसार शिशुको मृत्युको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै आफन्तहरू आन्दोलनमा उत्रिएका हुन् ।
उनका अनुसार तनाव नियन्त्रणमा लिन तथा पीडित पक्षसँगको विवाद समाधान गर्न अस्पताल प्रशासन र सुरक्षाकर्मीबीच छलफल भइरहेको छ ।
शिशुको मृत्युको वास्तविक कारणबारे भने अनुसन्धान तथा छानबिनपछि मात्रै थप विवरण खुल्नेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij