२०८३ मंसिर २ गते बुधवार
काठमाडौं । राजस्व चुहावटको अभियोगमा ५३ करोड ८१ लाख रुपैयाँभन्दा बढी जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएका एक व्यापारी पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रौतहटको गरुडा नगरपालिका–१ निवासी ३३ वर्षीय गुलसन श्रीवास्तवलाई पक्राउ गरेको हो ।
सीआईबीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा बुधबार वीरगञ्ज महानगरपालिका–१६, नगुवाबाट उनलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार श्रीवास्तवले विभिन्न पाँचवटा व्यापारिक फर्ममार्फत झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिजक जारी गरी राजस्व छली गरेका थिए ।
यस अभियोगमा उच्च अदालत पाटनले २०८१ वैशाख २४ गते श्रीवास्तवलाई ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय सुनाएको थियो ।
प्रहरीका अनुसार उनले सङ्ग्रिला ट्रेड एण्ड सप्लायर्स, प्रिन्स इन्टरनेशनल, मयङ्क इन्टरप्राइजेज, शुभ लक्ष्मी इन्टरनेशनल र न्यू महादेव इन्टरनेशनल नामका पाँचवटा कम्पनीको प्रोप्राइटरका रूपमा रहेर नक्कली बिजकमार्फत कारोबार गरेका थिए ।
अदालतको फैसलापछि सजाय भुक्तान नगरी फरार रहेका श्रीवास्तवलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij