२०८३ मंसिर २ गते बुधवार
काठमाडौं । दक्षिण कोरियाले नेपालको पूर्वाधार विकासमा प्रविधि, प्राविधिक ज्ञान र लगानीमार्फत दीर्घकालीन साझेदारी गर्न तयार रहेको जनाएको छ ।
बुधबार काठमाडौं–तराई–मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङको ‘ब्रेकथ्रु’ कार्यक्रममा बोल्दै नेपालका लागि दक्षिण कोरियाली राजदूत जे क्युङ पार्कले नेपालको विकास प्राथमिकतामा भरपर्दो साझेदारका रूपमा सहयोग गर्न कोरिया इच्छुक रहेको बताएका हुन् ।
पूर्वाधार विकास आर्थिक वृद्धि, राष्ट्रिय सम्पर्क विस्तार र नागरिकको जीवनस्तर सुधारको महत्त्वपूर्ण आधार भएको उनले उल्लेख गरे । दक्षिण कोरियाले सडक, एक्सप्रेसवे, पुल तथा सुरुङ निर्माणमा हासिल गरेको अनुभव र प्राविधिक विशेषज्ञता नेपालसँग साझा गर्न चाहेको उनको भनाइ छ ।
राजदूत पार्कले काठमाडौं–तराई–मधेस द्रुतमार्ग निर्माणमा कोरियाली कम्पनी युसिन इन्जिनियरिङ कर्पोरेसनले समग्र डिजाइन तथा सुपरिवेक्षणको काम गरिरहेको जानकारी दिए । चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले महादेवटार सुरुङ निर्माण गरिरहेको उल्लेख गर्दै उनले दुवै देशका कम्पनीले आ–आफ्नो प्राविधिक दक्षतामार्फत आयोजनामा योगदान पुऱ्याइरहेको बताए । नेपालको राष्ट्रिय गौरवको आयोजना अघि बढाउने सरकारको प्रतिबद्धताको प्रशंसा गर्दै उनले यसको सफल कार्यान्वयनमा नेपाली सेनाको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
दक्षिण कोरियाको विकास अनुभव प्रस्तुत गर्दै राजदूत पार्कले सन् १९६० को दशकको अन्त्यतिर सोल र बुसान जोड्ने ‘ग्योङ्बु एक्सप्रेसवे’ निर्माणमा कोरियाली सेनाले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे । नेपालको द्रुतमार्ग निर्माणमा नेपाली सेनाले गरिरहेको योगदानसँग उक्त अनुभव समान रहेको उनले बताए ।
द्रुतमार्ग आयोजना सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना दिँदै राजदूत पार्कले नेपालसँग पूर्वाधार विकासका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने दृढ प्रतिबद्धता व्यक्त गरे ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij