२०८३ मंसिर २ गते बुधवार
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) को वार्ताबीच नेपालका युवा, आदिवासी जनजाति अगुवा तथा अन्तर्राष्ट्रिय जलवायु न्याय आन्दोलनका सहभागीहरूले भोटेकोशी विपद्का पीडितको सम्झनामा सांकेतिक प्रदर्शन गर्दै ग्लोबल साउथका लागि जलवायु न्याय, क्षतिपूर्ति र ऋणरहित वित्तको माग गरेका छन् ।
नेपालमा अगस्ट २६ मा भएको विनाशकारी बाढीले ज्यान, घरबार र जीविकोपार्जनमा पु¥याएको क्षतिलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रश्तुत गर्न सम्मेलनस्थलमा मृतकको प्रतिकका रूपमा पुत्ला राखिएको थियो । प्रदर्शनमा सहभागीहरूले जलवायु संकटबाट प्रभावित समुदायले आफ्ना प्रियजनको शवसमेत फेला पार्न नसकेको पीडादायी अवस्थालाई स्मरण गर्दै जलवायु वार्तालाई ठोस कार्यमा रूपान्तरण गर्न आग्रह गरेका थिए ।
जलवायु अभियन्ता आकृति डोटेलले नेपालले भोगेको ठूलो क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायबाट सहानुभूति प्राप्त भएपनि अब वास्तविक वित्त र क्षतिपूर्तिको आवश्यकता रहेको बताए ।
प्रदर्शनकारीहरूले जलवायु संकटको जिम्मेवारी र त्यसको असरबीच रहेको असमानता अन्त्य गर्न ऐतिहासिक जिम्मेवारी भएका राष्ट्रहरूले आफ्नो दायित्व पूरा गर्नुपर्ने माग गरेका थिए । उनीहरूले खोक्रा प्रतिवद्धता, ग्रिनवासिङ र प्रभावित राष्ट्रमाथि ऋणको भार थप्ने वित्तीय संयन्त्रको विरोध गर्दै अनुकूलन, हानि तथा नोक्शानी र न्यायपूर्ण रूपान्तरणका लागि नयाँ, थप, पर्याप्त, समतामूलक तथा ऋणरहित अनुदानमा आधारित वित्त उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
भोटेकोशीका पीडित समुदायले विपद्पछि आफ्नो जीवन र बस्ती पुनर्निर्माण गर्न ऋण लिनुपर्ने बाध्यतामा पर्न नहुने उनीहरूको माग थियो । जलवायु संकटमा न्युन योगदान गरेका समुदायले त्यसको क्षतिबाट उब्रिन ऋणको भार बोक्नुपर्ने अवस्था न्यायसंगत नहुने प्रदर्शनकारीहरूको भनाइ थियो ।








© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij