२०८३ कार्तिक ३० गते सोमवार
काठमाडौं । झापाको कनकाई नगरपालिकामा फोटो स्टुडियो सञ्चालन गर्दै आएका यशु खतिवडा आफ्नै कोठामा मृत फेला परेका छन्। फोटोग्राफी तथा भिडियोग्राफी व्यवसायमा आबद्ध खतिवडा मृत फेला परेको प्रहरीले जनाएको छ।
मृत्युअघि खतिवडाले सामाजिक सञ्जालमा लेखेका स्टाटसमा प्रहरी हिरासतमा रहेका इनम सापकोटाको नामसमेत जोडिएको छ। उनले आफ्नो व्यक्तिगत जीवनका विभिन्न विषय उल्लेख गर्दै परिवारलाई आफूले गरेको गल्तीको सजाय नदिन आग्रह गरेका थिए।
खतिवडाले मृत्यु हुनुभन्दा तीन दिनअघि र मृत्युको दिन गरी दुईवटा स्टाटस लेखेको खुलेको छ। एउटा स्टाटसमा उनले आफ्नो गल्तीको सजाय परिवारलाई नदिन र आफूले आफैँलाई सजाय दिने उल्लेख गरेका छन्। आफूले भोगिरहेको जीवन नै आफ्ना लागि सजाय भएको भन्दै उनले सबैको शान्तिको कामना गरेका थिए।
अर्को स्टाटसमा उनले इनमको नाम उल्लेख गर्दै आफूलाई दोषी ठहर्याएका छन्। इनमको मोबाइलबाट ह्वाट्सएपमा सन्देश आएको र पछि डिलिट भएको दाबी गर्दै उनले आफ्नो परिवार र निर्दोष बुबालाई फसाउन कसैले नाटक रचेको उल्लेख गरेका छन्।
उनले आफ्नो साधनाबारे परिवारका सदस्यलाई समेत जानकारी नभएको र आफूले गरेको साधना गलत नरहेको बताएका छन्। तर उनले इनम को हुन्, कस्तो साधना गरिरहेका थिए र कसले आफ्नो बुबालाई फसाउन खोजेको हो भन्नेबारे स्पष्ट खुलाएका छैनन्।
मृतकका छिमेकी लीलाराज झापालीका अनुसार खतिवडा उनका बाल्यकालदेखिका साथी थिए। केही दिनयता उनी मानसिक समस्यामा रहेको झापालीले बताएका छन्। परिवारले समेत उनको समस्याबारे समयमै जानकारी पाउन नसकेको उनको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक वसुन्धरा खड्काले खतिवडा मानसिक समस्यामा रहेको बुझिएको बताइन्। इनम सापकोटासँग उनको सम्बन्धबारे भने अहिलेसम्म केही खुल्न नसकेको उनले स्पष्ट पारिन्।
‘कसैको कुनै कनेक्सन रहेछ भने अनुसन्धानपछि मात्र खुल्ने र अहिले नै यसै भन्न सक्ने अवस्था छैन,’ प्रहरी उपरीक्षक खड्काले भनिन्।
खतिवडाको शव पोस्टमार्टमपछि परिवारले बुझेर अन्त्येष्टि गरिसकेको प्रहरीले जनाएको छ। घटनासँग जोडिएका अन्य विषयमा अनुसन्धानपछि मात्रै थप तथ्य खुल्ने प्रहरीले बताएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij