२०८३ कार्तिक २७ गते शुक्रवार
काठमाडौं । उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, लापुबँसीस्थित न्याउली झरना पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
बूढीगण्डकी नदी किनारमा तम्पु पहाड र धार्चे चिङ्गार पहाडको बीचमा रहेको करिब ५५ मिटर अग्लो झरनाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेको छ ।
मनासलु पदमार्गमा पर्ने झरना अवलोकन गर्न, तस्बिर खिच्न र प्राकृतिक वातावरणमा रमाउन पर्यटक पुग्ने गरेका छन् । सामाजिक सञ्जालमा तस्बिर तथा भिडियो सार्वजनिक हुन थालेपछि झरनाको चर्चा पनि बढ्दै गएको छ ।
झरना क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि मोटरेबल पुल निर्माणको काम अघि बढाइएको छ भने थप पूर्वाधार निर्माणका लागि डीपीआर तयार गर्ने योजना छ ।
व्यवस्थित पदमार्ग, सुरक्षित अवलोकनस्थल र पर्यटकमैत्री संरचना निर्माण गर्न सके न्याउली झरना उत्तरी गोरखाको प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना देखिएको छ ।




© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij