२०८३ कार्तिक २७ गते शुक्रवार
काठमाडौं । काठमाडौंबाट सर्लाही जाँदै गरेको यात्रुवाहक विद्युतीय सवारी साधन मकवानपुरको भीमफेदीमा दुर्घटनाग्रस्त भई ठुलो संख्यामा मानवीय क्षति भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले पालिकाभरि आज एक दिन स्थानीय शोक बिदा घोषणा गरेको छ ।
यस्तै गाउँपालिकाले दुर्घटनामा ज्यान गुमाएका स्थानीय नागरिकका परिवारलाई काजक्रिया खर्चस्वरूप प्रति मृतक ५० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णयसमेत गरेको छ । गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार यादवले एक शोक वक्तव्य जारी गर्दै जानकारी दिएका हुन् ।
काठमाडौंबाट सर्लाहीको चक्रघट्टा गाउँपालिकातर्फ आउँदै गरेको विद्युतीय सवारी साधन कात्तिक २६ गते बिहान मकवानपुर जिल्लाको भीमफेदी क्षेत्रमा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरको मात्रै १३ जना यात्रुहरूको मृत्यु भएको थियो ।
मृतकहरूको अन्तिम संस्कार र धार्मिक काजक्रिया कार्यमा सहयोग पुर्याउन गाउँपालिकाको तर्फबाट प्रति मृतक पचास हजार रुपैयाँका दरले आर्थिक सहायता प्रदान गरिने निर्णय गरेको छ ।
दुर्घटनामा परेर घाइते भएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पालिकाले उपचारमा आवश्यक सहजीकरण गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij