Logo

२०८३ कार्तिक २६ गते बिहिवार

२०८३ कार्तिक २६ गते बिहिवार

भीमफेदी दुर्घटना छानबिन गर्न ५ सदस्यीय समिति गठन

भीमफेदी दुर्घटना छानबिन गर्न ५ सदस्यीय समिति गठन


  • 239
    Shares

    भीमफेदी दुर्घटना छानबिन गर्न ५ सदस्यीय समिति गठन
    images

    काठमाडौं । मकवानपुरको भीमफेदी–देउराली सडकखण्डअन्तर्गत चिसापानी ओरालोमा १४ जनाको ज्यान जाने गरी भएको विद्युतीय हाइस दुर्घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले ५ सदस्यीय समिति गठन गर्ने भएको छ ।

    काठमाडौँबाट सर्लाही जाँदै गरेको ईभी हाइस दुर्घटनाबारे सत्यतथ्य पत्ता लगाउन र आगामी दिनमा यस्ता दुर्घटना न्यूनीकरणका उपाय सुझाउन समिति गठन गर्न लागिएको हो ।

    मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन हुनेछ । समितिमा जिल्ला ट्राफिक प्रहरी प्रमुख, नेपाल प्रहरीका प्रहरी निरीक्षक, बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य रहनेछन् ।

    समितिलाई घटनाको अध्ययन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइने प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए । जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गरी छानबिन प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।

    प्रारम्भिक जानकारीअनुसार उक्त हाइस काठमाडौँबाट बिहान २ बजे छुटेको थियो । बिहान ५:१५ बजे देउराली पुगेको सवारी करिब ५:४५ बजे चिसापानी नजिक दुर्घटनामा परेको थियो ।

    दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये अधिकांश सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर बस्तीका रहेको जनाइएको छ । दुर्घटनामा घाइते भएका ६ जनामध्ये ३ जनालाई थप उपचारका लागि चितवन र काठमाडौँ पठाइएको छ भने अन्यको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

    प्रमुख जिल्ला अधिकारी अधिकारीले प्रारम्भिक अध्ययनमा गाडी र चालक दुवैले पर्याप्त विश्राम नपाएको देखिएको बताएका छन् । तीव्र गति, क्षमताभन्दा बढी यात्रु, चालकको थकान र मोबाइल प्रयोगजस्ता लापरबाही दुर्घटनाका सम्भावित कारण हुनसक्ने उनले औँल्याएका छन् ।

    उनका अनुसार राति अबेर काठमाडौँ पुगेको सवारीले पर्याप्त विश्राम नगरी तत्कालै यात्रु लिएर फर्किनु जोखिमपूर्ण देखिएको छ । चालकले नियमविपरीत गतिविधि गर्दा यात्रुहरूले पनि प्रश्न गर्ने र खबरदारी गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

    त्यस्तै, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार टिकट काउन्टरमै यात्रुको नाम र ठेगानासहितको विवरण राख्नुपर्ने व्यवस्था भए पनि व्यवसायीहरूले त्यसको पालना नगरेको अधिकारीले बताए । यात्रुको पहिचान सूची नहुँदा दुर्घटनापछि मृतकको सनाखत गर्न समस्या हुने गरेको उनको भनाइ छ ।

    दुर्घटना न्यूनीकरणका लागि मकवानपुरमा अभ्यासका रूपमा लागू गरिएको 'टाइम कार्ड' प्रणालीलाई काठमाडौँदेखि नै व्यवस्थित र अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याएका छन् ।

    भीमफेदी–देउराली सडकखण्ड दुर्घटनाका दृष्टिले संवेदनशील बन्दै गएको उल्लेख गर्दै अधिकारीले सडक सुरक्षा, ट्राफिक सङ्केत, सडकको अवस्था तथा सम्बन्धित निकायको जिम्मेवारीबारे छानबिन समितिको प्रतिवेदनपछि थप प्रक्रिया अघि बढाइने बताएका छन् ।

    प्रकाशित मिति :कार्तिक २६ २०८३ बिहिवार - १६:४९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij