२०८३ कार्तिक २२ गते आइतवार
काठमाडौं । वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने प्रलोभन देखाएर २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका मुख्य आरोपी भरत चौलागाईंलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतले शुक्रबार थुनछेक बहसपछि रामेछापको सुनापति गाउँपालिका–१ निवासी चौलागाईंलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतको आदेशअनुसार उनलाई डिल्लीबजार कारागार चलान गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अधिकृतले जानकारी दिएका छन् ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम दुरुपयोग गरी ठगी गरेको आरोपमा नेपाली कांग्रेसका निवर्तमान महाधिवेशन प्रतिनिधिसमेत रहेका चौलागाईंलाई प्रहरीले गत असोज १ गते पक्राउ गरेको थियो ।
यस प्रकरणमा प्रहरीले दोलखा घर भएकी बालिका शिवाकोटी, ज्ञानबहादुर कार्की, शिवराम श्रेष्ठ र दीपेन्द्रसिंह सामन्तलाई समेत पक्राउ गरी अनुसन्धान गरेको थियो । अदालतले उनीहरूलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ । शिवाकोटीलाई १ लाख, कार्की र श्रेष्ठलाई जनही २ लाख ५० हजार तथा सामन्तलाई १ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको हो ।
प्रहरी अनुसन्धानअनुसार आरोपीहरूले केयरगिभरको रोजगारीका लागि इजरायल पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट २ करोड ५० लाख रुपैयाँ असुलेका थिए । शिवाकोटीले आफूले संकलन गरेको रकममध्ये डेढ करोड रुपैयाँ नगद चौलागाईंलाई दिएको बयान दिएकी थिइन् ।
नेपाल सरकारले सन् २०२४ मा वैदेशिक रोजगारीका लागि इजरायलमा कामदार पठाउन परीक्षा सञ्चालन गरेको थियो । त्यस क्रममा लक्की ड्रमार्फत २ हजार ९९ जना छनोट भएका थिए । लक्की ड्रमा छनोट हुन नसकेका १५६ जनालाई समेत इजरायल पठाइदिने भन्दै चौलागाईंको समूहले रकम असुलेको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।
यस प्रकरणमा मुख्य आरोपी चौलागाईंलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशसँगै अन्य चार जनालाई धरौटीमा रिहा गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij