२०८३ कार्तिक २२ गते आइतवार
काठमाडौं । सुनसरीको इटहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ। कोसी राजमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–१३ स्थित पेट्रोल पम्प नजिकै गएराति भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राति करिब पौने १२ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकलमा सवार दुवै युवक गम्भीर घाइते भएका थिए। तत्काल उद्धार गरी उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल पुर्याइए पनि राति १२ः११ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
मृत्यु हुने दुवै जना अन्दाजी ३० देखि ३५ वर्ष उमेरका पुरुष रहेको र उनीहरूको पहिचान खुल्न नसकेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्र खड्काले जानकारी दिए।
दुर्घटनापछि ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij