Logo

२०८३ कार्तिक २० गते शुक्रवार

२०८३ कार्तिक २० गते शुक्रवार

भोटेकोशी–त्रिशूली पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकसँग वित्तीय प्याकेजको तयारी

भोटेकोशी–त्रिशूली पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकसँग वित्तीय प्याकेजको तयारी


  • 344
    Shares

    भोटेकोशी–त्रिशूली पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकसँग वित्तीय प्याकेजको तयारी
    images

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली विपद्पछिको पुनर्निर्माणका लागि आवश्यक पर्ने ४ देखि ५ अर्ब अमेरिकी डलर जुटाउन सरकारले भारत, चीन, विश्व बैंक र एशियाली विकास बैंकसँग कुटनीतिक तथा वित्तीय संवाद अघि बढाएको बताए । 

    शुक्रवार सिंहदरबारमा बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा धारणा राख्दै उनले आगामी तीनदेखि पाँच वर्षभित्र पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउने प्रक्रिया शुरु भइसकेको बताए । वाग्लेले नेपाललाई आवश्यक पर्ने पुनर्निर्माण स्रोतको करिव ८० प्रतिशत भारत, चीन, विश्व बैंक र एशियाली विकास बैंकबाट जुटाउन सकिने अपेक्षा गरिएको जानकारी दिए । बाँकी २० प्रतिशत अन्य विकास साझेदार तथा दातृ निकायबाट जुटाउने सरकारको योजना रहेको उनको भनाइ छ । 

    अन्तर्राष्ट्रिय परिस्थितिका कारण अनुदान सहायता घट्दै गएको उल्लेख गर्दै उनले सहुलियतपूर्ण ऋणलाई पनि विवेकपूर्ण ढङ्गले उपयोग गर्नुपर्ने बताए। नेपालले विगतमा अनुदान सहयोगमा निर्भर रहेर विकास निर्माण अघि बढाए पनि अहिले अनुदानको उपलब्धता निकै खुम्चिएको उनको भनाइ छ । 

    भारतसँग पुनर्निर्माण तथा विकास निर्माणका लागि विशेष वित्तीय प्याकेजबारे छलफल भइरहेको र प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा यससम्बन्धी केही सम्झौता हुनसक्ने उहाँले अपेक्षा व्यक्त गरे । चीनसँग पनि विपद्पछिको पुनर्निर्माण, अत्याधुनिक पूर्वाधार निर्माण तथा वैकल्पिक व्यापारिक नाकाहरूको विकासबारे छलफल भइरहेको उनले जानकारी दिए। 

    रसुवा, तातोपानी र कोराला नाकालाई जोड्ने पूर्वाधार विकासका साथै रेलमार्ग, सुरुङमार्ग, भायाडक्ट र आधुनिक भन्सार पूर्वाधार निर्माणका विषयमा चीनसँग संवाद भइरहेको उनले बताए। नेपालले चीनसँग जोडिने पुरानै सडक संरचनालाई सामान्य मर्मतमा सीमित नराखी आधुनिक प्रविधिसहितको पूर्वाधार विकास गर्न चाहेको उनको भनाइ छ । 

    प्रकाशित मिति :कार्तिक २० २०८३ शुक्रवार - १२:०३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij