Logo

२०८३ कार्तिक १७ गते मंगलवार

२०८३ कार्तिक १७ गते मंगलवार

चक्रवात ‘मुरासु’ आन्ध्र प्रदेशको तटमा ठोक्कियो: तटीय क्षेत्रमा तीव्र हावाहुरी र वर्षा, नेपालमा नगण्य प्रभाव

चक्रवात ‘मुरासु’ आन्ध्र प्रदेशको तटमा ठोक्कियो: तटीय क्षेत्रमा तीव्र हावाहुरी र वर्षा, नेपालमा नगण्य प्रभाव


  • 379
    Shares

    चक्रवात ‘मुरासु’ आन्ध्र प्रदेशको तटमा ठोक्कियो: तटीय क्षेत्रमा तीव्र हावाहुरी र वर्षा, नेपालमा नगण्य प्रभाव
    images

    काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘मुरासु’ मंगलबार बिहान भारतको आन्ध्र प्रदेशको दक्षिणी तटमा ठोक्किएको छ । चक्रवातका कारण आन्ध्र प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा, तीव्र हावाहुरी र बाढीको अवस्था सिर्जना भएको छ । केही स्थानमा घरटहरा भत्किएका छन् भने रुख ढलेर सडक अवरुद्ध भएका छन् । खेतबारी डुबानमा पर्दा कृषि बालीमा समेत क्षति पुगेको छ ।

    भारतको मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार चक्रवात मंगलबार बिहान ३ः३० देखि ५ः३० बजेको बीचमा नेल्लोर र नरसापुरबीच ओङ्गोल नजिकै दक्षिणी आन्ध्र प्रदेशको तट पार गरेको हो । त्यसबेला हावाको गति प्रतिघण्टा १०० देखि ११० किलोमिटर रहेको र हावाको झोक्का १२० किलोमिटरसम्म पुगेको थियो ।

    चक्रवातको प्रभाव विशेषगरी प्रकाशम जिल्लामा देखिएको छ । ओङ्गोल नजिकैको कोठापटनम तटीय क्षेत्रमा समुद्रमा ठुला छाल उठेका छन् । तीव्र हावाहुरी र वर्षाका कारण त्यहाँका केही झुपडीमा क्षति पुगेको छ भने रुखहरू उखेलिएका छन् ।

    प्रकाशम जिल्लाका तल्लो भूभागमा भारी वर्षाका कारण बाढी र डुबानको अवस्था आएको छ । सडकमा पानी जम्दा सवारीसाधन फसेका छन् भने केही सवारीसाधन पल्टिएका दृश्य सार्वजनिक भएका छन् । प्रभावित परिवारलाई जिल्ला परिषद्को विद्यालयमा स्थापना गरिएको चक्रवात राहत केन्द्रमा सारिएको अधिकारीहरूले बताएका छन् ।

    कतिपय तटीय क्षेत्रमा पनि भारी वर्षा र हावाहुरीले क्षति पुर्‍याएको छ भने विभिन्न स्थानमा पानी जमेको खबर पनि सार्वजनिक भएको छ । चक्रवातको प्रभावलाई ध्यानमा राख्दै आन्ध्र प्रदेशका विभिन्न जिल्लामा प्रशासनले उद्धार तथा राहत टोली परिचालन गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । विभिन्न जिललाका प्रशासनले आगामी २४ देखि ३६ घण्टासम्म अवस्थाको निरन्तर निगरानी गर्ने जनाएको छ । सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न, घरबाहिर ननिस्कन र प्रशासनले दिएको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।

    चक्रवात ‘मुरासु’को प्रभाव नेपाल र उत्तर प्रदेशमा कति ?

    त्यसो त नेपाल र भारतको उत्तर प्रदेशमा चक्रवात ‘मुरासु’को प्रत्यक्ष प्रभाव पर्ने सम्भावना नरहेको सम्बन्धित मौसम निकायहरूले जनाएका छन् । नेपालको जल तथा मौसम विज्ञान विभागले नोभेम्बर १ (कात्तिक १५) साँझ जारी गरेको विशेष मौसम बुलेटिनमा मुरासुका कारण नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना नरहेको जनाएको थियो । 

    विभागका अनुसार चक्रवात आन्ध्र प्रदेशको नेल्लोर र नरसापुरबीचको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको थियो । विभागले प्रणालीको निरन्तर अनुगमन भइरहेको पनि जनाएको छ ।

    त्यसैगरि, भारतको मौसम विज्ञान विभाग, लखनउ केन्द्रका वरिष्ठ मौसम वैज्ञानिक अतुलकुमार सिंहका अनुसार मुरासुको उत्तर प्रदेशमा प्रत्यक्ष प्रभाव पर्ने छैन । नोभेम्बर ३ मा सार्वजनिक गरिएको पूर्वानुमानअनुसार आगामी सात दिनसम्म प्रदेशका सबै जिल्लामा मौसम मुख्यतः शुष्क रहनेछ र वर्षाको चेतावनी जारी गरिएको छैन । बरु आगामी दुई–तीन दिनमा तापक्रम दुईदेखि तीन डिग्री सेल्सियससम्म घट्न सक्ने तथा बिहान हल्कादेखि मध्यम कुहिरो लाग्न सक्ने सम्भावना भएको जनाइएको छ ।

    एजेन्सी

    प्रकाशित मिति :कार्तिक १७ २०८३ मंगलवार - १२:५८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij