Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

आज दिनभरको ३७ खबर एकै ठाउँमा

आज दिनभरको ३७ खबर एकै ठाउँमा


  • 519
    Shares

    आज दिनभरको ३७ खबर एकै ठाउँमा
    images

    १. स्पेनस्थित नेपाली दूतावासलाई परिणाममुखी र सक्रिय बनाउने प्रश्तावित राजदुत प्राप्ति शेरचनको प्रतिवद्धता

    स्पेनका लागि प्रश्तावित नेपाली राजदुत प्राप्ति शेरचनले म्याड्रिडस्थित नेपाली राजदुतावासलाई थप सक्रिय, सर्वसुलभ र परिणाममुखी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मङ्गलवार संघीय संसदको संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना र अवधारणा प्रश्तुत गर्दै उहाँले दुई देशबीचको सम्बन्ध विस्तार, आर्थिक कुटनीति र श्रमिक हितलाई केन्द्रमा राखेर काम गर्ने स्पष्ट पार्नुभएको हो ।

    २. स्पेनमा नेपाली श्रमिकको अवस्था गम्भीर, प्रभावकारी कुटनीतिक संयन्त्र बनाउन सांसद वर्षमान पुनको जोड

    स्पेनमा झन्डै ८० हजार नेपाली पुगे पनि अधिकांश गैरकानूनी र जोखिमपूर्ण अवस्थामा रहेको भन्दै त्यहाँस्थित नेपाली दूतावासले श्रमिक सुरक्षा तथा कन्सुलर सेवालाई चुस्त बनाउनुपर्ने विषय संसदीय सुनुवाइ समितिमा उठेको छ । मङ्गलवार स्पेनका लागि प्रश्तावित राजदुत प्राप्ति शेरचनको सुनुवाईका क्रममा नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले स्पेनमा रहेका नेपालीहरू चरम श्रम शोषणमा परेको तथ्य औंल्याउँदै तत्काल कुटनीतिक पहलकदमी बढाउन आग्रह गर्नुभयो । सांसद पुनकाअनुसार स्पेन सरकार र नेपाली दुतावासको औपचारिक अभिलेखमा आठदेखि नौ हजार नेपाली मात्र दर्ता छन् । 

    ३. मुस्ताङी च्याङ्ग्रा बेच्न पोखरा आइपुगेका जनप्रतिनिधि भन्छन्–राजनीति जनताको जीवनसँग जोडिनुपर्छ, गोठाला जोखिम मोलिरहँदा वडाध्यक्ष कुर्सीमा बसेर हेरिरहन सक्दैन’

    नेपालीहरूको महान चाड बडादशैँको रन्को गाउँ–शहरमा फैलिन थाल्दा गण्डकीको मुख्य व्यापारिक केन्द्र पोखरामा छुट्टै चहलपहल थपिन्छ । त्यो चहलपहल हो, समुन्द्री सतहदेखि ४ हजार मिटरभन्दा अग्लो तिब्बती सीमावर्ती पठारबाट हिँडाएर ल्याइने रैथाने हिमाली च्याङ्ग्राको आगमन । यसपालि मुस्ताङको बारागुङ मुक्तिक्षेत्र, उपल्लो डोल्पाको विकट खर्कहरू र दार्चुलाको हिमाली खण्डबाट १३ हजारभन्दा बढी च्याङ्ग्रा पोखरा ओराल्ने लक्ष्य राखिएको छ ।

    ४. प्रश्तावित राजदुत कर्णलाई सांसद विष्टको प्रश्नः इजरायलको कृषि प्रविधि नेपाल भित्र्याउन तपाईंको भुमिका के ?

    नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रश्तावित राजदुत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राख्नुभएको छ । मङ्गलवार बसेको समितिको बैठकमा सांसद विष्टले इजरायलको कृषि मोडेललाई नेपालमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा राजदुतको योजनाबारे प्रश्न उठाउनुभएको हो ।

    ५. जर्मनीका लागि प्रश्तावित राजदुत सरु जोशीको कार्ययोजनाः आर्थिक कुटनीति र श्रम व्यवस्थापनमा जोड

    जर्मनीका लागि नेपाली राजदुतमा प्रश्तावित सरु जोशीले नेपाल–जर्मनी सम्बन्धलाई थप प्रगाढ बनाउँदै आर्थिक र श्रम कुटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । 
    मंगलवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै उहाँले व्यापार घाटा कम गर्न, पर्यटन प्रवद्र्धन गर्न र नेपाली श्रमिकहरूको हकहित तथा व्यवस्थित श्रम आप्रवासनका लागि सक्रिय भुमिका निर्वाह गर्ने उल्लेख गर्नुभएको हो । 

    ६. जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’

    नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले प्रवासी नेपालीको मताधिकार र श्रम गन्तव्यको समस्या समाधानका लागि स्पष्ट खाका माग गर्नुभएको छ । संसदीय सुनुवाई समितिको मंगलवारको बैठकमा जर्मनीका लागि प्रश्तावित राजदुत सरु जोशीको कार्ययोजना र क्षमतामाथि प्रश्न गर्दै सांसद पुनले जोशीको लामो अनुभव र विज्ञताको प्रशंसा गर्दै अब उहाँ एक अभियन्ताबाट कुटनीतिक प्रतिनिधिमा रूपान्तरण भएकोले थप जिम्मेवारी बढेको बताउनु भयो । उहाँले विशेषगरी विदेशमा रहेका नेपालीहरूको ‘नोट चल्ने तर भोट नचल्ने’ अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै प्राविधिक र प्रशासनिक रूपमा प्रवासी मताधिकार कार्यान्वयन गर्न कत्तिको सम्भव देख्नुहुन्छ भनी प्रश्न गर्नुभयो । 

    ७. जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद चौलागाईंको प्रश्नः कुटनीतिक स्वार्थ कि दातामुखी सोच ?

    सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंले जर्मनीका लागि प्रश्तावित राजदुत सरु जोशीलाई कुटनीतिक मर्यादा, दाता केन्द्रित सोचबाट मुक्त भएर देशको स्वार्थमा केन्द्रित हुन सुझाव दिनुभएको छ । मंगलवारको संसदीय सुनुवाई समितिमा उहाँले जोशीको कार्ययोजना र कुटनीतिक क्षमतामाथि प्रश्न उठाउनुभएको हो । चौलागाईंले प्रश्तावित राजदुत जोशीको विगतको संयुक्त राष्ट्र संघ (यूएन) लगायतका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा रहेको कार्यअनुभवलाई औंल्याउँदै कुटनीतिक तटस्थता र राष्ट्रिय स्वार्थको प्रश्न उठाउनु भयो ।

    ८. जर्मनीका लागि प्रश्तावित राजदुत जोशीः ‘कुटनीतिलाई परिणाममुखी र आर्थिक विकाससँग जोड्छु’

    जर्मनीका लागि नेपाली राजदुतमा प्रश्तावित सरु जोशीले कुटनीतिक नियोगलाई आर्थिक विकास, वैदेशिक लगानी र श्रम कुटनीतिसँग जोडेर परिणाममुखी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 
    संसदीय सुनुवाई समितिको मंगलवारको बैठकमा उहाँले आफ्नो कार्ययोजना प्रश्तुत गर्दै नेपालको हित र समृद्धिका लागि आफ्नो अनुभवलाई पूर्ण रूपमा उपयोग गर्ने बताउनुभएको हो । प्रश्तावित राजदुत जोशीले संयुक्त राष्ट्र संघमा करिव २१ वर्ष काम गरेको अनुभवलाई कुटनीतिक क्षेत्रमा प्रयोग गर्दै नेपालको छवि सुधार र आर्थिक उन्नतिमा उपयोग गर्ने बताउनु भयो ।

    ९.जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’

    जर्मनीका लागि प्रश्तावित नेपाली राजदुत सरु जोशीको कार्ययोजनामाथि संसदीय सुनुवाई समितिको मंगववारको बैठकमा छलफल भएको छ । समितिमा उपस्थित सांसदहरूले जोशीको कार्ययोजनाको प्रशंसा गर्दै द्विपक्षीय व्यापार घाटा कम गर्ने, युरोपमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा गर्ने र जर्मनीबाट प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने विषयमा ठोस योजना माग गर्नुभएको हो । नेकपा एमालेका सांसद प्रेमप्रसाद दंगालले जर्मनीसँगको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउन र नेपाली उत्पादनको युरोपमा पहुँच बढाउन आग्रह गर्नुभयो । 

    १०. कोरियाका लागि प्रश्तावित राजदुत श्रेष्ठसँग संसदीय समितिमा स्वार्थको द्वन्द्व र श्रमिक सुरक्षाबारे प्रश्न

    सांसदहरुले दक्षिण कोरियाका लागि प्रश्तावित नेपाली राजदुत प्रा. डा. सङ्गम श्रेष्ठलाई कोरियामा रहेका झन्डै ९१ हजार नेपाली नागरिकको संरक्षण, इपिएस प्रणालीको नियमितता र गैरसरकारी संस्था तथा व्यवसायसँगको विगतको आवद्धतामाथि स्पष्टीकरण माग गरेका छन् । संसदीय सुनुवाई समितिले मंगलवार कार्ययोजना माग गर्दै स्वार्थको द्वन्द्व, नेपाली श्रमिक तथा विद्यार्थीको सुरक्षा र दुतावासको कार्यशैलीबारे प्रश्न सोधेको हो ।

    ११. कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’

    दक्षिण कोरियाका लागि नेपालका प्रश्तावित राजदुत प्रा. डा. सङ्गम श्रेष्ठले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई केवल औपचारिकतामा मात्र सिमित नराखी नेपालको आर्थिक समृद्धि र नागरिक सुरक्षाको आधारस्तम्भ बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मङ्गलवार संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो चार वर्षे कार्ययोजना प्रश्तुत गर्दै उहाँले प्रविधि हस्तान्तरण, हरित विकास, व्यापार घाटा न्युनिकरण र प्रवासी नेपालीहरूको हित रक्षालाई आफ्नो मुख्य कार्यभारका रूपमा अघि सार्नुभएको हो । डा. श्रेष्ठले नेपालको संविधान र परराष्ट्र नीतिद्वारा निर्देशित रहेर कोरियासँगको ५० वर्षे सम्बन्धलाई पुनर्गठन गर्ने योजना अघि सार्नुभयो । 

    १२. ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा

    ओमानका लागि प्रश्तावित नेपाली राजदुत पदमाक्षी राणाले नेपाल र ओमानबीचको सम्बन्धलाई थप सुदृढ बनाउन चारवर्षीय रणनीतिक कार्ययोजना सार्वजनिक गर्नुभएको छ  । मंगलवार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै उहाँले श्रम कुटनीति, आर्थिक साझेदारी र जलवायु कुटनीतिलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकताका रूपमा अघि सार्नुभएको हो । संसदीय सुनुवाई समितिको बैठकमा प्रश्तावित राजदुत राणाले नेपाल र ओमानबीच सन् १९७७ मा कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै श्रम आप्रवासन दुई देशबीचको सम्बन्धको बलियो आधार रहेको उल्लेख गर्नुभयो ।

    १३. इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण

    इजरायलका लागि प्रश्तावित नेपाली राजदुत सुरेशकुमार कर्णले आफ्नो कार्यकालमा कृषि क्षेत्रको आधुनिकीकरण, साइबर सुरक्षा र वैदेशिक लगानी भित्र्याउने विषयलाई मुख्य प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनुभएको छ । मंगलवार संसदीय सुनुवाई विशेष समितिको बैठकमा कार्ययोजना प्रश्तुत गर्दै उहाँले नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्धलाई आर्थिक र प्राविधिक सहयोगमा केन्द्रित गर्ने बताउनुभएको हो ।

    १४. इजरायलका लागि प्रश्तावित राजदुत कर्णको कार्ययोजनाः कुटनीतिक भ्रमण र श्रमिकको हित प्राथमिकतामा

    इजरायलका लागि प्रश्तावित नेपाली राजदुत सुरेशकुमार कर्णले इजरायलसँगको द्विपक्षीय सम्बन्धलाई थप गतिशील बनाउँदै त्यहाँ कार्यरत नेपाली श्रमिकको हित रक्षाका लागि ठोस कार्ययोजना अघि सार्नुभएको छ । मंगलवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै उहाँले कुटनीतिक भ्रमण, श्रम लागत न्युनिकरण र प्रविधिमा आधारित सेवा प्रवाहलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राख्नुभएको हो ।

    १५. ‘विपद् उत्थानशीलताको शुरुवात घरबाटै गर्नुपर्छ’–कार्यकारी प्रमुख उप्रेती

    ‘विपद्को भूगोल स्थानीय हुन्छ, जोखिमसम्बन्धी जानकारी, पूर्वतयारी योजना, आवश्यक स्रोत र आपत्कालीन समन्वयको व्यवस्था पहिल्यै हुनुपर्छ’– कार्यकारी प्रमुख उप्रेती
    नेपालमा विपद्को जोखिम नयाँ होइन । बाढी, पहिरो, भूकम्प, हिमपहिरो, खडेरी र अन्य प्राकृतिक प्रकोपले विगतदेखि नै जनधनको क्षति पु¥याउँदै आएका छन् । तर पछिल्ला वर्षमा विपद्को प्रकृति, तिब्रता र आवृत्तिमा देखिएका परिवर्तनले जोखिम व्यवस्थापनको परम्परागत दृष्टिकोणमाथि प्रश्न उठाएका छन् । 

    १६. ‘श्रम कुटनीतिमा सहानुभूति होइन, समानुभूति जरुरी’– प्रश्तावित राजदुत राणा

    ओमानका लागि नेपाली राजदुतमा प्रस्तावित पदमाक्षी राणाले आफ्नो कार्यकालमा श्रम कुटनीतिलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मंगलवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा कार्ययोजना प्रश्तुत गर्दै उहाँले ओमानमा रहेका नेपाली श्रमिकको समस्या समाधान र उनीहरूको सुरक्षालाई आफ्नो पहिलो प्राथमिकतामा राख्ने बताउनुभएको हो । राणाले श्रमिकहरूको अवस्था सुधारका लागि आफूले ‘एम्प्याथी’ (समानुभूति) सहितको कुटनीति अवलम्वन गर्ने स्पष्ट पार्नुभयो । 

    १७. एशिया भ्रमणका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट हुनसक्ने ट्रम्पको संकेत

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने एशिया भ्रमणका क्रममा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग भेट हुनसक्ने संकेत गर्नुभएको छ । सोमवार ह्वाइट हाउसमा पत्रकारहरूले एसिया भ्रमणका क्रममा किमसँग भेट गर्ने योजना छ कि छैन भनेर सोध्दा ट्रम्पले सम्भावना रहेको बताउनुभएको हो । ट्रम्पले आगामी महिना चीनमा आयोजना हुने एशिया प्रशान्त आर्थिक सहयोग (एपेक) का नेताहरूको बैठकमा सहभागी हुने आफ्नो इच्छा व्यक्त गर्दै आउनुभएको छ । सोही भ्रमणका क्रममा किमसँग भेटवार्ता हुन सक्ने सम्भावनाबारे चर्चा भएको हो ।

    १८. पाकिस्तानको खैबर पख्तुनख्वामा संकटकाल र गभर्नर शासन लागू

    पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले मुलुकको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा संकटकाल र गभर्नर शासन लागू गर्न आइतबार स्वीकृति दिनुभएको छ । प्रान्तको बिग्रँदो सुरक्षा अवस्था र बढ्दो आतंकवादी घटनाहरूलाई नियन्त्रण गर्न प्रधानमन्त्री शहबाज सरिफले गर्नुभएको सिफारिसका आधारमा राष्ट्रपतिले संविधानको धारा २३२ र २३४ प्रयोग गर्दै यस्तो कदम चाल्नुभएको हो ।

    १९. मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२६ को विश्व आर्थिक वृद्धिदरको प्रक्षेपण बढाएर ३.१ प्रतिशत पु¥याएको छ । यसअघि जुलाईमा गरिएको प्रक्षेपणभन्दा यो ०.१ प्रतिशत विन्दुले बढी हो । मध्यपूर्वमा जारी द्वन्द्वका कारण ऊर्जा बजारमा परेको दबाब र कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा बढ्दो लगानीले विश्व अर्थतन्त्रमा फरक–फरक प्रभाव पारिरहेका बेला आईएमएफले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो ।

    २०. यमनका हुथीद्वारा साउदी अरबका विमानस्थल र ऊर्जा केन्द्रमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दाबी

    यमनको हुथी समूहले साउदी अरबका विमानस्थल तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरी चारवटा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ । साउदी अरब र हुथी समूहबीच सीमापार आक्रमण जारी रहँदा क्षेत्रीय तनाव थप बढेको छ । हुथी समूहका सैन्य प्रवक्ता याह्या सरियाले हुथी नियन्त्रित अल–मसिरा टेलिभिजनमार्फत वक्तव्य जारी गर्दै आक्रमणबारे जानकारी दिनुभएको हो ।

    २१. रुस युक्रेनसँग शान्ति सम्झौताका लागि तयार रहेको ट्रम्पको दाबी, जेलेन्स्कीको आलोचना

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस युक्रेनसँगको युद्ध अन्त्य गर्न शान्ति सम्झौताका लागि तयार रहेको दाबी गर्नुभएको छ । सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले मस्को सम्झौताका पक्षमा भए पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की वार्ता प्रक्रिया अघि बढाउन अनिच्छुक देखिएको भन्दै उहाँको आलोचना गर्नुभएको हो । राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीले चाहेको भए यो युद्ध धेरै पहिले नै समाधान भइसक्ने दाबी गर्नुभयो । जेलेन्स्कीले आफ्नै मुलुकमा नयाँ निर्वाचन गराउनुपर्ने टिप्पणी गर्दै उहाँले युक्रेनी नेतृत्वकै हठका कारण युद्ध लम्बिएको आरोप लगाउनु भयो । ट्रम्पकाअनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अन्त्यका लागि दृढ इच्छा देखाउँदै सम्झौताको पक्षमा उभिनुभएको छ । 

    २२. रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’ः ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तत्काल लागू हुने गरी ‘ऊर्जा युद्धविराम’ भएको सार्वजनिक घोषणा गर्नुभएको छ । तर युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने आफूलाई यस्तो कुनै सम्झौताको जानकारी नभएको बताउँदै आश्चर्य व्यक्त गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत आईतवार दुवै पक्ष ऊर्जा युद्धविरामका लागि सहमत भएको उल्लेख गर्नुभयो । 

    २३. आईपीयू महासभामा नेपालको आपत्कालीन प्रश्ताव पारित हुनु ऐतिहासिकः महासचिव पाण्डे

    संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १४९औँ महासभामा नेपालले प्रश्तुत गरेको आपत्कालीन प्रश्ताव पारित हुनु एतिहासिक उपलब्धि भएको बताउनुभएको छ । महासभामा सहभागी भएर फर्किने क्रममा मंगलवार त्रिभूवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय संसदीय मञ्चमा नेपालले ऐतिहासिक सफलता पाएको बताउनुभएको हो ।

    २४. जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः  महानिर्देशक पंगेनी

    हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक सेवाको प्रभावकारिता बढाउन पर्याप्त बजेट, दक्ष जनशक्ति र प्रविधि आवश्यक रहेको बताउनुभएको छ । हुलाक सेवा विभागको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक समीक्षा कार्यक्रममा उहाँले हाल आवश्यक जनशक्ति, बजेट र प्रविधि बिना नै सेवालाई सुधार गर्ने प्रयास भईरहेको बताउनुभएको हो । 

    २५. नेपालको मौलिक पहिचान र राष्ट्रिय अस्तित्व संकटमा छः देव गुरुङ

    नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान र राष्ट्रिय अस्तित्व संकटमा परेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले नेपालमा विस्तार भइरहेको नवउदारवादी आर्थिक प्रणालीले नेपालको अस्तित्व र पहिचान नै संकटमा परेको बताउनुभएको हो । उहाँले हाल नेपालको राष्ट्रिय पहिचान, भाषा, संस्कृति, सभ्यता र अर्थतन्त्र संकटमा परेको बताउनु भयो । नेपालको राष्ट्रिय अस्मिता र स्वाधीनताको रक्षा गर्न समाजवादी आन्दोलनको तयारी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    २६. माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा

    प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले माओवादी आन्दोलनको पुनर्गठन र पुनर्जागरण आवश्यक रहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले नयाँ पुस्ताले नेतृत्व लिएर माओवादी आन्दोलनको पुनर्गठन गर्न आवश्यक रहेको बताउनुभएको हो । उहाँले विगतको जनयुद्धको नेतृत्व गरेको पुस्ताले माओवादी आन्दोलनलाई अब अगाडी बढाउन नसक्ने बताउनु भयो । माओवादी आन्दोलनका बाँकी एजेण्डालाई नयाँ पुस्ताले अघि बढाउनुपर्ने उहाँको भनाई छ । उहाँले माओवादी आन्दोलनले संविधानमा समावेश गरिएका अधिकारको प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो । 

    २७. विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ

    ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले विपद् व्यवस्थापनको लागि वैज्ञानिक तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली निर्माण गर्नुपर्ने बताउनुभएको छ । मंगलकार ‘विपद् उत्थानशीलताको शुरुवात घरबाटै’ अभियनको शुरुवात गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वैज्ञानिक तथ्य, तथ्याङ्क र अनुसन्धानलाई आधार बनाएर विपद्सम्बन्धी नीति निर्माण बनाउन आवश्यक रहेको बताउनु भयो । विपद्का व्यक्ति विशेषको सक्रियता नभई प्रणाली स्वतः सक्रिय हुने संयन्त्र विकास गर्नुपर्ने उहाँको भनाई छ । विपद् व्यवस्थापनका संयन्त्रलाई आवश्यकताअनुसार स्वतः परिचालित हुने गरी तयार गर्न सकेमा मात्रै भविष्यका चुनौती सामना गर्न सहज हुने उहाँले बताउनु भयो ।

    २८. हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना

    सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र जनमुखी संस्थाका रूपमा विकास गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । हुलाक सेवा विभागको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक समीक्षा कार्यक्रममा उहाँले हुलाक सेवाको क्षमता अभिवृद्धि र संस्थागत सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको हो । उहाँले हुलाक सेवालाई बदलिँदो परिवेश अनुसार परिरिष्कृत गर्दै लैजान आवश्यक रहेको बताउनु भयो । सरकारले हुलाक कार्यालयमार्फत घरघरमा राहदानी पु¥याउने तथा अन्य सामग्रीको वितरण गर्न थालेपछि हुलाक सेवाको थप महत्व बढेको उहाँको भनाई छ । उहाँले हुलाक सेवामा रहेका समस्याहरुलाई समाधान गर्दै जाने बताउनु भयो ।

    २९. रसुवा बाढी प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा

    १० भदौको रसुवाको भोटेकोशी बाढीबाट प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा रहेको गृह मन्त्रमन्त्रालयले जनाएको छ । मंगलवार सिंदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा गृहसचिव केदारनाथ शर्माले यस्तो जानकारी दिनुभएको हो । उहाँले बाढी प्रधावित नागरिकको लागि अस्थायी आवास निर्माणको कार्य भइरहेको उल्लेख गर्दै होल्डिङ सेन्टरमा रहेका नागरिकहरु पहिलो प्राथमिकतामा पर्ने बताउनु भयो । 

    ३०. रसुवा बाढी प्रभावित ९९ प्रतिशत क्षेत्रमा विद्युत सेवा सुचारु भइसक्योः उर्जा मन्त्रालय

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा करिव ९९ प्रतिशत स्थानमा विद्युत सेवा सुचारु भएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ । मंगलवार सिंदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव डा. जगदीश्वर कर्माचार्यले यस्तो जानकारी दिनुभएको हो । उहाँकाअनुसार अब रसुवाका करिब ८० घरधुरीमा मात्र विद्युत जडान हुन बाँकी रहेको छ । उहाँले उक्त क्षेत्रमा विद्युत जडान गर्न प्रशारण लाइनसमेत निर्माण गर्नुपर्ने भएकाले तत्काल विद्युत सेवा सुचारु गर्न कठिन भएको बताउनु भयो ।

    ३१. रसुवा बाढीः खोज र उद्धारमा भएको खर्च विवरणको अध्ययन गर्न सांसदहरुको माग

    राष्ट्रिय सभाका सांसदहरुले १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीपछिको खोज तथा उद्धारको प्रभावकारिता र उद्धारमा भएको खर्चको समेत अध्ययन गर्नुपर्ने बताएका छन् । 
    मंगलवार सिंदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् । संसदीय विशेष समितिको कार्यक्षेत्र विस्तार गरी बुढीगण्डकी नदीमा आएको बाढी र जोखिममा रहेका हिमतालको समेत अध्ययन गर्न उनीहरुको माग छ । 

    ३२. रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा

    राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले १० भदौको रसुवा बाढीमा परी बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । मंगलवार सिंदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले यस्तो जानकारी दिनुभएको हो । उहाँले बाढीमा बेपत्ता भएका नागरिकको डीएनए परीक्षणको नतिजा प्राप्त भएपछि मृत्यु प्रमाणीकरण प्रक्रिया थप सहज हुँदै जाने बताउनु भयो ।

    ३३. सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकको राजनीतिमा अनिश्चय र अनिश्चितताको कालो बादलहरू मडारिरहेको भन्दै यस्तो समयमा मुलुकलाई निकास दिने एकमात्र पार्टी राप्रपा भएको जिकिर गर्नुभएको छ । नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । 

    ३४. १ खर्ब रुपैयाँको पूर्वाधार विकास कोष बनाउने प्रश्ताव, स्थानीय तहदेखि निजी क्षेत्रसम्मको लगानी समेटिने

    सरकारले पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब रुपैयाँ अधिकृत पुँजी भएको ‘पूर्वाधार विकास कोष’ स्थापना गर्ने प्रश्ताव गरेको छ । संघीय शासन प्रणालीअनुसार पूर्वाधार विकाससम्बन्धी कानूनी व्यवस्था परिमार्जन, वैकल्पिक वित्तीय स्रोत परिचालन तथा शहरी पूर्वाधारमा दीर्घकालीन लगानी विस्तार गर्ने उद्देश्यले सरकारले कोष बनाउन लागेको हो । यसका लागि पूर्वाधार विकास मन्त्रालयले ‘पूर्वाधार विकास कोष सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ को मस्यौदा तयार गरेको छ ।

    ३५. काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने

    काठमाडौंका सडकमा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित र सडक आवागमनलाई सुरक्षित बनाउने उद्देश्यले सडक डिभिजन काठमाडौंले रोड मार्किङ तथा ट्राफिक संकेत निर्माणको काम तिब्र पारेको छ । दिउँसो सवारीसाधनको चाप बढी हुने भएकाले सडकमा थर्मोप्लास्टिक पेन्टिङसहितका सडक चिह्न निर्माणको काम रातिको समयमा भइरहेको हो । सडक डिभिजन काठमाडौंकी इन्जिनियर श्रीयंका रौनियारकाअनुसार सडक डिभिजन काठमाडौंअन्तर्गतका सडकमा राति ९ बजेदेखि बिहान ५–६ बजेसम्म रोड मार्किङको काम भइरहेको छ ।

    ३६. चाडपर्वमा कृत्रिम अभाव हुन नदिन बजार अनुगमन तिब्र, झन्डै पाँच दर्जन कर्मचारी परिचालन

    चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन सरकारले बजार अनुगमनलाई तिब्र पारेको छ । कृत्रिम अभाव हुन नदिइ उपभोक्तालाई सहज रूपमा उपभोग्य वस्तु उपलब्ध गराउन र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तिब्र बनाएको हो । विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था, वस्तुको गुणस्तर, मूल्य र मौज्दातको नियमित अनुगमन गरिरहेको छ ।

    ३७. निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन

    विभागीय टोली पछि पार्दै निसर्ग वाटिका स्कुलले १४ औं एनएसए कप पौडी प्रतियोगिताको उपाधि जितेको छ । नेपाल पौडी संघको आयोजनामा मंगलबार सम्पन्न दुईदिने प्रतियोगितामा निसर्ग वाटिका सर्वाधिक एक हजार ३६३ अंक जोड्दै च्याम्पियन भएको हो ।  सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतियोगितामा एपिएफ क्लव दोस्रो र जेम्स स्कुल तेस्रो भए । एपिएफका ६ सय १३ अंक जोड्दा जेम्स स्कुलले ६ सय ६ अंक बटुल्यो । जेम्स स्कुलले सर्वाधिक आठ स्वर्ण, दुई रचत र चार काँस्य पदक जित्यो ।  यद्यपि पौडीमा अक्वा पोइन्टको आधारमा विजेता घोषणा हुने भएकाले निसर्ग च्याम्पियन बन्यो ।   –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :आश्विन २७ २०८३ मंगलवार - २०:१५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij