२०८३ आश्विन २६ गते सोमवार
काठमाडौं । चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले नेपाल र चीनबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै विश्वको दोस्रो ठूलो अर्थतन्त्रबाट मुलुकले अधिकतम आर्थिक लाभ लिनुपर्ने बताएका छन्।
सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै शर्माले आर्थिक तथा विकास कूटनीतिलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। नेपालको परराष्ट्र नीतिले आर्थिक कूटनीतिलाई जोड दिएको स्मरण गराउँदै दुई देशबीचको राजनीतिक विश्वासलाई थप सुदृढ बनाउने उनको भनाइ छ।
नेपालको संविधान, पञ्चशीलको सिद्धान्त, असंलग्नता र ‘एक चीन सिद्धान्त’ प्रतिको प्रतिवद्धता दोहो¥याउँदै उनले नेपाली भूमि कुनै पनि छिमेकीविरुद्ध प्रयोग हुन नदिने नेपालको अडानलाई निरन्तरता दिने बताए।
शर्माले दुई देशबीचको चरम व्यापार घाटा कम गर्न गुणस्तर मापन प्रणाली (मल्टिफंक्सन क्वालिटी टेस्ट मेसिन) सञ्चालन गरी नेपाली कृषि उपज, जडीबुटी, गलैँचा तथा हस्तकला सामग्री चिनियाँ बजारमा पु¥याउन पहल गर्ने बताएका छन्। थाइल्यान्डले डुरियन फल मात्रै चीनमा वार्षिक चार अर्ब डलरको निर्यात गर्ने दृष्टान्त दिँदै उनले नेपालले पनि आफ्ना मौलिक उत्पादनको निर्यात बढाएर अर्थतन्त्र उकास्न सक्ने तर्क गरे।
हालसम्म चीनबाट नेपालमा करिब पाँच सय वटा परियोजनामा प्रत्यक्ष वैदेशिक लगानी ९एफडीआई० स्वीकृत भएको जानकारी दिँदै उनले उत्पादनमूलक उद्योग, जलविद्युत, पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी भित्र्याउन दूतावासले सहजीकरण गर्ने बताए। पर्यटन प्रवर्द्धनतर्फ जोड दिँदै उनले बेइजिङ र काठमाडौंबीच सिधा हवाई सम्पर्क स्थापना गर्न प्रयास गर्ने कार्ययोजना पेश गरे।
नेपाल आउने चिनियाँ पर्यटकको औसत खर्च ५४१ अमेरिकी डलर मात्र रहेको तथ्यांक प्रस्तुत गर्दै उनले खर्च क्षमता बढाउन नेपालमै आकर्षक पर्यटकीय उत्पादन र प्याकेज निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।
त्यस्तै, हङकङ, ल्हासा, छेन्दु र ग्वाङझौस्थित नेपाली नियोगबीच साझा कार्ययोजना बनाएर लगानी र पर्यटन आकर्षित गर्ने उनले बताएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij