Logo

२०८३ आश्विन २४ गते शनिवार

२०८३ आश्विन २४ गते शनिवार

आज दिनभरको ३५ खबर एकै ठाउँमा

आज दिनभरको ३५ खबर एकै ठाउँमा


  • 323
    Shares

    आज दिनभरको ३५ खबर एकै ठाउँमा
    images

    १. संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी

    नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको पूर्ण कार्यान्वयन नै मुलुकको वर्तमान राजनीतिक निकास र समृद्धिको आधार भएको बताउनुभएको छ । 
    जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संविधानका मूल मर्मलाई आत्मसात गर्दै प्रदेश तहमा प्रहरी प्रशासनको अधिकार हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको हो । नेता निधीले लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षतासहितका नौ बुँदे राष्ट्रिय सूत्रलाई नेपालको राजनीतिको मूल मन्त्र मान्नुपर्ने बताउनु भयो ।

    २. शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल

    राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ताको युगमा शिक्षा प्रणालीलाई अझ बढी व्यावहारिक र मानवीय मूल्यमा आधारित बनाउनुपर्ने बताउनुभएको छ । शनिवार पशुपति मित्र माध्यमिक विद्यालयको हिरक जयन्ती समारोहलाई सम्बोधन गर्दै उहाँले विद्यार्थीलाई परीक्षा केन्द्रित नभई राष्ट्रप्रति जिम्मेवार र समस्या समाधान गर्न सक्ने सक्षम नागरिकका रूपमा तयार गर्नुपर्ने बताउनुभएको हो । राष्ट्रपति पौडेलले विश्वव्यापी रूपमा भइरहेको तिब्र परिवर्तनलाई आत्मसात गर्दै शिक्षा क्षेत्रमा समयसापेक्ष सुधारको खाँचो रहेको बताउनु भयो । शिक्षालाई केवल सैद्धान्तिक ज्ञान आर्जन वा राम्रो अङ्क ल्याउने माध्यमका रूपमा मात्र नबुझ्न उहाँले आग्रह गर्नुभयो । 

    ३. महासचिव शंकर पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली

    नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी महासचिव शंकर पोखरेलसँग आफ्नो सम्बन्धमा दरार आएको भन्ने सार्वजनिक चर्चालाई पूर्णतः निराधार भन्दै खारेज गर्नुभएको छ । 
    ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा सम्पन्न स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले नेतृत्व तहमा कुनैपनि प्रकारको मनमुटाव नरहेको स्पष्ट पार्नुभएको हो । पछिल्ला केही दिनयता एमाले वृत्त तथा राजनीतिक वृत्तमा अध्यक्ष ओली र महासचिव पोखरेलबीच असमझदारी बढेको र संवादसमेत टुटेको भन्दै विभिन्न अड्कलबाजीहरू भइरहेका थिए । 

    ४. बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने

    काठमाडौंको व्यस्त बबरमहल क्षेत्रमा पैदलयात्रुको आवागमनलाई सुरक्षित र सहज बनाउने उद्देश्यले निर्माणधीन आकाशे पुल (पेडेस्ट्रियन ब्रिज) निर्माणको अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन काठमाडौंकाअनुसार हालसम्म परियोजनाको भौतिक प्रगति ९२ प्रतिशत सम्पन्न भइसकेको छ । सडक डिभिजन काठमाडौँका प्रमुख सुवोध देवकोटाकाअनुसार २०८२ फागुन २१ गते सम्झौता भई शुरु भएको उक्त पुल निर्माण कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न गर्ने तयारी गरिएको छ ।

    ५. फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त

    राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारिताको व्यावसायिक क्षमता विकास गर्नुपर्ने बताउनुभएको छ । शनिवार समूहको २९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष वन्तले प्रविधि र अधिकारका नयाँ चुनौतीहरूको सामना गर्न संस्था थप सबल र आत्मनिर्भर बन्नुपर्ने बताउनुभएको हो । संस्थाको २९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष वन्तले आफ्नो कार्यकालको तेस्रो वर्षमा प्रवेश गर्दै गर्दा नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्नुपर्ने र त्यसका लागि क्षमता विकासमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । 

    ६. पृथ्वी राजमार्गको गलौंदी खण्डमा अवरुद्ध सडक खुलाउन प्रयास जारी, केही समयमै आवागमन सहज हुने अपेक्षा

    पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौंदी क्षेत्रमा अवरुद्ध सडकखण्ड खुलाउन शनिवार बिहानैदेखि युद्धस्तरमा काम भइरहेको छ । यातायातको मुख्य मार्गका रूपमा रहेको यो खण्डमा ठप्प भएको सवारी आवागमन पुनः सुचारु गर्न सम्बन्धित निकाय र प्राविधिक टोलीले उच्च प्राथमिकताका साथ काम गरिरहेका छन् । केही समयअघि अवरुद्ध भएको पृथ्वी राजमार्गको गलौंदी खण्डलाई तत्काल सुचारु गर्न निर्माण व्यवसायीसहितको टोली परिचालन गरिएको छ । सडक अवरुद्ध हुँदा राजमार्गमा लामो समयदेखि सवारीसाधनको लामो लाइन लागेको छ भने यात्रुहरू अलपत्र परेका छन् । 

    ७. पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल

    नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५ औँ महाधिवेशनले संगठनलाई नयाँ ऊर्जा प्रदान गरेको बताउँदै अबका दिनमा काँग्रेस आन्तरिक विवाद र गुटबन्दीबाट मुक्त भएर जनसरोकारका विषयमा केन्द्रित हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा जारी मतगणनाका क्रममा उहाँले पार्टीलाई चुनावी मोडमा लैजान र जनताको विश्वास जित्न संगठनलाई थप सुदृढ बनाउनु अपरिहार्य रहेको बताउनुभएको हो । उपसभापति भुसालले काँग्रेसको गौरवपूर्ण इतिहास र लोकतान्त्रिक मूल्य–मान्यतालाई जोगाउँदै मुलुकका आर्थिक, सामाजिक र राष्ट्रिय मुद्दाहरूमा पार्टीले सशक्त भुमिका खेल्ने स्पष्ट पार्नुभयो ।

    ९.कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा

    नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले बदलिँदो विश्व परिवेश र कृत्रिम बौद्धिकताको होडबाजीसँग जुध्न नेपालले शिक्षा र मानव संसाधनमा आमूल परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । 
    शनिवार पशुपति मित्र माध्यमिक विद्यालयको हिरक जयन्ती समारोहलाई सम्बोधन गर्दै थापाले विद्यालय तहको सिकाइमा देखिएको गम्भीर संकट समाधान गर्दै विद्यार्थीलाई भविष्यका लागि सक्षम बनाउनुपर्ने बताउनुभएको हो । थापाले विगतमा शिक्षा र स्वास्थ्यलाई सामुदायिक सम्पत्तिको रूपमा स्थापित गर्ने मौका गुमाएकोमा चिन्ता व्यक्त गर्नुभयो । वर्तमान शिक्षण सिकाइ विधिलाई परिमार्जन गर्न जरुरी रहेको बताउनु भयो । अबको युगमा के सिकाउने भन्दा पनि कसरी सिक्ने भन्नेकुरा सिकाउनु महत्वपूर्ण रहेको बताउनु भयो ।

    १०. काम गर्ने शैली बदलेर नागरिकको विश्वास पुनःस्थापित गर्छौंः गगन थापा

    नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीको कार्यशैलीमा आमूल परिवर्तन गर्दै नागरिकसँग टुटेको विश्वास पुनः जोड्ने सङ्कल्प व्यक्त गर्नुभएको छ । १५ औँ महाधिवेशनबाट पार्टीको सर्वोच्च पदमा विजयी भएपछि शनिवार केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उहाँले पार्टीलाई केवल इतिहासको ब्याजमा नभई नयाँ युग सुहाउँदो भरोसाको केन्द्र बनाउने घोषणा गर्नुभएको हो । थापाले संगठन सञ्चालन र कार्यशैलीमा तत्काल रूपान्तरण ल्याउने स्पष्ट पार्नुभयो । 

    ११. एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा

    नेकपा (एमाले) का स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले पार्टी नेतृत्व र पदाधिकारीबीच कुनै असमझदारी नरहेको प्रष्ट पार्नुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा तीन दिनसम्म चलेको स्थायी कमिटी बैठक समापनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले आन्तरिक विवादबारे बाहिर आएका टीकाटिप्पणीहरू ‘प्रायोजित’ भएको दाबी गर्नुभयो । उहाँले पार्टी नेतृत्व पूर्ण संवाद र समझदारीका साथ अघि बढिरहेको बताउनु भयो ।

    १२. एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीको १० प्रतिशत मनोनयन कोटाअन्तर्गत रिक्त रहेका पदहरूमा १३ जना नेतालाई सर्वसम्मत रूपमा मनोनयन गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा शनिवार सम्पन्न स्थायी कमिटी बैठकले महिलातर्फ ६, पुरुषतर्फ ६ र अन्य दलबाट पार्टी प्रवेश गरेका एक जना केन्द्रिय कमिटीमा गरी १३ जना नेताको मनोनयन टुङ्गो लगाएको हो । स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै एमाले उपमहासचिव लेखराज भट्टले पार्टी विधानअनुसारको १० प्रतिशत मनोनयन प्रक्रिया आज पूर्ण रूपमा सम्पन्न भएको जानकारी दिनुभयो ।

    १३. इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा

    नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टी पुरानो इतिहासको ब्याज खाएर मात्र अघि बढ्न नसक्ने स्पष्ट पार्दै जनसरोकारका मुद्दा सम्बोधन गर्न नयाँ इतिहास रच्ने उद्घोष गर्नुभएको छ । पार्टीको १५ औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित भएपछि शनिबार सानेपास्थित केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिवार उहाँले परम्परागत कार्यशैली बदलेर आजैदेखि काँग्रेसको रूपान्तरण शुरु हुने बताउनुभएको हो । सभापति थापाले काँग्रेसको गौरवशाली इतिहास भएपनि अब केवल अतीतको महिमामण्डन गरेर बस्ने छुट कसैलाई नभएको प्रष्ट पार्नुभयो । महाधिवेशनबाट प्राप्त जनमत र ऊर्जा युवा पुस्ताको आकांक्षा सम्बोधन गर्न सदुपयोग गरिने उहाँको भनाइ छ । 

    १४. अमेरिकी भिसा प्रणालीमा कडाइः हार्वर्ड र एमआईटीसहित ९ विश्वविद्यालय र ठूला आईटी कम्पनीहरू अनुसन्धानको घेरामा

    अमेरिकी उप–राष्ट्रपति जेडी भेन्सले हार्वर्ड, येल र एमआईटीसहित अमेरिकाका ९ प्रतिष्ठित विश्वविद्यालयमा जे–१ भिसा दुरूपयोगको आरोपमा अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ । सोही क्रममा श्रम मन्त्रालयले माइक्रोसफ्ट र एडोबीसहित विश्वका प्रमुख आईटी आउटसोर्सिङ कम्पनीहरूलाई स्थायी श्रम प्रमाणीकरण कार्यक्रमबाट निलम्बन गरेको छ । उप–राष्ट्रपति भेन्सले विश्वविद्यालयहरूले जे–१ भिसाको प्रयोग गरी विदेशी कामदारहरूलाई कम तलबमा काममा लगाउने गरेको र त्यसले गर्दा अमेरिकी विद्यार्थी तथा अनुसन्धानकर्ताहरूको अवसर र ज्यालामा असर परेको जिकिर गर्नुभयो । भेन्सकाअनुसार यी विश्वविद्यालयहरूमा संघीय अनुदानप्राप्त परियोजनाहरूमा ६१ प्रतिशत जे–१ भिसाधारीहरू कार्यरत छन्, जुन राष्ट्रिय औसत ३८ प्रतिशतभन्दा निकै बढी हो । 

    १५. अस्ट्रेलियाको आवास क्षेत्रमा उत्साहजनक सुधारः जुन त्रैमासिकमा घर निर्माण ७ प्रतिशतले बढ्यो

    अस्ट्रेलियामा घर निर्माण कार्यमा उल्लेख्य वृद्धि देखिएको छ । आधिकारिक तथ्यांक अनुसार, सन् २०२६ को जुन त्रैमासिकमा अस्ट्रेलियाभरि आवास निर्माण शुरु हुने दर ७.० प्रतिशतले बढेको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सल ेसार्वजनिक गरेको प्रतिवेदनअनुसार यस अवधिमा कुल ५२ हजार २०१ आवासीय भवनहरूको निर्माण कार्य प्रारम्भ भएको छ । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा १४.४ प्रतिशतले बढी हो । 

    १६. इस्तानबुलमा साततले भवन भत्किँदा दुईको मृत्यु

    टर्कीको इस्तानबुलस्थित माल्टेपे जिल्लामा साततले भवनको तल्लो भाग भत्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना भग्नावशेषमा फसेका छन् । उक्त घटनामा १० जनाको सकुशल उद्धार गरिएको छ भने अन्य बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । इस्तानबुल गभर्नरको कार्यालयकाअनुसार सन् १९८७ मा निर्माण गरिएको उक्त भवनमा ३३ जना बस्दै आएका थिए । बिहीवार बिहान अचानक भवनको तल्लो तीन तला खसेपछि उक्त विपद् निम्तिएको हो । भवन भत्किनुको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन । 

    १७. केन्या र दक्षिण सुडानद्वारा नाइभाशामा कन्टेनर डिपोको शिलान्यासः क्षेत्रीय व्यापारमा नयाँ कोशेढुङ्गा

    केन्या र दक्षिण सुडानले बिहीबार केन्याको पर्यटकीय शहर नाइभाशामा संयुक्त रूपमा एक अन्तर्देशीय कन्टेनर डिपोको शिलान्यास गरेका छन् । दुई देशबीचको द्विपक्षीय व्यापार अभिवृद्धि र क्षेत्रीय लजिस्टिक कनेक्टिभिटीलाई सुदृढ बनाउने उद्देश्यका साथ अघि सारिएको यो परियोजनाले पूर्वी अफ्रिकी क्षेत्रको आपूर्ति श्रृङ्खलामा महत्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । यस परियोजनाको मुख्य विशेषता भनेको मोम्बासा बन्दरगाहमा आइपुग्ने दक्षिण सुडानका लागि लक्षित सम्पूर्ण कार्गो रेलमार्फत सिधै नाइभाशा पु¥याइनेछ ।

    १८. केन्यामा इबोलाको पहिलो संक्रमण पुष्टिः राष्ट्रपति रुटोद्वारा स्वास्थ्य शतर्कता उच्च बनाउन निर्देशन

    केन्यामा पहिलो पटक बन्डिबुग्यो भाइरस डिजिज अर्थात इबोलाको संक्रमण देखिएपछि राष्ट्रपति विलियम रुटोले देशको स्वास्थ्य सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राख्दै आपत्कालीन उपायहरू लागू गर्न निर्देशन दिनुभएको छ । उक्त भाइरसका कारण एक जना केन्याली नागरिकको सोमवार राति मृत्यु भएसँगै सरकारले उच्च शतर्कता अपनाएको हो । राष्ट्रपति रुटोले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सुरक्षा परिषद्लाई तत्काल बैठक बसी थप सुरक्षा रणनीति तय गर्न निर्देशन दिनुभयो । 

    १९. चार दशकको द्वन्द्वपछि ‘अफगान पोस्ट’को पुनर्जागरणः विश्वसँग जोडिँदै अफगानिस्तानको हुलाकी सेवा

    अक्टोबर ९ मा मनाइने ‘विश्व हुलाक दिवस’का अवसरमा अफगानिस्तानको सरकारी हुलाकी संस्था ‘अफगान पोस्ट’ले आफूलाई थप आधुनिकीकरण गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुरूप सेवा बिस्तार गरेको छ । चार दशकभन्दा लामो द्वन्द्व र अस्थिरताका कारण धराशायी बनेको यो सेवाले अहिले राहदानी वितरण, सरकारी पत्राचार र अन्तर्राष्ट्रिय कार्गो सेवालाई देशका ३४ वटै प्रान्तमा प्रभावकारी रूपमा अघि बढाएको छ । अफगानिस्तानको हुलाक सेवाले विगत केही वर्षयता संरचनागत सुधारमार्फत पुनर्जीवन पाएको छ । 

    २०. जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

    जापानमा चालु आर्थिक वर्षको अप्रिलदेखि सेप्टेम्बरसम्मको अवधिमा कर्पोरेट टाट पल्टिने घटनाहरू १३ वर्षयताकै उच्च विन्दुमा पुगेका छन् । क्रेडिट अनुसन्धान संस्था ‘टोकियो शोको रिसर्च’ काअनुसार यस अवधिमा कम्तीमा १० मिलियन येन (करिव ६३ हजार अमेरिकी डलर) ऋण भएका ५ हजार ३७३ कम्पनीहरू खारेजीमा परेका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा ३.९ प्रतिशतले बढी हो । सन् २०१३ को पहिलो छ महिनामा ५ हजार ५०५ कम्पनी टाट पल्टिएयताको यो संख्या सबैभन्दा उच्च हो । 

    २१. नासाको स्पेस–एक्स ‘क्रू–१२’ मिसन सफलतापूर्वक पृथ्वीमा फर्कियोः २३७ दिनको अन्तरिक्ष यात्रा सम्पन्न

    अमेरिकी अन्तरिक्ष संस्था नासाको स्पेस–एक्स ‘क्रू–१२’ मिसन आठ महिना लामो अन्तरिक्ष यात्रा पूरा गर्दै बिहीवार सफलतापूर्वक पृथ्वीमा फर्किएको छ । चार अन्तरिक्षयात्री बोकेको स्पेस–एक्स ड्र्यागन क्याप्सुल क्यालिफोर्नियाको लस एन्जलस नजिकको समुन्द्रमा सुरक्षित अवतरण गरेको हो । नासाकाअनुसार बुधवार बिहान ८ः०५ बजे (पूर्वी समय) अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट अलग्गिएको स्पेस–एक्स ड्रयागन अन्तरिक्षयानले बिहीवार बिहान ११ः३४ बजे समुन्द्रमा स्प्लास डाउन गर्दै आफ्नो यात्रा बिट मारेको छ ।

    २२. नोभेम्बरको मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा

    अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने मध्यावधि चुनावअघि इरानमाथि कुनैपनि प्रकारको सैन्य आक्रमण नगर्ने स्पष्ट पार्नुभएको छ । सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसियल’मार्फत उहाँले इरानसँगको वार्ता फलदायी दिशामा अघि बढिरहेको जनाउँदै हालका लागि सैन्य विकल्प टरेको संकेत गर्नुभएको हो । ट्रम्पले इरान आर्थिक तथा सैन्य रूपमा निकै कमजोर अवस्थामा रहेको दाबी गर्दै त्यहाँको सरकारसँग सघन संवाद भइरहेको जानकारी दिनुभयो । यद्यपि इरानमाथिको नाकाबन्दी भने यथावत रहने उहाँले प्रष्ट पार्नुभयो । 

    २३. पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र

    मध्य अमेरिकी राष्ट्र पानामामा शुक्रवार दिउँसो ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार दिउँसो १२ः५६ बजे ४ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पका कारण सयौं सर्वसाधारण त्रसित भई सडकमा निस्किएका छन् भने देशका विभिन्न स्थानमा सार्वजनिक सेवा प्रभावित बनेका छन् । पानामास्थित भूगर्भ विज्ञान संस्थानका अनुसार भूकम्पको केन्द्रबिन्दु आसपास शुक्रवार बेलुका ५ः३० बजेसम्म ४० भन्दा बढी परकम्पहरू रेकर्ड गरिएको छ, जसमध्ये १२ वटा ५.० म्याग्निच्युडभन्दा बढीका छन् । 

    २४. फिजीमा सम्पन्न ‘प्रि–कोप३१’ः जलवायु अनुकूलन र हरित ऊर्जामा ठोस प्रतिवद्धता

    संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) को पूर्वसन्ध्यामा फिजीको नाडीमा आयोजित ‘प्रि–कोप३१’ बैठक महत्वपूर्ण जलवायु प्रतिवद्धताका साथ सम्पन्न भएको छ । विश्वभरका मन्त्री र उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको सो भेलाले जलवायु उत्थानशीलता, ऊर्जा सुरक्षा र जलवायु वित्तको क्षेत्रमा नयाँ कार्यदिशा तय गरेको छ । फिजीमा सम्पन्न तीनदिने यस बैठकले प्रशान्त क्षेत्रमा जलवायु परिवर्तनका कारण सिर्जना भएका जोखिम न्यूनीकरण गर्ने लक्ष्यका साथ ‘प्यासिफिक रेजिलियन्स फ्यासिलिटी’ का लागि नयाँ अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू जुटाएको छ । 

    २५. मध्यपूर्वमा लामो तैनाथीपछि अमेरिकी विमानवाहक जहाज ‘युएसएस अब्राहम लिंकन’ स्वदेश फिर्ता

    इरानसँगको प्रत्यक्ष सैन्य द्वन्द्व र मध्यपूर्वको तनावपूर्ण क्षेत्रमा लामो समय तैनाथ रहेको अमेरिकी परमाणु शक्ति सम्पन्न विमानबाहक जहाज ‘युएसएस अब्राहम लिंकन’ बिहीवार आफ्नो गृह बन्दरगाह सान डिएगो, क्यालिफोर्निया फर्किएको छ । अमेरिकी केन्द्रिय कमाण्ड (सेन्टकम) का अनुसार, करिव ५ हजारभन्दा बढी नौसैनिक र मरीन सैनिकहरू बोकेको उक्त स्ट्राइक ग्रुप आफ्नो लामो मिसन पूरा गरी स्वदेश फिर्ता भएको हो । सन् २०२५ को नोभेम्बर महिनामा सान डिएगोबाट प्रस्थान गरेको यो विशाल विमानबाहक जहाज जनवरी महिनामा मध्यपूर्वको क्षेत्रमा पुगेको थियो । तत्पश्चात फेब्रुअरी २८ बाट अमेरिका र इजरायलको संयुक्त सैन्य अभियान इरानविरुद्ध केन्द्रित भएपछि यो जहाजले उक्त क्षेत्रमा रणनीतिक भूमिका निर्वाह गरेको थियो । 

    २६. मेक्का रक्षा सम्झौता आक्रामक सैन्य कारबाहीका लागि होइनः विदेशमन्त्री फिदान

    टर्कीका विदेशमन्त्री हाकान फिदानले हालै सम्पन्न मेक्का संयुक्त रक्षा सम्झौता विशुद्ध रक्षात्मक प्रकृतिको भएको स्पष्ट पार्दै आफ्नो देशले अन्य कुनै मुलुकमा आक्रमण गर्न आफ्ना सेना परिचालन नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । टर्कीका विदेशमन्त्री हाकान फिदानले एक विशेष वक्तव्यमार्फत मेक्का संयुक्त रक्षा सम्झौताको औचित्यमाथि प्रष्ट पार्दै यस्तो धारणा सार्वजनिक गर्नुभएको हो । गत अगस्ट ७ मा साउदी अरेबिया, टर्की र पाकिस्तानबीच भएको यस सम्झौताले कुनै एक पक्षमाथिको आक्रमणलाई सबैमाथिको आक्रमणका रूपमा लिने व्यवस्था गरेको छ । 

    २७. युद्धको घाउ बोकेको भायोलिनः गाजाकी हाइफा अबु शामलाको सांगीतिक संघर्ष

    गाजा क्षेत्रमा जारी द्वन्द्वको तीन वर्ष पूरा हुँदा, प्यालेस्टिनी सेलोज्ञा हाइफा अबु शामला आफ्नो युद्धले क्षतविक्षत भएको सेलो लिएर भूमध्यसागरको किनारमा संगीतको धुन छरिरहेकी छिन् । युद्धको भीषण गोलाबारीले उनको घर र वाद्ययन्त्रलाई क्षति पु¥याए पनि उनले आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिँदै विस्थापित नागरिकहरूका लागि आशाको सन्देश फैलाइरहेकी छिन् र सन् २०२३ को अक्टोबरमा द्वन्द्व चर्किएपछि हाइफाको परिवार ज्यान जोगाउन आफ्नो थातथलो छोड्न बाध्य भयो । त्यसको सात सातापछि, उनका पिताले दस वर्षभन्दा लामो समय लगाएर बनाएको घर इजरायली सेनाको बमबारीमा परेर नष्ट भयो । करिव एक वर्षपछि मात्रै उनी आफ्नो भग्नावशेषमा फर्किन सफल भइन्, जहाँ उनले आफ्नो प्रिय सेलो जलेको र भाँचिएको अवस्थामा फेला पारिन् । 

    २८. हङकङमा राष्ट्रिय दिवसको अवसरमा १६ लाख पर्यटकको आगमन, नयाँ रेकर्ड कायम

    चीनको राष्ट्रिय दिवसको अवसरमा अक्टोबर १ देखि ७ सम्म चलेको बिदाको अवधिमा हङकङले १६ लाखभन्दा बढी पर्यटकलाई स्वागत गरेको छ । सरकारी तथ्यांकअनुसार यो संख्या गत वर्षको तुलनामा उल्लेख्य रूपमा बढी छ र यसमा मुख्यतया चिनियाँ मुख्य भूमिबाट आएका पर्यटकहरूको वर्चश्व रहेको छ । हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारद्वारा बिहीवार सार्वजनिक गरिएको विवरणअनुसार, सात दिनको बिदामा कुल १६ लाख पर्यटक हङकङ भित्रिएका छन् । जसमध्ये १४ लाख १० हजारभन्दा बढी पर्यटक मुख्य भूमि चीनबाट आएका हुन् ।

    २९. एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार उल्टो बाटोमा हिडिँरहेको आरोप लगाउनुभएको छ । नेकपा एमाले वागमती प्रदेश कमिटिले आयोजना गरेको कार्यक्रममा उहाँले सरकार सुशासन, सेवा प्रवाह र लोकतान्त्रिक अधिकारका विषयमा आफ्नै प्रतिवद्धताबाट पछि हटेको आरोप लगाउनुभएको हो । निर्वाचनबाट दुई तिहाईको सरकार बनेको भएपनि सरकारको कार्यशैलीले राजनीतिक स्थायित्व र सुशासनप्रति आश्वस्त पार्न नसकेको उहाँले बताउनु भयो ।

    ३०. निजामती प्रशासनलाई कठपुतली बनाउन खोजियो, कर्मचारी त्रासमा छन्ः महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले निजामती प्रशासनलाई कठपुतली बनाउन खोजेको आरोप लगाउनुभएको छ । नेकपा एमाले वागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा उहाँले प्रशासनलाई कानुनअनुसार चल्न नदिई आदेशपालकका रूपमा सीमित गर्न खोजेको आरोप लगाउनुभएको हो । निजामती प्रशासन स्थायी सरकारका रूपमा रहने भएकाले कानूनअनुसार सञ्चालन हुनुपर्ने उहाँले बताउनु भयो । तर सरकारले प्रशासनलाई मन्त्रीहरूको निर्देशन पालना गर्ने निकायका रूपमा मात्रै चलाउन खोजेको आरोप लगाउनु भयो ।

    ३१. महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले महँगीले जनताको दैनिक जनजीवन अस्तव्यस्त बनेको बताउनुभएको छ । नेकपा एमाले वागमती प्रदेश कमिटिले आयोजना गरेको कार्यक्रममा उहाँले खाद्य सामग्रीको मूल्य २०० प्रतिशतभन्दा बढी बढेको दाबी गर्नुभयो । दशैँ, तिहार, छठ जस्ता प्रमुख चाडपर्व नजिकिँदै गर्दा बढ्दो महंगीले सर्वसाधारणलाई थप आर्थिक भार परेको उहाँको भनाई छ । अघिल्लो वर्ष सहज रूपमा चाडपर्व मनाएका नागरिक यसवर्ष महंगीले चाडपर्व मनाउन नसक्ने अवस्थामा पुगेको उहाँले बताउनु भयो । 

    ३२. विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे

    पूर्वसचिव तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का प्रमुख विज्ञ सल्लाहकार दिनेशकुमार घिमिरेले नेपालमा उत्पादित विद्युत आन्तरिक खपतमा नै जोड दिनुपर्ने बताउनुभएको छ । इप्पान र क्यानडा फर लोकल इनिसिएटिभले आयोजना गरेको नेपालको हरित भविष्य निर्माणसम्बन्धी नियमित ‘फ्राइडे फोरम’ कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले अन्तरदेशिय विद्युत निर्यातको भर परेर मात्रै विद्युत उत्पादन गर्न जोड दिन नहुने बताउनु भयो । उहाँले तत्कालको लागी भने भारत र बंगलादेशमा विद्युत निर्यात बाध्यता रहेको बताउनु भयो । 

    ३३. विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी

    विपद् जोखिम न्युनिकरण विज्ञ एवं संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीका कार्यक्रम विश्लेषक दीपक केसीले जलवायु जोखिमलाई ध्यानमा राखेर जलविद्युत आयोजना निर्माण गर्नुपर्ने बताउनुभएको छ । इप्पान र क्यानडा फर लोकल इनिसिएटिभले आयोजना गरेको नेपालको हरित भविष्य निर्माणसम्बन्धी नियमित ‘फ्राइडे फोरम’ कार्यक्रममा उहाँले जलवायु परिवर्तन र विपद्का जोखिमलाई ध्यानमा राखेर जलविद्युत आयोजनाको सर्वेक्षण, डिजाइन, निर्माण गर्न सुझाव दिनुभएको हो । 

    ३४. ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष मोहनकुमार डाँगीले राष्ट्रिय विद्युत प्रशारण ग्रिड प्रयोग गरेबापत तोकिएको ह्विलिङ चार्ज अत्याधिक महंगो भएको बताउनुभएको छ । 
    इप्पान र क्यानडा फर लोकल इनिसिएटिभले आयोजना गरेको नेपालको हरित भविष्य निर्माणसम्बन्धी नियमित ‘फ्राइडे फोरम’ कार्यक्रममा अध्यक्ष डाँगीले ह्विलिङ चार्ज पुनरावलोकन गर्नुपर्ने बताउनुभएको हो । उहाँले निजी क्षेत्र र सरकारबीच छलफल गरी शुल्क निर्धारण गर्नुपर्ने बताउनुभयो । 

    ३५. वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव

    पूर्वराष्ट्रपति डा. रामवरण यादवले विश्वव्यापी जलवायु परिवर्तन र वातावरणीय संकटप्रति विश्वका शक्ति राष्ट्रदेखि नेपालका राजनीतिक नेतृत्व गम्भीर नभएको गुनासो गर्नुभएको छ । शनिवार काठमाडौंमा नेपाल मधुमेही समाजको ३६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । वैज्ञानिक प्रमाणहरूले बारम्बार चेतावनी दिँदा पनि नीति निर्माण तहमा रहेका नेतृत्वले यसलाई सामान्य रूपमा लिनु वा ‘झुट’ भन्नु दुर्भाग्यपूर्ण भएको उहाँको टिप्पणी छ । पूर्वराष्ट्रपति डा. यादवले आफ्नो कार्यकालमा चुरे संरक्षणको मुद्दालाई उच्च प्राथमिकतामा राखेको बताउँदै चुरे क्षेत्रको विनाश रोक्नसके मात्रै हिमालको हिउँ जोगिने, पहाडको पर्यावरण सुरक्षित हुने र तराईको उर्वर भूमि मरुभूमीकरण हुनबाट बच्ने तथ्य बारम्बार औंल्याउँदै आएको दाबी गर्नुभयो । –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :आश्विन २४ २०८३ शनिवार - २०:०१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij