Logo

२०८३ आश्विन २० गते मंगलवार

२०८३ आश्विन २० गते मंगलवार

चार जलविद्युत् आयोजनाको ९६.५ मेगावाट बिजुली निर्यात अनुमति भारतले गर्‍यो नवीकरण

चार जलविद्युत् आयोजनाको ९६.५ मेगावाट बिजुली निर्यात अनुमति भारतले गर्‍यो नवीकरण


  • 113
    Shares

    चार जलविद्युत् आयोजनाको ९६.५ मेगावाट बिजुली निर्यात अनुमति भारतले गर्‍यो नवीकरण
    images

    काठमाडौं । भारतले नेपालका चारवटा जलविद्युत् आयोजनाबाट उत्पादित ९६.५० मेगावाट बिजुलीको निर्यात अनुमति नवीकरण गरेको छ । 

    अनुमति नवीकरण भएसँगै वर्षायाममा बिजुली निर्यात रोकिने जोखिम तत्कालका लागि टरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका प्रवक्ता राजन ढकाल भारतले केही दिनअघि मात्रै चार आयोजनाबाट उत्पादन भएका विद्युत निर्याताको लागि नवीकरण गरेको बताउँछन् । उनका अनुसार भारतले माथिल्लो चमेलिया ३८.८ मेगावाट, सेती नदी २४.२५ मेगावाट, माथिल्लो दोर्दी ए २४.२५ मेगावाट र माथिल्लो तादीखोला १०.७० मेगावाट आयोजनाबाट उत्पादित विद्युत निर्यातको लागि नविवरण गरेको छ । 

    प्रवक्ता ढकालका अनुसार भारतले नविवरण गरेका चार आयोजनाहरूको निर्यात अनुमति गत जुनदेखि अगस्ट महिनाभित्र सकिएको थियो । मुख्य निर्यातको सिजनमै भारतले गत साता अनुमति नवीकरणको जानकारी गराएपछि अब निर्यात प्रक्रिया सहज रूपमा अघि बढ्ने उनको भनाई थियो । 

    प्रवक्ता ढकालका अनुसार अहिले पनि विद्युत प्राधिकरणले भारततर्फ दैनिक औसत ६०० मेगावाट बिजुली निर्यात गरिरहेको छ । नेपालले वर्षायाममा आन्तरिक खपतपछि बचेको बिजुली भारत र बंगलादेशमा बेच्ने तथा हिउँदमा भारतबाटै आयात गर्ने गर्दै आएको छ । 

    बिजुली खरिद र बिक्री दुवैका लागि हरेक वर्ष भारतसँग अनुमति नवीकरण गर्नुपर्ने बाध्यताका कारण नेपालको ऊर्जा व्यापार भारतीय नीतिमा निर्भर रहनुपरेको छ । यसअघि भारतले आगामी पुससम्मका लागि ढल्केबर–मुजफ्फरपुर र टनकपुर–महेन्द्रनगर प्रसारण लाइनमार्फत ६५४ मेगावाट बिजुली आयातको अनुमति नवीकरण गरिदिए पनि निर्यातको भने रोकिएको थियो ।

    बाढीका कारण निर्यातमा अवरोध

    एकतर्फ निर्यात अनुमति नवीकरण भए पनि भोटेकोशी बाढीका कारण समग्र बिजुली निर्यात भने प्रभावित बनेको छ । हालैको बाढीपहिरोले भारत र बंगलादेश निर्यातका लागि स्वीकृत त्रिशूली, चिलिमे र देवीघाट जलविद्युत् आयोजनामा क्षति पुर्‍याएपछि बंगलादेशतर्फको बिजुली निर्यात रोकिएको छ । 

    तर प्राधिकरणले बंगलादेशतर्फको बिजुली निर्यातका लागि अन्य दोर्दी करिडोका आयोजनाहरुबाट निर्यातका लागि भारतसँग छलफल गरिरहेको छ । 

    क्षतिग्रस्त देवीघाट आयोजनाको सट्टा भारतकै खुला बजारमा स्वीकृति पाइसकेको तल्लो मोदी आयोजनाको बिजुली द्विपक्षीय सम्झौतामार्फत निर्यात गर्न प्राधिकरणले अनुमति मागे पनि भारतले अहिलेसम्म स्वीकृति दिएको छैन । यसबाहेक काबेली बी–१ र सोलुखोला आयोजनाको बिजुली बंगलादेश बिक्री गर्नका लागि पनि भारतबाट अझै अनुमति पाउन नसकेको प्राधिकरणले जनाएको छ । 

    हालसम्म नेपालले ३७ वटा आयोजनाबाट कुल १ हजार २०० मेगावाट बिजुली भारत र बंगलादेशमा निर्यात गर्ने अनुमति पाएको छ । तर, पछिल्लो बाढीपहिरोले करिब ४३० मेगावाट क्षमताका विभिन्न आयोजनाहरूमा क्षति पुर्‍याई उत्पादन ठप्प हुँदा भदौ महिनामा बिजुलीको निर्यात परिमाणमा कमी आएको प्राधिरकणले जनाएको छ ।

     

    प्रकाशित मिति :आश्विन २० २०८३ मंगलवार - १०:५२:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij