२०८३ आश्विन १९ गते सोमवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई रुपैयाँ दरका ३० करोड थान सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। बैंकको मुद्रा व्यवस्थापन विभागले पूर्वयोग्य सुरक्षा मुद्रण कम्पनीबाट सिक्काको डिजाइन, छपाइ, आपूर्ति तथा ढुवानीका लागि बोलपत्र माग गरेको हो।
राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्रमा पूर्वयोग्य कम्पनीले मात्र सहभागिता जनाउन पाउनेछन्। बोलपत्र प्रक्रिया एक चरणको दुई खाम प्रणालीमार्फत हुनेछ, जसमा प्राविधिक र मूल्यसम्बन्धी प्रस्ताव छुट्टाछुट्टै बुझाउनुपर्नेछ।
इच्छुक कम्पनीले आगामी ३ नोभेम्बर २०२६ सम्म बोलपत्रसम्बन्धी कागजात खरिद गर्न सक्नेछन्। कागजातका लागि २० हजार रुपैयाँ वा १३१ अमेरिकी डलर वा ११५ युरो शुल्क तोकिएको छ। पूर्वबोलपत्र बैठक १६ अक्टोबरमा थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा हुनेछ।
बोलपत्र बुझाउने अन्तिम म्याद ४ नोभेम्बर २०२६ दिउँसो १२ बजेसम्म तोकिएको छ भने सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ। सहभागी कम्पनीले कम्तीमा १ लाख ३२ हजार अमेरिकी डलर बराबरको बिड सेक्युरिटी राख्नुपर्नेछ, जुन बोलपत्र खोलेको मितिबाट १२० दिनसम्म मान्य हुनुपर्नेछ।
राष्ट्र बैंकले कालोसूचीमा रहेका कम्पनी तथा त्यस्ता कम्पनीसँग सम्बन्धित व्यक्तिलाई बोलपत्र प्रक्रियामा सहभागी हुन नदिने जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij