२०८३ आश्विन १८ गते आइतवार
काठमाडौं । कञ्चनपुरको पुनर्वासमा प्रहरीले मध्यराति ठूलो रकममा जुवा भइरहेको स्थानमा छापा हानेको छ। प्रहरी टोली पुगेपछि जुवामा संलग्नहरूबीच भागाभाग भएको थियो।
पुनर्वास नगरपालिका–१ पुरैनास्थित कच्ची सडकखण्डमा त्रिपालमुनि जुवा भइरहेको सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त टोलीले राति करिब २ बजे छापा हानेको हो।
छापाका क्रममा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा कैलालीका जगतबहादुर धामी, धनगढीका विक्रम विष्ट र प्रेमबहादुर सिंह, बझाङका कृष्ण बाहेरा तथा पुनर्वासका सुरेश तामाङ रहेका छन्।
उनीहरूको साथबाट २० हजार ९१० रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ। साथै, जुवाखालबाट चार कार, दुई स्कुटर र नौ मोटरसाइकल फेला परेका छन्। प्रहरी टोली आएको थाहा पाएपछि अन्य जुवाडेहरू सवारीसाधनसमेत छाडेर फरार भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij