२०८३ आश्विन १८ गते आइतवार
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने तयारी गरेको छ। पार्टीभित्रबाट आएका सुझाव तथा विभिन्न समूह र आकांक्षीलाई व्यवस्थापन गर्न विधान संशोधनमार्फत पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप्ने तयारी गरिएको हो।
हालको विधानअनुसार कांग्रेसको केन्द्रीय समिति २३१ सदस्यीय र पदाधिकारी १७ सदस्यीय हुने व्यवस्था छ। प्रस्तावित संशोधनमा उपसभापतिको संख्या दुईबाट बढाएर तीन पुर्याउने तयारी गरिएको छ। त्यसमध्ये एक पद महिला र एक पद वरिष्ठ उपसभापतिका रूपमा राख्ने विषयमा छलफल भइरहेको छ।
त्यस्तै, दुई जना महामन्त्रीको व्यवस्था यथावत राख्दै सहमहामन्त्रीको संख्या बढाउने तयारी छ। सहमहामन्त्रीमा हाल आठ समावेशी क्लस्टरबाट प्रतिस्पर्धा हुने व्यवस्था रहेकामा खुलातर्फबाट समेत प्रतिस्पर्धा गर्ने व्यवस्था थप्नेबारे छलफल भइरहेको छ।
केन्द्रीय सदस्यतर्फ पनि संख्या बढाउने तयारी छ। हाल खुलातर्फ ३५ सदस्य रहने व्यवस्था रहेकामा थप गर्ने विषयमा छलफल भइरहेको छ। ३५ वर्षमुनिबाट २१, पेशागत तथा बुद्धिजीवी क्षेत्रबाट ७ र जनसम्पर्क समितिबाट ६ जना चयन हुने व्यवस्थामा भने तत्काल संशोधन नहुने जनाइएको छ।
महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा रहेको विधान संशोधन मस्यौदा समितिले तयार गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेश हुनेछ। केन्द्रीय समितिबाट अनुमोदन भएपछि उक्त विधान महाधिवेशन हलबाट पारित गरिनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij