२०८३ आश्विन १५ गते बिहिवार
काठमाडौं । सरकारले सङ्घीय संसद्मा दर्ता गराएको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा बहुविवाह गर्ने र विदेशको पीआर लिनेले अब निजामती सेवामा प्रवेश नपाउने व्यवस्था प्रस्ताव गरेको छ ।
विधेयकको दफा १८ मा उम्मेदवार हुनका लागि आवश्यक योग्यता र अयोग्यतासम्बन्धी व्यवस्था गरिएको हो । विधेयकको दफा १८ (२) (क) र (ग) मा निजामती सेवामा प्रवेशका लागि अयोग्य मानिने व्यक्तिहरूको सूचीमा ‘बहुविवाह’ गर्ने व्यक्ति र ‘विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) वा ग्रीन कार्ड’ लिएका व्यक्तिहरूलाई समावेश गरिएको छ ।
विधेयकले बहुविवाह र पीआर र ग्रिन कार्ड लिने बाहेकका गम्भीर फौजदारी कसुरमा संलग्न व्यक्तिहरूलाई पनि निजामती सेवाका लागि अयोग्य ठहर्याएको छ ।
विधेयकका अनुसार भ्रष्टाचार, सरकारी वा सार्वजनिक लिखत किर्ते, राष्ट्रहित विरुद्धको कसुर, लागुऔषध कारोबार, सम्पत्ति शुद्धीकरण, पुरातात्त्विक वस्तु बेचबिखन, मानव बेचबिखन, अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी, जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभावसम्बन्धी कसुरमा दोषी ठहरिएका व्यक्ति निजामती सेवामा प्रवेश गर्न पाउने छैनन् ।
विधेयकमा उम्मेदवारका लागि विभिन्न उमेर हद र योग्यता पनि तोकिएको छ । राजपत्र अनङ्कित पदका लागि १८ वर्ष र राजपत्राङ्कित पदका लागि २१ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ । सामान्यतः पुरुषका हकमा ३५ वर्ष र महिलाका हकमा ४० वर्ष उमेर ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
तर, पूर्व सैनिक वा प्रहरीका लागि ४० वर्ष, अधिकृत नवौँ र एघारौँ तहका लागि ४५ वर्ष, तथा अपाङ्गता भएका व्यक्तिका लागि ४० वर्षसम्म उमेर हदको छुट दिइएको छ । पहिले नै सरकारी सेवामा बहाल रहेका स्थायी कर्मचारीहरू तथा प्रदेश वा स्थानीय तहमा समायोजन भएका वा सिफारिस भएका कर्मचारीहरूका लागि भने उमेरको हद नलाग्ने व्यवस्था विधेयकमा गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij