Logo

२०८३ आश्विन १५ गते बिहिवार

२०८३ आश्विन १५ गते बिहिवार

भिसा प्रणालीमा सुधार गर्दै सरकार, १७ प्रकारका नयाँ भिसा प्रस्ताव

भिसा प्रणालीमा सुधार गर्दै सरकार, १७ प्रकारका नयाँ भिसा प्रस्ताव


  • 414
    Shares

    भिसा प्रणालीमा सुधार गर्दै सरकार, १७ प्रकारका नयाँ भिसा प्रस्ताव
    images

    काठमाडौं । ३५ वर्ष पुरानो अध्यागमन ऐनका कारण विदेशी नागरिकको व्यवस्थापनदेखि भिसा प्रणालीसम्म समस्या देखिएको भन्दै सरकारले अध्यागमन कानुन र भिसा प्रणाली पुनर्संरचना गर्ने तयारी गरेको छ। अध्यागमन विभागले हाल कायम ९ प्रकारका भिसालाई विस्तार गर्दै १७ प्रकारका नयाँ भिसा प्रस्ताव गरेको जनाएको छ।

    अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार अध्यागमन ऐन २०४९ र नियमावली लामो समयदेखि संशोधन हुन नसक्दा बदलिँदो आवश्यकता सम्बोधन गर्न कठिनाइ भएको हो। यसका कारण विदेशी नागरिकको उद्देश्यअनुसार उपयुक्त भिसा उपलब्ध गराउन नसकिएको र कतिपय भिसाको दुरुपयोगसमेत भइरहेको विभागको भनाइ छ।

    हाल नेपालमा पर्यटक, अध्ययन, वैवाहिक, कूटनीतिक, सरकारी, नाता, गैरपर्यटक, कामदार र व्यवसायिक गरी ९ प्रकारका भिसा छन्। नयाँ विधेयकमा खेलाडीका लागि स्पोर्ट्स भिसा, साहसिक गतिविधिमा आउनेका लागि छुट्टै भिसा, उपचारका लागि मेडिकल भिसा तथा योग–ध्यानका लागि स्पिरिचुअल भिसालगायत नयाँ वर्ग प्रस्ताव गरिएको छ।

    विभागका अनुसार अन्तर्राष्ट्रिय खेलाडीसमेत हाल उद्देश्यअनुसार उपयुक्त भिसा नहुँदा पर्यटक वा कामदार भिसाको प्रक्रियामा जानुपर्ने अवस्था छ। नयाँ व्यवस्थाले विदेशी नागरिकलाई उनीहरूको नेपाल बसाइको उद्देश्यअनुसार स्पष्ट भिसा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

    प्रवक्ता ढकालले विगतमा अध्यागमन प्रशासन नेपाली नागरिकलाई विदेश जान रोक्ने विषयमा बढी केन्द्रित भएको स्वीकार गर्दै अब विदेशी नागरिकको आगमन, उद्देश्य र गतिविधिको निगरानीलाई प्राथमिकता दिइने बताए।

    नयाँ अध्यागमन विधेयक गृह मन्त्रालयमार्फत अघि बढाइएको र मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि संसद्मा दर्ता हुने विभागले जनाएको छ। नयाँ कानुन लागू भएपछि भिसा प्रणाली व्यवस्थित हुनुका साथै विदेशी नागरिकबाट हुन सक्ने गैरकानुनी गतिविधि नियन्त्रणमा सहयोग पुग्ने विभागको अपेक्षा छ।

    प्रकाशित मिति :आश्विन १५ २०८३ बिहिवार - १४:१३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij