Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

तेलको मूल्य र ऋणपत्रको प्रतिफल बढ्दा अमेरिकी सेयर बजार ओरालो

तेलको मूल्य र ऋणपत्रको प्रतिफल बढ्दा अमेरिकी सेयर बजार ओरालो


  • 428
    Shares

    तेलको मूल्य र ऋणपत्रको प्रतिफल बढ्दा अमेरिकी सेयर बजार ओरालो
    images

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको होर्मुज जलडमरूमध्य पुनः खोल्ने प्रस्ताव अस्वीकार गरेपछि तेलको मूल्य र अमेरिकी सरकारी ऋणपत्रको प्रतिफल बढ्दा सोमबार अमेरिकी सेयर बजारमा गिरावट आएको छ । अमेरिकी सरकारी ऋणपत्रको प्रतिफलमा पनि वृद्धि जारी रह्यो । १० वर्षे ऋणपत्रको प्रतिफल सात आधारबिन्दुले बढेर ५ दशमलव २५ प्रतिशत पुगेको छ । यो सन् २०२६ कै उच्च तथा सन् २००७ को मध्ययताकै उच्च स्तर हो । ३० वर्षे ऋणपत्रको प्रतिफल ५ दशमलव ६ प्रतिशत नजिक पुगेको छ भने दुई वर्षे ऋणपत्रको प्रतिफल पाँच आधारबिन्दुभन्दा बढी बढेर ४ दशमलव ९१६ प्रतिशत पुगेको छ ।

    होर्मुज जलडमरूमध्य पुनः खोल्ने इरानको सातदिने प्रस्ताव ट्रम्पले अस्वीकार गरेपछि सुरुआती कारोबारमा तीव्र रूपमा बढेको कच्चा तेलको मूल्य भने केही घटेको छ । पश्चिम टेक्सस इन्टरमिडिएट कच्चा तेल करिब ९२ दशमलव ६ अमेरिकी डलर प्रतिब्यारेलमा कारोबार भयो भने ब्रेन्ट कच्चा तेलको मूल्य ० दशमलव ९२ प्रतिशतले बढेर १०५ डलरभन्दा माथि पुगेको छ ।

    बढ्दो मुद्रास्फीतिको जोखिमका कारण अमेरिकी केन्द्रीय बैंकले थप ब्याजदर वृद्धि गर्न सक्ने सम्भावनाले पनि लगानीकर्ताको चिन्ता बढाएको छ । बजारमा अक्टोबर २८ मा हुने बैठकमा ब्याजदर थप ० दशमलव २५ प्रतिशत बिन्दुले बढ्ने सम्भावना करिब ७० प्रतिशत रहेको अनुमान गरिएको छ ।

    कम्पनीगत रूपमा, एनभिडियाको सेयर मूल्य १ दशमलव ६८ प्रतिशतले बढेको छ । कम्पनीको सञ्चालक समितिले थप १५० अर्ब अमेरिकी डलर बराबरको सेयर पुनर्खरिद स्वीकृत गरेको छ । यससँगै कम्पनीको बाँकी सेयर पुनर्खरिद अधिकार २३५ अर्ब डलर पुगेको छ ।

    यता बोइङको सेयर मूल्य करिब ७ प्रतिशतले घटेको छ । कम्पनीले ७३७ म्याक्स विमानको अवतरण प्रक्रियालाई असर गर्ने सफ्टवेयर समस्याबारे जानकारी दिएपछि सेयरमा दबाब परेको हो ।

    मेटा प्लेटफम्र्सको सेयर मूल्य पनि करिब ४ दशमलव ८ प्रतिशतले घटेको छ । कम्पनीले नयाँ उद्यम कृत्रिम बुद्धिमत्ता अभियानको नेतृत्व गर्न मङ्गोडिबीका प्रमुख कार्यकारी अधिकृतलाई नियुक्त गरेको घोषणा गरेपछि मङ्गोडिबीको सेयर मूल्यमा तीव्र गिरावट आएको थियो ।

    त्यस्तै, टेस्लाको सेयर मूल्य करिब ४ प्रतिशतले घटेको छ । कम्पनीले रोडस्टरको नयाँ संस्करण सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरेपछि सेयरमा दबाब परेको हो । स्पेसएक्सको सेयर मूल्य पनि दुई प्रतिशतभन्दा बढी घटेको छ, यद्यपि उसको स्टारसिप रकेटले १४औँ परीक्षण उडानका क्रममा पहिलोपटक कक्षमा पुग्न सफलता हासिल गरेको छ ।

    यसै साता बुधबार अगस्ट महिनाको व्यक्तिगत उपभोग खर्चसम्बन्धी मूल्य सूचकाङ्क र शुक्रबार सेप्टेम्बर महिनाको रोजगारीसम्बन्धी प्रतिवेदन सार्वजनिक हुने भएकाले लगानीकर्ताको ध्यान आगामी आर्थिक तथ्याङ्कमा केन्द्रित भएको छ ।

     

    प्रकाशित मिति :आश्विन १३ २०८३ मंगलवार - १६:३९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij