२०८३ आश्विन ७ गते बुधवार
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री श्रेष्ठले बेपत्ताहरूको खोजी कार्य जारी राख्दै प्रभावितहरूको जीवन सामान्य लयमा फर्काउन राज्य पूर्ण रूपमा प्रतिवद्ध रहेको स्पष्ट पारेका छन् । गत भदौ १० गतेको बाढीले पु¥याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मन्त्री श्रेष्ठले आफन्त गुमाएका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
उनले विपत्तिको यस घडीमा शोकलाई शक्तिमा बदल्दै नागरिकको भविष्य सुरक्षित बनाउनु आजको मुख्य चुनौती रहेको बताएका छन्। उनले प्रतिकुल मौसम र भौगोलिक जटिलताका बाबजुद अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी र स्वयंसेवकहरूको योगदानको उच्च प्रशंसा गरेका छन् । साथै, बाढीपीडितलाई सहयोग गर्न स्वदेश तथा विदेशबाट प्राप्त सहयोगप्रति उनले आभार व्यक्त गरेका छन्।
उनले भने, ‘आँखा रसाएका छन् तर आशा मरेको छैन । विपत्तिको यो कठिन घडीमा सरकार नागरिकको साथमा छ । हाम्रो पहिलो दायित्व खोज तथा उद्धारलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिनु, घाइतेहरूको उपचार गर्नु र क्षतिग्रस्त सडक, पुल तथा विद्युतीय संरचनाहरूको पुनर्निर्माण गर्नु हो ।’
संसदमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री श्रेष्ठले प्रधानमन्त्री बालेन्द्र साह र रास्वपा सभापति रवि लामिछानेबीच भएको संवाद र विपत्तिमा देखिएको राजनीतिक दलहरूको ऐक्यवद्धताले थप हौसला मिलेको उल्लेख गरेका छन्। जनताको जीवनभन्दा ठूलो अरू कुनै दायित्व नहुने भन्दै उनले क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई सरकारले विशेष योजनाका साथ अघि बढाउने प्रतिवद्धता जनाएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij