Logo

२०८३ आश्विन ७ गते बुधवार

२०८३ आश्विन ७ गते बुधवार

अमेरिकाले नेपाललाई थप ३ करोड १० लाख डलर उपलब्ध गराउने

अमेरिकाले नेपाललाई थप ३ करोड १० लाख डलर उपलब्ध गराउने


  • 463
    Shares

    अमेरिकाले नेपाललाई थप ३ करोड १० लाख डलर उपलब्ध गराउने
    images

    काठमाडौं । भोटेकोसी बाढीपछि जारी उद्धार, पुन: स्थापना र पुन:निर्माणका लागि संयुक्त राज्य अमेरिकाले नेपाललाई थप ३ करोड १० लाख (३१ मिलियन) डलर सहयोग उपलब्ध गराउने भएको छ।

    अमेरिकाको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री (अन्डर सेक्रेटरी अफ स्टेट) एलिसन हुकरले आज न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरी उक्त सहयोग घोषणा गरेकी हुन्। 

    उपविदेशमन्त्री हुकरले स्थायी तथा विशेष रूपमा निर्माण गरिएका पुलका लागि १ करोड (१० मिलियन) डलरको सहयोग उपलब्ध गराइने बताइन्। यी पुल अमेरिकी कम्पनीबाट उपलब्ध गराइनेछ। यी पुलले प्रभावित क्षेत्रमा महत्त्वपूर्ण यातायात पूर्वाधार पुनर्स्थापना गर्नेछन् र क्षेत्रीय सम्पर्क सञ्जाललाई सुदृढ बनाउनेछन्।

    परराष्ट्रमनत्री खनालसँग भेटवार्ताका क्रममा अमेरिकी उपविदेश हुकरले भोटेकोसी बाढीपछि ७० जना अमेरिकीसहित प्रभावित सबैप्रति अमेरिकाका तर्फबाट समवेदना पनि व्यक्त गरिन्। 

    उपविदेशमन्त्रीले बाढीबाट प्रभावित परिवारका लागि खानेपानी, स्वच्छता र सरसफाइका साथै आश्रय, सुरक्षा, जीविकोपार्जन र जाडोसम्बन्धी सहयोगका निम्ति थप ८० लाख डलर (करिब सवा अर्ब रुपैयाँ) उपलब्ध गराउने योजना पनि घोषणा गरिन्। 

    उपविदेशमन्त्री हुकरले आवश्यक नापअनुसार निर्मित स्थायी पुलहरूका लागि १ करोड अमेरिकी डलर (करिब डेढ अर्ब रुपैयाँ) को कोष उपलब्ध गराउने योजना रहेको बताइन्। 

    ‘ती पुलहरू हामी अमेरिकी कम्पनीबाट खरिद गर्नेछौँ। बाढीबाट प्रभावित क्षेत्रमा ती पुलले महत्त्वपूर्ण यातायात पूर्वाधारको पुनर्स्थापना गर्नुका साथै क्षेत्रीय कनेक्टिभिटीलाई सुदृढ पार्नेछन्’, उनले भनिन्। 

    साथै भविष्यमा विपद् पुनःस्थापना प्रयासहरूमा अझ प्रभावकारी रूपमा सहयोग पुर्‍याउन डिजाइन गरिएका अमेरिकामा निर्मित ड्रोनका लागि १ करोड ३० लाख अमेरिकी डलर उपलब्ध गराउने योजना पनि अमेरिकी विदेश मन्त्रालयले बनाएको छ। यो कोषको घोषणासँगै नेपालको बाढीसम्बन्धी प्रतिकार्य तथा पुनर्लाभ कार्यमा अमेरिकाको कुल सहयोग ३ करोड ६० लाख डलर (करिब साढे ५ अर्ब रुपैयाँ) नाघेको छ।

    अमेरिकी उपविदेशमन्त्रीका अनुसार सहयोगको सर्वाधिक खाँचो भएका ठाउँ पहिचान गर्न र त्यहाँ सहायता पुर्‍याउन अमेरिकाले नेपालसँग निकट रूपमा सहकार्य गर्न जारी राख्नेछ।

    प्रकाशित मिति :आश्विन ७ २०८३ बुधवार - १०:४१:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij