२०८३ आश्विन ७ गते बुधवार
काठमाडौं । बाँकेमा हवाई फायर गरी लागुऔषध कारोबारीमा संलग्न एक जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१४ मा हवाई फायर गरी एक जना भारतीय नागरिक पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश बहराइज जिल्ला रुपैडिया थाना चकिया रोड घर भएका २४ वर्षीय नदिम राई रहेको प्रहरी नायव उपरीक्षक जीवन निरौलाले जानकारी दिएका छन् ।
राई मंगलबार राति यूपी४०जे०६५७ नम्बरको भारतीय नम्बर प्लेटमा भारतबाट नेपालतर्फ आउँदै थिए । शंका लागि रोक्न खोज्दा उनी मोटरसाइकल हुँइकाएर फरार भएका थिए । सो क्रममा दुई राउण्ड हवाई फायर गरिए पनि उनले मोटरसाइकल नरोकेपछि टायरमा थप दुई राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको निरौलाको भनाइ छ ।
उनको साथबाट १०३ ग्राम ७९० मिलिग्राम खैरो हेराइन बरामद भएको उनले बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij