२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । प्राविधिक समस्या देखिएर सेयर कारोबार रोकिएपछि नेपाल धितोपत्र बोर्डले घटनाप्रति चासो देखाउँदै नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।
बोर्डले नेप्सेलाई ७२ वटा धितोपत्र दलाल व्यवसायीको सर्भर रहेको डेटा सेन्टरमा देखिएको प्राविधिक समस्याबारे अध्ययन तथा जाँचबुझ गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो।
बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार घटनाको कारण पहिचान गरी आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन आवश्यक सुधारसहितको प्रतिवेदन असोज १२ गतेभित्र पेस गर्न भनिएको छ।
नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीले प्रयोग गर्ने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) को सर्भर रहेको डेटा सेन्टरमा आइतबार बिहानदेखि प्राविधिक समस्या देखिएको थियो। समस्या समाधान हुन नसकेपछि सेयर कारोबार रोकिएको नेप्सेले जनाएको छ।
घटनाबारे जानकारी पाएलगत्तै बोर्डले उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोलीसमेत खटाएको जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij