२०८३ आश्विन २४ गते शनिवार
काठमाडौं । काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा भएको हत्या घटनामा सामान्य विवाद नै मुख्य कारण रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
दाङको घोराही उपमहानगरपालिका–१७ घर भएका २२ वर्षीय बसन्त कालाखेती फ्रेन्च भाषा अध्ययन गर्दै आएका थिए। फ्रान्स जाने योजनामा रहेका उनको भदौ ५ गते बिहान होस्टलमै धारिलो हतियार प्रहार गरी हत्या भएको हो।
प्रहरीका अनुसार घटनामा संलग्न देखिएका बारा कलैया उपमहानगरपालिका–३ का १९ वर्षीय शेखर यादव र प्रमित पटेलले अघिल्लो साँझ बसन्तसँगै बसेर मदिरा सेवन गरेका थिए।
शंखमुलस्थित एक रेस्टुरेन्टमा राति करिब ११ बजेसम्म मदिरा सेवन गर्ने क्रममा उनीहरूबीच विवाद भएको र पछि हात हालाहालसमेत भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। त्यसपछि उनीहरू होस्टल फर्किएर सुतेका थिए।
तर भोलिपल्ट बिहान शेखर र प्रमित धारिलो हतियारसहित बसन्तको कोठामा पुगेका थिए। कोठा नम्बर १०९ मा प्रवेश गरी उनीहरूले बसन्तमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ।
गम्भीर घाइते भएका बसन्तलाई होस्टलका अन्य विद्यार्थी र सञ्चालकले मिनभवनस्थित सिभिल अस्पताल पुर्याए पनि उपचारका क्रममा उनको मृत्यु भएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार ठूलो विवाद नभई सामान्य विवादकै क्रममा हत्या भएको देखिएको छ।
घटनापछि फरार भएका प्रमित पटेललाई प्रहरीले मकवानपुरको भैँसेबाट र शेखर यादवलाई शंखमुलबाटै पक्राउ गरेको छ। उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, छोराको हत्या भएको खबर पाएपछि बसन्तकी आमा बिना कालाथोकीको पनि मृत्यु भएको छ। दाङको घोराहीस्थित घरमा ३८ वर्षीया कालाथोकी झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।
बसन्तका बुवा वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका छन्। बुवा नेपाल नफर्किएसम्म दुवै जनाको शव उठाइएको छैन।
शंखमुल हत्या घटनामा होस्टल सञ्चालक आलोक ठाकुरलाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij