२०८३ आश्विन २४ गते शनिवार
काठमाडौं । काठमाडौं महानगरपालिका–१५ चमतीबाट प्रहरीले ३१ लाख रुपैयाँ नगदसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले स्रोत नखुलेको नगदसहित ५२ वर्षीय चिनियाँ नागरिक मा यागुबीलाई पक्राउ गरेको हो ।
लागुऔषध कारोबारसम्बन्धी सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा उनको साथबाट ठूलो परिमाणमा नगद भेटिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी सुबास बोहराले जानकारी दिए ।
प्रहरीले सोमबार चमतीस्थित उनले भाडामा लिएको डेरामा खानतलासी गर्दा ३१ लाख रुपैयाँ नगद बरामद गरेको हो । तर, उनको साथबाट लागुऔषध भने फेला नपरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद रकम अवैध हुण्डीसँग सम्बन्धित हुनसक्ने आशंका गरिएको छ । उनको साथबाट सुन काट्न प्रयोग हुने कैँची र डिजिटल तराजुसमेत बरामद भएको छ ।
पक्राउ परेका चिनियाँ नागरिकलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । अनुसन्धानमा संलग्न अधिकारीहरूले उनी सुन कारोबारमा संलग्न हुनसक्ने आशंका गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij