२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश नियुक्तिलगायत विभिन्न विषयमा निर्णय लिन आज न्याय परिषद्को बैठक बस्ने तयारी भएको छ ।
न्याय परिषद् स्रोतका अनुसार चिया ब्रेकपछि आजै परिषद्को बैठक बस्ने तयारी भइरहेको हो । बैठकमा सर्वोच्च तथा उच्च अदालतका न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने विषयमा छलफल हुने बताइएको छ ।
परिषद् बैठकबाट सर्वसम्मत निर्णय हुन सके सर्वोच्च अदालतका रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरिनेछ । न्यायाधीश नियुक्तिको विषयमा सहमति नजुटे अन्य विविध विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
हाल सर्वोच्च अदालतमा चार न्यायाधीशको पद रिक्त छ । ती पदमा उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशबाट नियुक्ति गर्ने तयारी भइरहेको छ । सर्वोच्चमा करिअर जजबाट न्यायाधीश नियुक्तिलाई पहिलो प्राथमिकतामा राखिएको बताइएको छ ।
सर्वोच्चका चार रिक्त पदका लागि उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशसहित नौ जनाको नाम चर्चामा रहेको छ । मुख्य न्यायाधीशबाट लालबहादुर कुँवर, राजनप्रसाद भट्टराई, रत्नबहादुर वागचन्द, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीको नाम चर्चामा छ ।
त्यस्तै, उच्च अदालतका न्यायाधीशहरू दिनेशप्रसाद यादव, कृष्णलाल भट्टराई, यमुना भट्टराई, टेकनारायण कुँवर र चन्द्रबहादुर सारूको नाम पनि सम्भावित सूचीमा रहेको छ ।
उच्च अदालतमा समेत दुई मुख्य न्यायाधीश र पाँच न्यायाधीशको पद रिक्त रहेको छ । सर्वोच्चमा करिअर जजबाट नियुक्ति गरिए उच्च अदालतमा थप पद रिक्त हुनेछ ।
उच्च अदालतका लागि सर्वोच्चका मुख्य रजिस्ट्रार विमल पौडेल, रजिस्ट्रार भद्रकाली पोखरेल, गजेन्द्रबहादुर सिंह, ठगेन्द्र कटेल र बाबुराम दाहालको नाम चर्चामा छ ।
सरकारी वकिल समूहबाट नायब महान्यायाधिवक्ताहरू लोकराज पराजुली, उद्धवप्रसाद पुडासैनी र ध्रुव चौहान तथा सहन्यायाधिवक्ताहरू अच्युतमणि ढकाल, सन्देश श्रेष्ठ, ईश्वरी ढकाल र दिनेश घिमिरेको नाम पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा रहेको छ ।
न्याय परिषद्मा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा अध्यक्ष तथा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कानुनमन्त्री सोविता गौतम, प्रधानमन्त्रीको सिफारिसमा नियुक्त महेशकुमार नेपाल र नेपाल बार एसोसिएसनको सिफारिसमा नियुक्त दामोदर खड्का सदस्य छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij