२०८३ भाद्र ४ गते बिहिवार
१. सरकारको स्थिरताको पक्षमा छौँ, तर बेथितिको विरोध गर्छौंः अर्जुननरसिंह केसी
नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सरकारको स्थिरताको पक्षमा रहेको बताउनुभएको छ । बुधवार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता केसीले मुलुकमा राजनीतिक स्थिरता कायम होस् र सरकारले पाँच वर्षको पूर्ण कार्यकाल पूरा गरोस् भन्ने पक्षमा आफूहरू सकारात्मक रहेको स्पष्ट पार्नुभयो । सत्तारुढ दलभित्रको आन्तरिक व्यवस्थापन र संसदीय दलको बैठकमा देखिएको अन्योललाई उनीहरूको आन्तरिक मामिलाको संज्ञा दिँदै नेता केसीले जनताले राजनीतिक स्थिरता र विकासका लागि यो सरकारलाई विश्वास गरेको स्मरण गराउनु भयो ।
२. संसद बैठक सञ्चालनमा सत्तारुढ दल र सचिवालय गैरजिम्मेवार बन्योः नेकपा सांसद मल्ल
प्रतिनिधि सभाको बैठक पूर्वजानकारी बिना नै ढिलाइ भएको भन्दै नेपाल कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले आपत्ति जनाउनुभएको छ । बुधवार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद मल्लले संसद सचिवालय र सत्तारुढ दलको कार्यशैलीलाई ‘गैरजिम्मेवार’ र ‘लापरवाही’ को संज्ञा दिनुभएको हो । सांसद मल्लले दिउँसो १ बजेका लागि निर्धारित बैठक सत्तारुढ दलको आन्तरिक बैठकका कारण दुई घण्टा भन्दा बढी ढिलो हुँदा पनि प्रतिपक्षलाई कुनै सूचना नदिइएको बताउनु भयो । उहाँले सत्तारुढ दलमा बहुमतको दम्भ देखिएको आरोप लगाउँदै संसदलाई आफ्नो अनुकूल मात्र चलाउन खोजिएको टिप्पणी गर्नुभयो ।
३. विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौंमा तस्बिर प्रदर्शनी
१८७ औं विश्व फोटोग्राफी दिवसको उपलक्ष्यमा काठमाडौंको हनुमानढोका परिसरमा विशेष फोटो प्रदर्शनी आयोजना गरिएको छ । बुधबार राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपाल र बङ्गलादेश फोटोपत्रकार संघको संयुक्त आयोजना तथा चाइना कल्चर सेन्टरको सहकार्यमा प्रदर्शनी भएको हो प्रदर्शनीमा ‘ब्युटिफूल बङ्गलादेश’ शिर्षकका तस्बिरहरूका साथै नेपाली फोटोपत्रकारहरूले चीन भ्रमणका क्रममा खिचेका त्यहाँका विभिन्न आकर्षक र सुन्दर दृश्यहरू समावेश गरिएका छन् ।
४. विमानस्थल सुधारका लागि जापानी अनुदान स्वीकृत र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने मन्त्रिपरिषद्को निर्णय
सिंहदरबारमा बुधवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रका कर्मचारीहरूको सेवा सुविधामा सुधार गर्दै सरकारले प्रारम्भिक बाल विकास (ईसीडी) सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीहरूका लागि सङ्घीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँका दरले वृद्धि गर्ने निर्णय गरेको बताउनु भयो । यसका साथै माध्यमिक तह (कक्षा ९–१०) र आधारभूत तह (कक्षा ६–८) मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलव क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणी सरह कायम गर्ने निर्णय भएको छ ।
सरकारले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल (एटीसी) सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिव २ अर्ब ७३ करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । यस्तै, नेपाल सरकार र साउदी अरेबियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न पनि स्वीकृति प्रदान गरिएको छ ।
सरकारले सहसचिव कमलप्रसाद भट्टराईलाई राजपत्रङ्कित विशिष्ट श्रेणी (सचिव) मा बढुवा गरी बागमती प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ । यस्तै, सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश, २०८३ लाई बैठकले स्वीकृत गरेको छ ।
५. विपद् व्यवस्थापन र सुशासनको सवालमा सरकार असफल भएको सांसद शाहको आरोप
राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीकी सांसद मदनकुमारी शाहले सरकारको कार्यशैली, विपद् व्यवस्थापनमा देखिएको सुस्तता र सुशासनको अवस्थाप्रति प्रश्न उठाउनुभएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै उहाँले सरकारले गर्ने प्रतिवद्धता र प्राप्त परिणामबीच ठूलो खाडल देखिएको भन्दै आलोचना गर्नुभएको हो । सांसद शाहले मनसुनजन्य विपद् व्यवस्थापनका लागि संसद्ले दिएको निर्देशन र सरकारको पूर्ण तयारीको दाबी फिल्डमा नदेखिएको बताउनु भयो । दुई वर्षअघि संसदीय समितिले जाजरकोट लगायतका भूकम्प प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन गरी जोखिमपूर्ण बस्ती स्थानान्तरण गर्न दिएको सुझाव कार्यान्वयन नहुँदा अहिले थप क्षति भइरहेको उहाँको भनाइ छ । उहाँले बाजुराको त्रिवेणी नगरपालिकास्थित ताम्सु गाउँका ६० घरपरिवारमध्ये ५८ परिवार विस्थापित भएको र जाजरकोट, रोल्पा, बागलुङ लगायतका जिल्लामा बाढी पहिरोले जनजीवन आक्रान्त बनाएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले विपन्न र निमुखा जनताका लागि हुनुपर्ने राज्य संयन्त्र मन्त्रीहरूको सेवामा मात्र केन्द्रित भएको आरोप लगाउनु भयो ।
६. विद्युतमा लगाइएको भ्याट खारेजी र ट्रंक लाइनको वक्यौता उठाउन माग गर्दै हस्ताक्षर अभियान जारी
उज्यालो नेपाल पार्टीले विद्युत महशुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न र डेडिकेटेड तथा ट्रंक लाइनको लामो समयदेखिको वक्यौता उठाउन माग गर्दै शुरु गरेको हस्ताक्षर अभियान जारी छ । बुधवार पनि संघीय राजधानीको माईतीघर मण्डलामा हस्ताक्षर अभियान चलिरहेको हो । सरकारले चालु आर्थिक वर्षदेखि विद्युत महशुलमा थप भ्याट लगाएको विरोधमा उज्यालो नेपाल पार्टी आन्दोलित भएको हो । सो अवसरमा बोल्दै पार्टीका केन्द्रिय सचिवालय सदस्य राजेन्द्र अवस्थीले नेपाल जलस्रोतमा धनी देश भएपनि सरकारले जलविद्युतलाई समृद्धिको आधार बनाउनुको सट्टा जनतालाई थप आर्थिक भार थोपर्ने काम गरेको आरोप लगाउनु भयो ।
७. विगत ३५ वर्षको उपलब्धि रक्षा गर्दै वर्तमान बेथिति सुधार्न सांसद पोर्तेलको आग्रह
राष्ट्रिय सभामा नेकपा (एमाले) का सांसद सोमनाथ पोर्तेलले सरकारको कार्यशैली र पछिल्लो समय सिर्जित राजनीतिक भाष्यमाथि टिप्पणी गर्नुभएको छ ।राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद पोर्तेलले विगत साढे तीन दशकमा मुलुकले हासिल गरेका उपलब्धिहरूको रक्षा गर्दै वर्तमान सरकारले ‘प्याराडाइम सिफ्ट’ का नाममा जनतामाथि थोपरेको आर्थिक भार र बेथितिको आलोचना गर्नुभयो । सांसद पोर्तेलले विगत ३५ वर्षमा केही पनि भएन भनी चलाइएको भ्रमलाई तथ्यगत रूपमा खण्डन गर्नुभयो । २०४७ सालको तुलनामा मुलुकले सडक, विद्युत, स्वास्थ्य र शिक्षामा ठूलो फड्को मारेको उहाँको दाबी छ । नेपालीको औसत आयु ५५ वर्षबाट बढेर ७२ वर्ष पुग्नु, साक्षरता दर ३९ प्रतिशतबाट ७७ प्रतिशत पुग्नु र स्वास्थ्य बीमा जस्ता कार्यक्रम कार्यान्वयन हुनु विगतकै सरकारहरूको दूरदर्शिताको परिणाम भएको उहाँले उल्लेख गर्नुभयो ।
८. वर्तमान सरकार जनअपेक्षा पूरा गर्न असफल र गैरजिम्मेवार भयोः एमाले सचिव अर्याल
नेकपा (एमाले) संसदीय दलकी उपनेता एवं सचिव पद्मा अर्यालले वर्तमान सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको बताउनुभएको छ । बुधवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेतृ अर्यालले सरकारले जनतामा आशा जगाउन नसकेको र आधारभूत समस्या समाधानमा उदासीन रहेको आरोप लगाउनुभएको हो । सरकार गठन भएको लामो समय बितिसक्दा पनि जनजीविकाका सवालमा कुनै ठोस सुधार नभएको अर्यालको तर्क छ । सरकारको अहिलेको सुस्त गतिले जनताको अपेक्षा पूरा हुन नसक्ने उहाँले दाबी गर्नुभयो । किसानले धान बालीको समयमा मल नपाएको विषयलाई संसदमा पटक–पटक उठाए पनि सरकारले त्यसलाई बेवास्ता गरेको उनले बताइन्। यस्तै, बजारमा खाना पकाउने ग्यासको समस्याप्रति टिप्पणी गरेको बताउनु भयो ।
९.रेडक्रसको गतिरोध र अतिक्रमित जग्गा फिर्ता गर्न सांसद ललितजङ्ग शाहीको माग
राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद ललितजङ्ग शाहीले नेपाल रेडक्रस सोसाइटीमा व्याप्त तदर्थवादको अन्त्य गरी संस्थालाई विधिसम्मत ढंगले सञ्चालन गर्न र अतिक्रमित सरकारी जग्गा तत्काल फिर्ता ल्याउन सरकारसँग माग गर्नुभएको छ । बुधवार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद शाहीले नेपाल रेडक्रस सोसाइटीको वर्तमान अवस्था, सार्वजनिक जग्गाको अतिक्रमण र विभिन्न आयोगका प्रतिवेदन कार्यान्वयनको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सांसद शाहीले वि.सं. २०२० सालमा स्थापित नेपाल रेडक्रस सोसाइटीले ६ दशकभन्दा बढी समयदेखि मानवीय सेवा, रक्तसञ्चार र विपद् व्यवस्थापनमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । २०७७ सालदेखि सरकारले पटक–पटक निर्वाचित कार्यसमितिलाई निलम्बन गरी तदर्थ समिति गठन गर्दा संस्था गतिहीन बनेको उहाँले बताउनु भयो ।
१०. रास्वपाका सांसद र मन्त्रीहरूको कार्यशैलीप्रति सभापति लामिछानेको चासो, संयमित हुन निर्देशन
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्री तथा सांसदहरूको कार्यशैली र संसद्मा उनीहरूको प्रश्तुतिबारे आन्तरिक छलफल गरेको छ । बुधवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा उक्त छलफल भएको हो । बैठकमा सभापति लामिछानेले संसद्मा प्रश्तुत हुँदा सांसद र मन्त्रीहरूले अवलम्वन गर्ने व्यवहार र भाषाप्रति विशेष चासो व्यक्त गर्नुभएको छ । पछिल्लो समय संसद्मा प्रश्नोत्तरका क्रममा मन्त्रीहरूले सांसदहरूलाई चेतावनीपूर्ण शैलीमा जवाफ दिने गरेको र आफ्ना मागहरू सम्बोधन नहुँदा सांसदहरूले पनि अमर्यादित वा रुखो व्यवहार देखाउने गरेको भनी आलोचना भइरहेको सन्दर्भमा यो बैठक आयोजना गरिएको हो । छलफलका क्रममा जनताका मुद्दाहरूलाई संसद्मा कसरी प्रभावकारी र मर्यादित ढङ्गले प्रश्तुत गर्ने भन्ने विषयमा पनि विचार–विमर्श जारी छ । संसद्मा पार्टीका तर्फबाट हुने प्रश्तुतिलाई थप जिम्मेवार र संयमित बनाउनुपर्नेमा सभापति लामिछानेले जोड दिनुभएको बताइएको छ।
११. रास्वपा संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन, सरकारको कामकारबाहीबारे समीक्षा
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधनका लागि एक कार्यदल गठन गरेको छ ।
बुधवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले मुख्य सचेतकको संयोजकत्वमा उक्त कार्यदल गठन गरेको हो । बैठकको निर्णयबारे जानकारी दिँदै संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय दलको विधानलाई आवश्यकताअनुसार परिमार्जन गर्न सात दिनको समयसीमा तोकेर कार्यदल बनाइएको बताउनु भयो । उक्त कार्यदलले तयार पार्ने कार्यविधिले सांसदहरूको सदनमा उपस्थिति, संसदीय मर्यादा, जिम्मेवारी वोध र कानून निर्माण प्रक्रियामा उनीहरूको भुमिकालाई थप सशक्त र जनपक्षीय बनाउने विश्वास लिइएको छ ।
पार्टी सभापतिसहित शिर्ष नेताहरू र मन्त्रीहरूको उपस्थितिमा भएको उक्त बैठकमा सरकारका गतिविधि र मन्त्रालयगत कामकारबाहीबारे विस्तृत छलफल भएको छ । बैठकमा सहभागी मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयबाट भए गरेका प्रगति र गतिविधिहरूको विवरण प्रश्तुत गर्नुभएको थियो भने सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्रका समस्या र जनस्तरबाट आएका गुनासाहरू राख्नुभएको थियो ।
१२. राष्ट्रिय सभाको शुन्य समयः सुदूरपश्चिमको विकासदेखि सार्वजनिक बिदा कटौतीसम्मका विषयमा सांसदहरूको ध्यानाकर्षण
सांसदहरूले मुलुकको समसामयिक राजनीतिक, सामाजिक तथा आर्थिक मुद्दाहरूमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको बुधवार बसेको बैठकको शुन्य समयमा सुदूरपश्चिमको विकासमा भएको ढिलाइ, सार्वजनिक बिदाको व्यवस्थापन, होल्डिङ सेन्टरको अवस्था र जनस्वास्थ्यका समस्या लगायतका विषय प्रमुखताका साथ उठेका हुन् । सांसद नारायणदत्त मिश्रले सुदूरपश्चिम प्रदेशको विकासमा केन्द्र सरकारले उपेक्षा गरेको आरोप लगाउनु भयो । उहाँले सेती, कर्णाली र महाकाली जस्ता ठूला जलविद्युत आयोजनाहरू अलपत्र परेको उल्लेख गर्दै विकासको गति अत्यन्तै सुस्त रहेको बताउनु भयो । रोजगारीको अभावमा सुदूरपश्चिमका नागरिकहरू भारतमा न्यून स्तरको श्रम गर्न बाध्य भएको बताउँदै उहाँले सडक, अस्पताल, सिंचाई र मलको सुनिश्चितता गर्न माग गर्नुभयो ।
सांसद भूवनबहादुर सुनारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था अव्यावहारिक भएको भन्दै यसलाई तुरुन्त खारेज गर्न माग गर्नुभयो । दुईदिने बिदाका कारण अस्पताल र विद्यालय जस्ता संवेदनशील क्षेत्र अस्तव्यस्त भएको उहाँको तर्क छ । साथै, उहाँले अदालतमा दशैँको अवसरमा दिइने १५ दिने बिदालाई कटौती गरी ६ दिनमा सीमित गर्नुपर्नेमा जोड दिनुभयो ।
१३. भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन
गृहमन्त्री सुदन गुरुङले जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प पीडितहरूको निजी आवास निर्माण र विपद् व्यवस्थापनको विषयमा सरकार संवेदनशील रहेको बताउनुभएको छ ।प्रतिनिधि सभाको बुधवारको बैठकमा आकस्मिक समय माग गरी बोल्दै उहाँले आवास निर्माणमा देखिएका कानूनी तथा प्राविधिक जटिलता समाधानका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिनुभयो । साउन २२ गतेको बैठकमा सांसद गोपाल शर्माले उठाउनुभएको प्रश्न र सभामुखको रुलिङका सम्बन्धमा जवाफ दिँदै गृहमन्त्री गुरुङले लाभग्राही कायम गर्ने विद्यमान व्यवस्थामा पुनरावलोकन गर्न लागिएको बताउनु भयो । हाल एक परिवारबाट एक जना मात्र लाभग्राही हुने र विपद् अगाडि नै अंशबण्डा भई अलग बसेको अवस्थामा मात्र छुट्टै लाभग्राही कायम हुने कानूनी व्यवस्था छ । यस व्यवस्थालाई परिमार्जन गरी स्थानीय तहलाई थप जिम्मेवार बनाउन विपद् व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखको अध्यक्षतामा एक कार्यदल गठन गरिएको र सो कार्यदलले संशोधनको काम गरिरहेको उहाँले सदनलाई जानकारी दिनुभयो ।
१४. प्रधानमन्त्री साह र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता सम्पन्न
प्रधानमन्त्री बालेन्द्र साह र मन्त्रीहरूबीच चालु आर्थिक वर्षका मुख्य कार्य र उपलब्धि सुनिश्चित गर्न कार्यसम्पादन सम्झौता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित एक समारोहका बीच प्रधानमन्त्री र मन्त्रीहरूले सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरी प्रति आदानप्रदान गर्नुभएको हो । प्रधानमन्त्री साहसँग सम्झौता गर्ने मन्त्रीहरूमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन रहनुभएको छ ।
१५. नेपाल भलिबल लिग र एक्सट्रिम इनर्जीबीच पौने तीन करोडको सम्झौता
पुरुष भलिबलको पहिलो फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल लिग (एनभिएल) र एक्सट्रिम इनर्जीबीच सहकार्य भएको छ । नेपाल भलिबल लिगले बुधवार एक कार्यक्रममा आयोजना गर्दै एक्सट्रिम इनर्जीलाई मुख्य प्रायोजन घोषणा गरेको हो । उक्त सम्झौता आगामी तीन वर्षका लागि हुने लिग आयोजक क्रिया ग्रुपले जनाएको छ । एक्सट्रिम इनर्जीकी बिजनेस हेड सोनिया राणा र नेपाल भलिबल लिगका प्रबन्ध निर्देशक अश्विन केडियाले मुख्य प्रायोजनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरे । उक्त सम्झौता तीन वर्षका लागि पौने तीन करोड बराबर रहेको एनभिएलका सिईओ सन्तोष उपाध्यायले जानकारी दिए ।
१६. जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार जनसरोकारका आधारभुत मुद्दाहरूमा संवेदनशील नभएको आरोप लगाउनुभएको छ । बुधवार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राईले दैनिक उपभोग्य वस्तुको अभावदेखि प्रशासनिक ढिलासुस्तीसम्मका विषयमा सरकारको आलोचना गर्नुभयो । संसद बैठक ढिलो शुरु भएको सन्दर्भमा टिप्पणी गर्दै राईले सत्तापक्षको आन्तरिक बैठकका कारण सदनलाई पर्खाइएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले जिम्मेवार निकायलाई जवाफदेही बनाउन आफूले सामाजिक सञ्जालमार्फत नैतिक दबाब दिँदै आएको स्पष्ट पार्नुभयो । नियमअनुसार दुई घण्टाभन्दा बढी ढिलो भए बैठक स्थगित हुने प्रावधान भएपनि यस्ता प्राविधिक ढिलासुस्तीले संसदीय गरिमामा असर पुग्ने उहाँको तर्क छ ।
१७. चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन
काठमाडौं महानगरपालिकाले चमती जग्गा एकीकरण आयोजना र प्रदेश सरकारको मापदण्डका कारण सिर्जित समस्या समाधानका लागि विशेष समिति गठन गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले कार्यपालिकाको बैठकमा बोल्दै यसबारे जानकारी गराउनुभएको हो । डङ्गोलले पीडित महानगरवासीका गुनासा सम्बोधन गर्न र आयोजनाका कानूनी जटिलता सुल्झाउन यो कदम चालिएको बताउनु भयो । चमती आयोजना र नयाँ बजारलगायतका क्षेत्रमा देखिएका समस्या समाधानका लागि महानगरले सुशासन, भवन व्यवस्थापन, कानून, प्रशासन, शहरी व्यवस्थापन र विधान समितिका संयोजक तथा प्रतिनिधिहरू सम्मिलित संयुक्त समिति गठन गरेको छ । उक्त समितिले भदौ मसान्तभित्र विस्तृत प्रतिवेदन पेश गर्ने गरी कार्यादेश पाएको छ ।
१८. ग्यास आपूर्ति व्यवस्था क्रमशः सहज हुँदैछः सरकार
सरकारले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था क्रमशः सहज हुँदै गएको जनाएको छ । रोल...
बुधवार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सुस्मित पोखरेलले उक्त जानकारी दिनुभएको हो । प्रवक्ता पोखरेलकाअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अहिले विभिन्न स्थानमा ग्यास सिलिन्डर वितरणको काम भइरहेको छ । कतिपय उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चय गरेका कारण केही स्थानमा अभाव देखिएको उल्लेख गर्दै उहाँले यस विषयमा मन्त्रालय गम्भीर र संवेदनशील रहेको बताउनु भयो ।
मन्त्री पोखरेलले भन्नुभयो, ‘बजारमा ग्यासको आपूर्ति सहज हुँदै गइरहेको छ । केही समयभित्रै यो समस्या पूर्ण रूपमा समाधान भई आपूर्ति व्यवस्था सुचारु हुनेछ ।’
१९. काँग्रेस सांसद केसीको प्रश्नः ‘राज्य सञ्चालनमा शालिनता र अनुशासन खोइ ?’
राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद चन्द्रबहादुर केसीले वर्तमान सरकारको कार्यशैली, संसदीय जवाफदेहिता र सुशासनको विषयलाई लिएर आलोचना गर्नुभएको छ । राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद केसीले सरकारले विगतका सरकारहरूलाई दोष दिएर आफ्नो जिम्मेवारीबाट पन्छिन नमिल्ने बताउनु भयो । राज्य निरन्तरताको उत्तराधिकार सरकारले बोक्ने उल्लेख गर्दै उहाँले विगत ३५ वर्षको इतिहासलाई मात्र सरापेर वर्तमानका समस्या समाधान नहुने तर्क गर्नुभयो । सांसद केसीले संसदीय व्यवस्थामा प्रधानमन्त्रीले संसदलाई बिजनेस दिनुपर्नेमा कैयौँ दिनसम्म सदन अवरुद्ध हुनु र प्रभावकारी कार्यबाही अघि नबढ्नुमा सरकारको नेतृत्वदायी भुमिकामाथि प्रश्न उठाउनु भयो ।
२०. कर्णाली प्रदेशलाई पूर्ण विद्युतीकरण गर्ने सरकारको लक्ष्य
उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले कर्णाली प्रदेशलाई पूर्ण, भरपर्दो र गुणस्तरीय विद्युत सेवा पु¥याउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । बुधवारको राष्ट्रिय सभाको बैठकमा सांसदहरुले उठाउनुभएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री श्रेष्ठले भौगोलिक विकटताका बाबजुद पनि कर्णालीको विद्युतीकरणलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । मन्त्री श्रेष्ठकाअनुसार कर्णाली प्रदेशका कुल ७१८ वडामध्ये हालसम्म ८२ वडा पूर्ण रूपमा र ४७२ वडा आंशिक रूपमा राष्ट्रिय प्रसारण लाइनसँग जोडिएका छन् । बाँकी १६४ वडामा राष्ट्रिय प्रशारण लाइन पु¥याउन कार्ययोजनासहित काम भइरहेको उहाँले बताउनु भयो ।
२१. आलोचनाको परवाह नगरी मानवीय सेवामा कर्तव्यनिष्ठ भई लाग्नुहोस्ः गृहसचिव राजकुमार श्रेष्ठ
गृहसचिव राजकुमार श्रेष्ठले मानवीय सेवामा जिम्मेबार र कर्तव्यनिष्ठका साथ लाग्न सबैलाई अनुरोध गर्नुभएको छ ।
विश्व मानवीय दिवसको अवसरमा राष्ट्रिय विपद् न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार ललितपुरमा गरेको कार्यक्रममा उहाँले मानवीय सहायता केवल संकटका बेला गरिने सहयोग मात्र नभई मानव–मानवबीचको साझा जिम्मेवारी र सेवाभावको अभिव्यक्ति भएको बताउनु भयो । उहाँले मानवीय सहायता प्रभावकारी बनाउन संस्थागत प्रयाससँगै व्यक्तिगत सेवाभाव र सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । पृथ्वी सबै मानवको साझा घरका भएकाले मानव जाति एउटै परिवारका सदस्य भएको उल्लेख गर्दे एकअर्काको दुःख–सुखमा साथ दिनुपर्नेमा जोड दिनुभयो । उहाँले देश, क्षेत्र, समुदाय, टोल र घरका आधारमा विभाजित हुन नहुने उल्लेख गर्नुभयो ।
२२. ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’ः नेकपा सांसद विष्ट
राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले वर्तमान सरकार र युवा मन्त्रीहरूको कार्यशैलीप्रति असन्तोष व्यक्त गर्नुभएको छ । बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विष्टले सरकारले विगतका उपलब्धिहरूको अवमूल्यन गरेको, प्रशासनिक अराजकता फैलाएको र विलासितामा राज्यकोषको दोहन गरेको आरोप लगाउनु भयो । सांसद विष्टले सूचना प्रविधिको नारा दिएर सत्तामा आएका नयाँ राजनीतिक शक्ति र युवा मन्त्रीहरूले नै खरिद प्रक्रियामा अनियमितता गरेको दाबी गर्नुभयो । उहाँले भेरी लिफ्ट खानेपानी आयोजना लगायतका विकास निर्माणका काममा भइरहेको राजनीतिक हस्तक्षेप र ठेक्का रद्ध गर्ने कार्यको तत्काल छानबिन गर्न माग गर्नुभयो । युवा मन्त्रीहरूले सदनमा उत्तर दिँदा विगत ३५ वर्षलाई गाली गर्ने गरेको प्रसङ्ग उल्लेख गर्दै विष्टले इतिहासको सम्मान गर्न सुझाव दिनुभयो ।
२४. अन्तर्राष्ट्रिय फौजदारी अदालतका अध्यक्ष र वरिष्ठ वकिलमाथि अमेरिकाद्वारा प्रतिवन्ध घोषणा
संयुक्त राज्य अमेरिकाको ट्रम्प प्रशासनले नेदरल्याण्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का अध्यक्ष र एक वरिष्ठ वकिलमाथि प्रतिवन्ध लगाएको छ । आईसीसीको गतिविधिविरुद्ध वासिङ्टनले आफ्नो कडा नीतिलाई निरन्तरता दिँदै मंगलवार उक्त घोषणा गरेको हो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोद्वारा जारी विज्ञप्तिअनुसार आईसीसीका जापानी अध्यक्ष टोमोको अकाने र सेनेगलका वरिष्ठ सरकारी वकिल (सिनियर ट्रायल लयर) अब्दुलाये सेयलाई प्रतिबन्धको सूचीमा राखिएको छ । आईसीसीको क्षेत्राधिकारलाई मान्यता नदिएका देशका अधिकारीहरूलाई अनुसन्धान, पक्राउ वा अभियोजन गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको आरोप उनीहरूमाथि लगाइएको छ ।
२५. आइची–नागोया एशियाली खेलकुदका लागि टोकियोमा प्रज्वलन गरियो पहिलो दीप
सन् २०२६ मा आयोजना हुने २०औँ आइची–नागोया एशियाली खेलकुदका लागि मंगलबार टोकियोस्थित राष्ट्रिय रङ्गशालामा पहिलो दीप प्रज्वलन गरिएको छ । आगामी मशाल ¥यालीका लागि तय गरिएका श्रृंखलावद्ध दीप प्रज्वलन कार्यक्रममध्ये यो पहिलो चरण हो । एशियाली खेलकुद आयोजक समितिका अध्यक्ष एवं आइचीका गभर्नर हिदेआकी ओमुरा, जापानी ओलम्पिक समितिका अध्यक्ष सेइको हाशिमोतो लगायतका विशिष्ट अधिकारीहरूको उपस्थितिमा सो समारोह सम्पन्न भएको थियो । समारोहमा खेलाडीहरूको तर्फबाट जापानी धावक योशिहिदे किर्युले सन् १९५८ मा जापानमा पहिलो पटक आयोजना गरिएको टोकियो एशियाली खेलकुदमा प्रयोग भएको दीप पात्र (काल्ड्रन) बाट ज्वाला संकलन गरेका थिए ।
२६. इरानसँग वार्ताको कुनै सम्भावना छैनः राष्ट्रपति ट्रम्प
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग हाल कुनैपनि किसिमको संवाद वा वार्ता भइरहेको वा तय भएको कुरालाई अस्वीकार गर्नुभएको छ । मंगलवार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत जानकारी दिँदै राष्ट्रपति ट्रम्पले इस्लामिक गणतन्त्र इरानसँग वार्ताको कुनै तालिका नरहेको स्पष्ट पार्नुभएको हो । उहाँले हाल नौसैनिक नाकाबन्दी पूर्णरूपमा प्रभावकारी रहेको र रणनीतिक रूपमा महत्वपूर्ण मानिने हर्मुज जलडमरूमध्य खुला भई सञ्चालनमा रहेको बताउनु भयो । यसैगरी, ट्रम्पले समुन्द्री मार्गमा बिछ्याइएका सबै जलसुरुङहरू हटाइसकिएको वा निष्क्रिय पारिसकिएको समेत उल्लेख गरेका छन् ।
२७. कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते
अफगानिस्तानको राजधानी कावुलको पश्चिमी क्षेत्रमा रहेको एक निजी विद्यालय बाहिर भएको बम विस्फोटमा परी कैयौँ विद्यार्थी गम्भीर घाइते भएका छन् । कावुल प्रहरीका प्रवक्ता खालिद जद्रानले सोमवार राति घटनाको पुष्टि गर्दै सुरक्षा टोली घटनास्थलमा पुगिसकेको र विष्फोटबारे विस्तृत अनुसन्धान शुरु गरिएको जानकारी दिनुभयो । स्थानीय सञ्चारमाध्यमका अनुसार विद्यालय बिदा भएर विद्यार्थीहरू घर फर्किने क्रममा उक्त विस्फोट भएको थियो । घाइते हुनेहरूमा अधिकांश छात्राहरू रहेका छन् । एक प्रत्यक्षदर्शीकाअनुसार विष्फोटमा परी घाइते भएका करिब ३० जनालाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । घटनाको हालसम्म कुनैपनि समूहले जिम्मेवारी लिएको छैन ।
२८. जाम्बियाको राष्ट्रपतिमा हाकाइन्डे हिचिलेमा पुनः निर्वाचित
जाम्बियाको राष्ट्रपति पदका लागि भएको निर्वाचनमा वर्तमान राष्ट्रपति हाकाइन्डे हिचिलेमा पुनः निर्वाचित हुनुभएको छ । जाम्बियाको निर्वाचन आयोग (ईसीजेड) ले मंगलबार बिहान आधिकारिक नतिजा सार्वजनिक गर्दै हिचिलेमाको विजयको घोषणा गरेको हो । आयोगका अध्यक्ष म्वाङ्गाला जालुमिसले राजधानी लुसाकास्थित राष्ट्रिय निर्वाचन परिणाम केन्द्रबाट सत्तारुढ ‘युनाइटेड पार्टी फर नेशनल डेभलपमेन्ट’ का उम्मेदवार हिचिलेमा निर्वाचित भएको घोषणा गर्नुभयो । निर्वाचन आयोगको तथ्याङ्कअनुसार हिचिलेमाले २९ लाखभन्दा बढी सदर मत प्राप्त गर्नुभएको छ ।
२९. टर्कीको सिभास प्रान्तमा मिनीबस दुर्घटनाः चार जनाको मृत्यु, १० घाइते
टर्कीको मध्य भागमा पर्ने सिभास प्रान्तमा मंगलवार एउटा यात्रुवाहक मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । सिभास प्रान्तको सुसेहरी जिल्लास्थित डी–८६५ राजमार्गमा उक्त दुर्घटना भएको हो । सिभास गभर्नरको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार, सिभासबाट सुसेहरीतर्फ जाँदै गरेको मिनीबस दिउँसो करिव १२ः३० बजे एल्मासेकी–चोकराक गाउँ क्षेत्रमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटनाग्रस्त भएको थियो । अनियन्त्रित भएको बस सडकको छेउमा रहेका ब्यारियरमा ठोक्किएर भीरबाट तल खसेको टर्किस सञ्चारमाध्यम हाबेर टर्कले जनाएको छ । दुर्घटनाका समयमा सवारी साधनमा कुल १४ जना सवार थिए । मृत्यु हुने चार जनाबाहेक घाइते १० मध्ये चार जनाको अवस्था गम्भीर रहेको र अन्य ६ जना सामान्य घाइते भएको बताइएको छ ।
३०. ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक
काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको वास्तविक अवस्था जानकारी लिन सकिने ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ मोबाइल एप सार्वजनिक गरिएको छ । संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को बुधवार बसेको तेस्रो बैठकमा परिषद्का अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले एप सार्वजनिक गर्नुभएको हो । एपमार्फत जीपीएस जडान गरिएका सार्वजनिक सवारी साधनको स्थान तथा यात्रुले पर्खिरहेको स्थानमा सवारी पुग्न लाग्ने समयबारे जानकारी लिन सकिनेछ । एपमा हालसम्म एक हजार दुई सय सवारीसाधन जोडिएका छन् । बैठकमा अध्यक्ष डंगोलले उपत्यकाको सार्वजनिक यातायात सुधारका लागि स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । यातयात क्षेत्रको सुधार गर्न साझा पहल र वित्तीय साझेदारी आवश्यक रहेको उहाँको भनाई छ । यातायात क्षेत्रको सुधार कुनै एक पालिका वा स्थानीय तहले मात्र गर्न नसक्ने उहाँले बताउनु भयो । उहाँले पाईलटिङका रुपमा शुरु गरेको रात्रीकालिन बस सेवा सफल भएको उल्लेख गर्दै सेवाको विस्तार आवश्यक रहेको बताउनु भयो ।
३१. ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा
क्षमताभन्दा बढी सामग्री बोकेका मालवाहक सवारीका कारण कलंकी–नागढुङ्गा सडकमा क्षति बढेको छ ।
सडक विभागकाअनुसार ओभरलोडका कारण सडकमा क्षति पुगेर आयु घट्दै गएको हो । सडकमा बालुवा लगायतका सामाग्री बोक्ने सवारीले पानी चुहाउने गरेका कारण दुर्घटनाको जोखिम समेत बढाएको काठमाडौं सडक डिभिजन कार्यलयका प्रमुख सुवोध देवकोटाले बताउनु भयो । उहाँकाअनुसार कलंकीदेखि नागढुङ्गासम्मको सडकमा छ महिना अगाडि मात्रै ओभरले गरिएको हो । उहाँकाअनुसार सामान्य अवस्थामा सडक कम्तीमा पाँच वर्षमा ओभरले गर्नुपर्ने हुन्छ । तर ओभरलोडका कारण अहिले दुई वर्षमै सडक मर्मत गर्नुपर्ने अवस्था आएको उहाँको भनाई छ ।
३२. मन्त्री फेरबदलको तयारी छैनः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र मन्त्री फेरबदल गर्ने कुनै तयारी नरहेको स्पष्ट पार्नुभएको छ । बुधवार सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै यस्तो बताउनुभएको हो । मन्त्रीहरुको कार्यक्षमतालाई लिएर केही प्रश्न उठेका भएपनि अहिले नै मन्त्री फेरबदल गर्ने पक्षमा आफूहरु नरहेको उहाँले बताउनु भयो । उहाँले सरकारलाई प्रश्न गर्ने अधिकार सबैसँग रहेको र रास्वपाका सांसदहरुले पनि प्रश्न सोध्ने गरेको उल्लेख गर्नुभयो । त्यसलाई मन्त्री परिवर्तनसँग जोडेर हेर्न नहुने उहाँको भनाई छ । रास्वपाभित्र प्रश्न गर्ने र त्यसको जवाफ खोज्ने परिपाटी रहेको उहाँको दाबी छ । सभापति लामिछानेले आफू र प्रधानमन्त्री बालेन्द्र साहबीच कुनै मतभेद वा विवाद नरहेको पनि बताउनु भयो ।
३४. संसदको मर्यादा कायम गर्ने जिम्मेवारी रास्वपाको हो,संसदमा मर्यादित ढङ्गले प्रश्तुत हुनुपर्छः सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदको मर्यादा कायम गर्ने जिम्मेवारी रास्वपाको भएकोले सांसदहरुले मर्यादा कायम राख्नुपर्ने बताउनुभएको छ । बुधवार सिंहदरबारमा संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले पार्टी सांसदहरु मर्यादित हुनुपर्ने बताउनुभएको हो । उहाँले ठूलो राजनीतिक दलमा धेरै सांसद हुँदा बोल्ने क्रममा एक–दुई जनाबाट विवादित अभिव्यक्ति आउन सक्ने बताउनु भयो । यसलाई समग्र पार्टीको धारणा भनेर बुझ्न नहुने उहाँको भनाई छ । उहाँले पछिल्लो समय संसदमा पार्टीका सांसदहरूको प्रस्तुति, उठाइने विषय र सरकारका कामकारबाहीबारे आएका प्रश्नमाथि बुधवार सांसदहरुसंग आन्तरिक छलफल गरेको जानकारी दिनुभयो ।
३५. एमाले सांसदले ‘चिट्ठामा रमाउने सरकार आँखा खोल’ भन्दा सांसद तामाङले जनाइन् आपत्ति
नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकार चिट्ठामा रमाइरहेको टिप्पणी गरेपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नियमापत्ति जनाउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा एमाले सांसद सिद्धिकीले सरकार चिट्ठामा रमाइरहेको टिप्पणी गर्नुभएको थियो । उहाँले सरकारले शुरुवाती सयमा दिनमा सम्पन्न गर्ने भनि ल्याएको एक सय बुँदे कार्ययोजनाको गम्भीर समीक्षा गर्नुपर्ने समेत बताउनु भयो । उहाँले सार्वजनिक हितमा रहेर कार्यसम्पदान गर्नु सरकारको पहिलो कर्तव्य र दायित्व भएको टिप्पणी समेत गर्नुभयो ।
सांसद खातुनले भन्नुभयो, ‘राजनीति भनेको केवल शक्ति र सत्ता प्राप्त गर्नु मात्र होइन, चुनावमा होमिएर केवल जितहार प्राप्त गर्नुमात्र पनि होइन । चुनावको माध्यमबाट सरकार चलाउनु पनि हो । होइन र सरकार ? नागरिकको असल र सुखि जीवन सुनिश्चित गर्नु हो । सार्वजनिक हितमा रहेर कार्य गर्नु यो सरकारको पहिलो दायित्व र पहिलो कर्तव्य पनि हो । सरकारले ल्याएको सय दिनमा गर्ने भनेर ल्याएको एक सय बुँदाको समीक्षा गर्नुहोस् । कति पास भयो ? कति फेल भयो ? जिम्मेवारी सरकारको हो । चिट्ठामा रमाउने सरकार अब त आँखा खोल । जनातको पीडा बुझ्ने चमेली बन ।’
३६. कानून बनाएर मात्र बालश्रम अन्त्य हुँदैन, मुलुकबाट गरिबी र बेरोजगारी हटाउनतर्फ सरकारले ध्यान दिनुपर्छः सांसदहरु
प्रतिनिधि सभाका सांसदहरुले मुलुकमा विद्यमान बालश्रम अन्त्य गर्नका लागि गरिबी निवारणसँगै कानूनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ । सभाको बुधवारको बैठकमा बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागि सांसदहरुले यस्तो धारणा राख्नुभएको हो । विधेयकमाथिको छलफलमा सहभागि हुँदै नेकपा (एमाले)का सांसद गुरु बरालले गरिबी, अशिक्षा तथा सामाजिक र सांस्कृतिक अवस्थाका कारण बालबालिका श्रममा संलग्न हुन बाध्य हुने गरेको बताउनु भयो । बालश्रम नियन्त्रणका लागि मुलुकमा गरिबी र बेरोजगारी अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले परिवारको जीविकोपार्जनका लागि अभिभावकले बालबालिकालाई श्रममा लगाउने तथा कतिपय बालबालिका परिवारलाई जानकारी नदिई घर छाडेर श्रम गर्न बाध्य हुने अवस्था समाजमा रहेको बताउनु भयो । उहाँले गरिबीको रेखामुनि रहेका परिवारमा आर्थिकसँगै सामाजिक र सांस्कृतिक रूपमा बालबालिकालाई श्रममा आबद्ध गराउने प्रवृत्ति अन्त्य गर्नेगरी विधेयकलाई समृद्ध बनाउनुपर्ने बताउनु भयो ।
३७. जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद एमाले
नेकपा (एमाले)का सांसद यज्ञबहादुर बोगटीले जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर नबनेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले अछाममा जंगली बँदेलको आक्रमणमा परि पटक–पटक नागरिक घाइते भइरहेकाच घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदा पनि सरकार गम्भीर नबनेको बताउनु भयो । जंगली बँदेलले किसानको बालीनालीमा क्षति पु¥याउने मात्र नभई मानिसको ज्यान लिनेसम्मका घटना भइरहेकाले तत्काल रोकथामका उपाय अपनाउन सरकारको ध्यानाकर्षण गराउनु भयो । सांसद बोगटीले बुधवार बिहान मात्रै बँदेलको आक्रमणमा परी अछाममा थप पाँच जना घाइते भएको समेत उल्लेख गर्नुभयो । बाँदर र बँदेलले खेतीबाली नष्ट गरिदिँदा किसानहरु हैरान भएको तथा विस्थापित हुनुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।
३८. प्रधानमन्त्रीसहित सरकार पुनर्गठनका लागि पहल गर्न रास्वपा सभापति लामिछानेलाई एमालेको आग्रह
नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्रीसहित सरकारको तत्काल पुनर्गठनका लागि पहल गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको निकाशका लागि तीन वटा विकल्पन रहेकोमा अब सरकारको पुनर्गठनको विकल्प नरहेको टिप्पणी गर्नुभयो । उहाँले तत्काल सरकार पुनर्गठन नगरिए राष्ट्रियता, लोकतन्त्र र जनजीविका पुनःस्थापनाका चारैदिशाबाट अकल्पनीय जनसुनामी आउने चेतावनी समेत दिनुभयो । उहाँले वर्तमान सरकार सरकार पाकिस्तानी मोडलमा सञ्चालन भइरहेको र विस्तारै उत्तर कोरियाली मोडलतर्फ अघि बढिरहेको आरोप पनि लगाउनु भयो ।
३९. बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग
प्रतिनिधि सभाका सांसदहरुले बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि निर्मम हत्या भएको घटनाको सत्यतथ्य छटानविन गरी दोषिलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरुले यस्तो माग गरेका हुन् । बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद डा. शाहजान खातुनले ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटना मानवतामाथिको कलंक भएको बताउनु भयो । उहाँले हाम्रो छोरीहरु कहाँ सुरक्षित छन् ? भन्दै सरकारलाई प्रश्न समेत गर्नुभयो । सांसद खातुनले बलात्कारजस्ता जघन्य अपराधका घटनामा कानून बनाएर मात्र नपुग्ने भन्दै त्यसको कठोर कार्यान्वयन गर्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले छोरीको जीवनभन्दा ठूलो केही नहुने भन्दै अपराधीलाई, उमेर, लिंग वा शक्तिका आधारमा उम्किन दिन नहुने बताउनु भयो ।
४०. बालबालिकामा बढ्दो स्मार्टफोनको लत रोक्न अभिभावकलक्षित सचेतनामूलक कार्यक्रम सञ्चालनको माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ललिता कुमारीले बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रणका लागि अभिभावकलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गर्नुभएको छ । रोल...
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले बालबालिका रोए, हाँसे वा खाना खुवाउने क्रममा मोबाइल दिने प्रवृत्ति बढेको भन्दै यसले बालबालिकाको बालापन नै स्क्रिनको जिम्मामा पुगेको बताउनु भयो । उहाँले बालबालिकाको संवेदनशील अवस्थासमेत भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने तथा भ्युजका लागि बनावटी व्यवहार सिकाउने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । अत्यधिक स्क्रिन टाइमले बालबालिकामा विकाससम्बन्धी समस्या देखिन सक्ने उल्लेख गर्दै उहाँले मोबाइलको बढ्दो प्रयोग नियन्त्रणका लागि अभिभावकलाई सचेत गराउने कार्यक्रम सञ्चालन गर्न माग गर्नुभयो ।
४१. बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रम सम्बन्धी विधेयकमा कुनैपनि किसिमको विरोधाभास नरहेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा मन्त्री यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रश्तावमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफमा उक्त कुरा बताउनुभएको हो । विधेयकका प्रावधानबारे प्रष्ट पार्दै उहाँले जोखिमयुक्त र शोषणमूलक कार्यलाई पूर्ण रूपमा निषेध गरिएको र बालबालिकालाई नकारात्मक असर नपु¥याउने सुरक्षित प्रकृतिका कार्यहरूलाई मात्र नियमन गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार यो अभ्यास विश्वव्यापी मान्यतामा आधारित रहेको छ ।
४२. बालेन्द्र नेतृत्वको सरकारको छोटो अवधिमै राष्ट्रियता, लोकतन्त्र र जनजीविकामाथि गम्भीर संकट उत्पन्न भयोः एमाले
नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापाले बालेन्द्र साह नेतृत्वको सरकारका कारण छोटो अवधिमै राष्ट्रियता, लोकतन्त्र र जनजीविकामाथि गम्भीर संकट उत्पन्न भएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले सरकारको विदेश नीति र राष्ट्रिय सुरक्षा रणनीतिमा समेत विचलन देखिएको आरोप लगाउनु भयो । उहाँले सरकारले तिब्बतीयन आध्यात्मिक संगठन (टीओबी) तथा पश्चिमी कुटनीतिज्ञलाई दलाई लामाको जन्मोत्सवका नाममा राजनीतिक गतिविधि गर्न अनुमति दिएको आरोप पनि लगाउनु भयो । नेता थापाले तिब्बती गुम्बाहरूमा ठूलो मात्रामा शक्ति सञ्चय भइरहेको दाबीसमेत भइरहेको उल्लेख गर्दै गत भदौमा लुटिएका हतियारसमेत त्यहाँ लुकाइएको हुनसक्ने टिप्पणी हुने गरेको बताउनु भयो । उहाँले गत वर्षको २४ भदौदेखिको ध्वंसात्मक गतिविधि वस्तुगत रुपमा हालसम्म पनि जारी रहेको टिप्पणी समेत गर्नुभयो । उहाँले सत्तारुढ दल रास्वपाको आन्तरिक शक्ति संघर्षले मुलुक बहुआयामिक चुनौतीको सामाना गर्ने खतरातर्फ धकेलिनसक्ने आशंका समेत व्यक्त गर्नुभयो ।
४३. लागुऔषध दुव्र्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालले कैलालीमा लागुऔषध दुव्र्यसनी भयावह बन्दै गएको भन्दै त्यसको नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले कैलालीको खुला सीमा र जंगली क्षेत्रमा लागुऔषधको कारोेबार हुने गरेको उल्लेख गर्नुभयो । उहाँले लागु औषध दुव्र्यसनका कारण हजारौँ युवाहरुको जीवन बर्बाद भइरहेकोतर्फ सरकारको ध्यान जान जरुरी रहेको बताउनु भयो । लागुऔषध दुव्र्यशनीमा फसेका युवाहरुका कारण समाजमा चोरी, डकैती, झैझगडा, लुटपाट जस्ता घटनामा भएको भन्दै उहाँले त्यसको नियन्त्रणकाल लागि गृह मन्त्रालयको ध्यानाकर्षण गराउनु भयो ।
४४. स्थानीय तह निर्वाचनमा प्रवासी नेपालीले मतदान गर्न पाउनेगरी काम थाल्न रास्वपाद्वारा सरकारको ध्यानाकर्षण
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले रोजगारीको सिलसिलामा विदेश गएका नेपालीहरुले आगामी स्थानीय तहको निर्वाचनमा मतदात गर्न पाउनुपर्ने माग गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले रास्वपाको क्यान्डिडेट क्लवमा विश्वभरीका पार्टी कार्यकर्तामार्फत उम्मेदवार चयन गर्ने प्रक्रियाको शुभारम्भ भएको उल्लेख गर्दै प्रवासमा रहेका नागरिकले समेत आउँदो स्थानीय तहको निर्वाचनमा मत हाल्न पाउनुपनेृ बताउनु भयो । महामन्त्री आचार्यले विदेशमा रहेका नागरिकको नोट चल्ने तर भोट नचल्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने पार्टीको नीति रहेको समेत बताउनु भयो । उहाँले स्थानीय तहको निर्वाचनमा संसारभर रहेका नेपाली नागरिकले मतदान गर्ने कुराको सुनिश्चित हुनेगरी काम गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनु भयो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij