Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू


  • 652
    Shares

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
    images

    काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक वृद्धि गर्नेसहित विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन्।

    अर्थ मन्त्रालयको प्रस्तावमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधारसम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड जापानी येन अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ। 

    परराष्ट्र मन्त्रालयअन्तर्गत एसियन डिजास्टर प्रिपेडनेस सेन्टरको सब -सेन्टर शाखा नेपालमा स्थापना गर्न स्वीकृति दिइएको छ। संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गरिएको छ।

    शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावअनुसार प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि सङ्घीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक रु ५ हजारका दरले वृद्धि गर्ने निर्णय भएको छ। 

    माध्यमिक तह (कक्षा ९–१०) र आधारभूत तह (कक्षा ६–८) मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

    गृह मन्त्रालयको प्रस्तावमा २०८३ भदौ ४ र ५ गते भारतमा आयोजना हुने ‘ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्ट’को १४औँ बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिव नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय भएको छ। 

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल सरकार र साउदी अरेबियाबिच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति दिइएको छ।

    यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश २०८३ स्वीकृत भएको छ। भुक्तानी तथा फर्छ्यौट ऐन २०७५ र नागरिक लगानी कोष ऐन २०४७ लाई संशोधन गर्न बनेका विधेयकहरू सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय भएको छ। 

    प्रशासनतर्फ सहसचिव कमल प्रसाद भट्टराईलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव पदमा पदस्थापन गरिएको छ।

     

    images
    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - १७:४८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij