२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र मन्त्री फेरबदल गर्ने कुनै तयारी नरहेको स्पष्ट पारेका छन् । बुधवार सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै यस्तो बताएका हुन् ।
मन्त्रीहरुको कार्यक्षमतालाई लिएर केही प्रश्न उठेका भएपनि अहिले नै मन्त्री फेरबदल गर्ने पक्षमा आफूहरु नरहेको उनले बताएका छन् । उनले सरकारलाई प्रश्न गर्ने अधिकार सबैसँग रहेको र रास्वपाका सांसदहरुले पनि प्रश्न सोध्ने गरेको उल्लेख गरेका छन् । त्यसलाई मन्त्री परिवर्तनसँग जोडेर हेर्न नहुने उनको भनाई छ ।
रास्वपाभित्र प्रश्न गर्ने र त्यसको जवाफ खोज्ने परिपाटी रहेको उनको दाबी छ । सभापति लामिछानेले आफू र प्रधानमन्त्री बालेन्द्र साहबीच कुनै मतभेद वा विवाद नरहेको पनि बताएका छन् । उनले दुई नेताबीच विवाद रहेको समाचारले आफूहरूलाई झन् नजिक ल्याउने टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘एक्लै लडिरहेको छु’ भनेर लेखेका विषयलाई राजनीतिक अर्थमा व्याख्या गर्न नहुने पनि बताएका छन् । प्रधानमन्त्री कलाकार र कवि पनि भएकाले उनको अभिव्यक्तिका प्रत्येक शब्दमा राजनीतिक अर्थ खोज्न आवश्यक नरहेको उनको भनाई छ ।
उनले भने, ‘प्रश्नहरू आउनु भनेको स्वाभाविक हो, त्यसलाई हामी अस्वाभाविक लिँदैनौँ । रास्वपाभित्र आफ्नै दल भएपनि हामी प्रश्नहरू सोध्ने गरेका छौँ, तपाईँले देख्दै आउनुभएको छ, हामी गर्छौँ प्रश्न गर्ने हाम्रो एउटा परिपाटी पनि छ । त्यसैलाई नै सम्बोधन गर्नको निमित्त हामीले यो छलफल राखेका हौँ । यसको अर्थ कुनै मन्त्री फेर्ने बिल्कुल छैन । कुनै त्यस्तो तयारी पनि छैन । त्यस्तो कुनै छलफल पनि छैन ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij