२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौं । क्षमताभन्दा बढी सामग्री बोकेका मालवाहक सवारीका कारण कलंकी–नागढुङ्गा सडकमा क्षति बढेको छ । सडक विभागकाअनुसार ओभरलोडका कारण सडकमा क्षति पुगेर आयु घट्दै गएको हो ।
सडकमा बालुवा लगायतका सामाग्री बोक्ने सवारीले पानी चुहाउने गरेका कारण दुर्घटनाको जोखिम समेत बढाएको काठमाडौं सडक डिभिजन कार्यलयका प्रमुख सुवोध देवकोटाले बताए । उनकाअनुसार कलंकीदेखि नागढुङ्गासम्मको सडकमा छ महिना अगाडि मात्रै ओभरले गरिएको हो । उनकाअनुसार सामान्य अवस्थामा सडक कम्तीमा पाँच वर्षमा ओभरले गर्नुपर्ने हुन्छ । तर ओभरलोडका कारण अहिले दुई वर्षमै सडक मर्मत गर्नुपर्ने अवस्था आएको उनको भनाई छ ।
सडकको अवस्था र ओभरलोडसम्बन्धी गुनासो आएपछि विभागले मंगलवार राती अनुगमन गरेको थियो । अनुगमनका क्रममा कतिपय ट्रकले सडकमा पानी चुहाउँदै हिँड्ने तथा तोकिएको क्षमताभन्दा बढी भार बोकेको भेटिएको उनले बताए । उनकाअनुसार मालबाहक सवारीको एउटा एक्सलको सडक क्षमता १० टन भएपनि अनुगमनका क्रममा सिंगल एक्सलका ट्रकले १२ देखि १३ टनसम्म र डबल एक्सलका ट्रकले २५ टनसम्म भार बोकेर हिँड्ने गरेको पाइएको छ ।
कतिपय ट्रकमा यातायात व्यवस्था कार्यालयबाट स्वीकृत मापदण्डभन्दा ठूलो ढल्ला बनाइएको समेत भेटिएको उनले जानकारी दिए । सडकमा पानी चुहिँदा सतह चिप्लो हुने र त्यसका कारण मोटरसाइकल तथा अन्य सवारीको ब्रेक प्रभावकारी हुन नसक्ने दुर्घटनाको जोखिम पनि बढेको उनले बताए ।
ओभरलोड नियन्त्रणका लागि सडक विभागले जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी कारबाही प्रक्रिया अघि बढाउने विभागले जनाएको छ । सडक विभागसँग आफैं कारबाही गर्ने अधिकार नभएकाले सम्बन्धित निकायको समन्वयमा नियमन गर्नुपर्ने देवकोटाको भनाइ छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij