२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौं । सर्वोच्च अदालत प्रशासनले रिट दर्ता गर्न अस्वीकार गरेपछि अधिवक्ता डा। प्रेमराज सिलवालले प्रधानन्यायाधीशसमक्ष हुलाकमार्फत निवेदन पेस गरेका छन् ।
अदालतको संयुक्त इजलासको आदेशलाई प्रशासनिक टिप्पणीका आधारमा उल्ट्याउन खोजिएको र नयाँ रिट दर्ता गर्न नदिएको भन्दै उनले हुलाकमार्फत निवेदन पठाएका हुन् ।
अधिवक्ता सिलवालका अनुसार २०८३ साल असार २६ गते संयुक्त इजलासले दुई वटा रिट निवेदनलाई ‘पूर्ण इजलास’ मा पेस गर्ने आदेश दिएको थियो । तर, सर्वोच्च प्रशासनले प्रशासनिक टिप्पणी र आदेशमार्फत उक्त मुद्दालाई ‘संवैधानिक इजलास’ मा पठाउने निर्णय गरेपछि विवाद उत्पन्न भएको हो ।
सिलवालले आफ्नो निवेदनमा भनेका छन्, संयुक्त इजलासको आदेश अनुसार पूर्ण इजलासमा पठाउनुपर्नेमा प्रशासनले सिधै टिप्पणी उठाएर संवैधानिक इजलासमा पठाउने निर्णय गर्नु न्यायिक आदेशको प्रतिकूल हो ।
न्यायिक इजलासले गरेको आदेशलाई प्रशासनिक निर्णयले बदर वा परिवर्तन गर्न मिल्दैन । यसै सन्दर्भमा, संवैधानिक इजलासको गठन वरिष्ठता वा गोला प्रथाको आधारमा मात्र हुनुपर्ने माग राख्दै उनले भदौ १ गते पुनः दुई वटा रिट निवेदन पेस गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij