Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

आज दिनभरको ४७ खबर (छोटकरीमा)

आज दिनभरको ४७ खबर (छोटकरीमा)


  • 1.1K
    Shares

    आज दिनभरको ४७ खबर (छोटकरीमा)
    images

    १. हामी गोली खान तयार छौँ तर सरकारका गलत कार्यमा समर्थन गर्दैनौँः सांसद खातुन

    नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकारका गलत क्रियाकलापमा प्रतिपक्षले कहिल्यै समर्थन नगर्ने स्पष्ट पार्नुभएको छ । मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारको कार्यशैली र सत्तापक्षका सांसदहरूको व्यवहारप्रति आपत्ति जनाउनुभएको हो । बैठकमा बोल्दै सांसद खातुनले सत्तापक्षबाट धम्कीपूर्ण भाषा प्रयोग भएको आरोप लगाउँदै त्यसको प्रतिवाद गर्नुभयो । मुलुकमा व्याप्त भनिएको गुण्डाराजका विषयमा टिप्पणी गर्दै उहाँले सरकारकै संरक्षणमा त्यस्ता गतिविधिहरू भइरहेको दाबी गर्नुभयो । 

    २. स्वास्थ्य बीमा के गरेर हो, कसरी हो सञ्चालनमा ल्याइदिनुप¥यो नागरिकहरु बिचल्लीमै परिसकेः सांसद न्यौपाने

    सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु न्यौपानेले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह क्षेत्रमा निर्माण गर्न लागिएको फोहोर प्रशोधन केन्द्रको विरोध गर्दै जनस्वास्थ्यमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद न्यौपानेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रसूति गृहको पछाडि बाटो नै ढाकेर फोहोर प्रशोधन केन्द्र निर्माण भइरहेकोमा आपत्ति जनाउनुभएको हो । 

    ३. स्पष्ट ऊर्जा नीतिको अभावमा देश ग्यासको परनिर्भरतामा अल्झिएको सांसद न्यौपानेको दाबी

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले जलविद्युतको प्रचुर सम्भावना भएको देशमा खाना पकाउने ग्यासको अभाव हुनु र परनिर्भर रहनु विडम्बनापूर्ण रहेको बताउनुभएको छ । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले देशलाई स्वच्छ विद्युतीय भान्सातर्फ डोहो¥याउन स्पष्ट ऊर्जा नीति, कानून र सोचको अभाव रहेको उल्लेख गर्नुभयो । सांसद न्यौपानेले ९५ प्रतिशत नेपाली भान्सालाई आयातित ग्यास, दाउरा र गुइँठाबाट मुक्त गराई विद्युतीय ऊर्जातर्फ लैजानुपर्नेमा जोड दिनुभयो ।

    ४. सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको छः सांसद केरुङ

    प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सरकार जनसरोकारका विषयमा संवेदनशील नभएको र अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ । मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केरुङले देशभर फैलिएको प्राकृतिक विपद्, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाउनुभएको हो । बैठकमा विशेष समय लिएर बोल्दै सांसद केरुङले जाजरकोट, बाजुरा, रोल्पा लगायतका जिल्लामा बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्नुभयो ।

    ५. सरकार जनसरोकारका मुद्दामा गैरजिम्मेवार बनेको अध्यक्ष राईको आरोप

    श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको भन्दै आलोचना गर्नुभएको छ । मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले सरकारका विभिन्न मन्त्रालयहरूको कार्यसम्पादन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाउनुभएको हो । सांसद राईले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरूसम्मले आ–आफ्नो जिम्मेवारी वहन गर्न नसकेको टिप्पणी गरे। उनले सीमा रक्षा, शान्ति सुरक्षा, मल तथा खाद्यान्न आपूर्ति, रोजगारी सिर्जना र महँगी नियन्त्रण जस्ता आधारभूत विषयमा सरकार असफल रहेको दाबी गर्नुभयो ।

    ६. सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन

    प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङलाई सभाको मर्यादामा रहन निर्देशन दिनुभएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले दिनुभएको जवाफमा चित्त नबुझेको भन्दै थप स्पष्टीकरण माग गरेपछि उत्पन्न विवादका क्रममा सभामुखले उक्त निर्देशन दिनुभएको हो । बैठकमा सांसद तामाङले केही दिनअघि उठाएका विषयमा परराष्ट्रमन्त्री खनालले जवाफ दिनुभएको थियो । मन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै सांसद तामाङले प्रश्न गर्नका लागि समय माग गर्नुभयो । 

    ७. सत्तारुढ सांसद धितालले भनिन्–‘सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ’

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक एवं सांसद क्रान्तिशिखा धितालले रोल्पामा बाढी र पहिरोका कारण उत्पन्न भयावह स्थिति र जिल्लाको समग्र दुरावस्थाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद धितालले रोल्पाका थबाङ, सुनछहरी र लुङग्री क्षेत्रमा प्राकृतिक विपदका कारण हालसम्म १७ जनाको मृत्यु भइसकेको र केही नागरिक अझै बेपत्ता रहेको जानकारी दिनुभयो । उहाँले मान्छेको अमूल्य ज्यानलाई केवल अङ्कमा मात्र सीमित राखिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । 

    ८. सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई

    श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले वर्तमान सरकारको कार्यशैली र सत्ता पक्षीय सांसदहरूको भुमिकाप्रति टिप्पणी गर्नुभएको छ । मंगलवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले सत्ता पक्षकै सांसदहरू सरकारमाथि बढी आक्रामक देखिएको उल्लेख गर्दै यसले प्रतिपक्षको भुमिका ओझेलमा पर्न थालेको बताउनुभएको हो । उहाँले सत्ता पक्षका सांसदहरूले आफ्नै सरकारका मन्त्री र प्रधानमन्त्रीसँग प्रभावकारी समन्वय गरेर जनहितका काममा लाग्नुपर्नेमा जोड दिनुभयो । 

    ९.सङ्खुवासभा र उदयपुरमा विद्युत् तथा सञ्चार सेवाको समस्या समाधान गर्न सांसद लिम्बूको माग

    श्रम संस्कृति पार्टीका सांसद पूर्णप्रसाद लिम्बूले सङ्खुवासभा र उदयपुर जिल्लाका विभिन्न क्षेत्रमा विद्युत तथा सञ्चार सेवाको पहुँच विस्तार र मर्मतका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 
    मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद लिम्बूले अविरल वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिकामा विद्युत् प्रसारण लाइन र सञ्चार टावरहरूमा गम्भीर क्षति पुगेको बताउनु भयो ।

    १०. वैदेशिक रोजगारीमा रहेका नेपालीको समस्या समाधानका लागि संसदीय छानबिन समिति गठन गर्न माग

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता एवं सांसद ज्ञानबहादुर शाहीले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी र विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धारका लागि तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ । मंगलवारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद शाहीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको अवस्था दयनीय बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । 

    ११. विपद् व्यवस्थापन र जनसरोकारका मुद्दामा सरकार गैरजिम्मेवार भयोः वर्षमान पुन

    नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले मुलुकमा बढ्दो मनसुनजन्य विपद् व्यवस्थापन, जनसरोकारका समस्या र सरकारको कुटनीतिक कमजोरीका विषयमा प्रश्न उठाउनुभएको छ । मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहनुभएका पुनले सरकारले जनताका आधारभूत आवश्यकता सम्बोधन गर्नुको साटो राज्यशक्तिको दुरुपयोग गरिरहेको आरोप लगाउनुभएको हो । संसद पुनले जाजरकोट, रोल्पा र बागलुङ लगायतका जिल्लाहरूमा विपद्का कारण ठूलो क्षति भएपनि उद्धार, पुनस्र्थापना र पुनर्निर्माणको कार्य सुस्त रहेको बताउनु भयो ।

    १२. विद्युत निर्यात र आन्तरिक वितरण प्रणालीबारे संसदमा मन्त्री श्रेष्ठको प्रष्टीकरणः पूर्वाधार सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता

    ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देशको ऊर्जा प्रणालीमा देखिएका समस्या समाधान र वितरण प्रणालीको सुदृढीकरण सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । 
    प्रतिनिधि सभाको मंगलवारको बैठकमा सांसदहरूले सोधेका मौखिक प्रश्नहरूको उत्तर दिँदै मन्त्री श्रेष्ठले विद्युत निर्यातसँगै आन्तरिक आपूर्तिलाई गुणस्तरीय बनाउन मन्त्रालय गम्भीर रहेको उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०८२÷८३ मा नेपालले विद्युत निर्यातबाट २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको बताउनु भयो ।

    १३. विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार

    परराष्ट्रमन्त्री शिशिर खनालले विदेशस्थित नेपाली नियोगहरूका लागि आफ्नै भवन निर्माण गर्ने कार्यलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको जानकारी दिनुभएको छ । मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद निष्कल राईले सोध्नुभएको प्रश्नको उत्तर दिँदै मन्त्री खनालले विभिन्न देशमा जग्गा खरिद गरिए पनि कानूनी जटिलताका कारण भवन निर्माण हुन नसकेको र अब ती समस्या समाधान हुँदै गएको स्पष्ट पार्नुभयो । 

    १४. विकासको प्राथमिकता भौतिक पूर्वाधार मात्र नभई उत्पादन र रोजगारी हुनुपर्छः सांसद कार्की

    प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद प्रकाश सिंह कार्कीले सरकारले उद्योग सञ्चालन गर्ने नभई निजी क्षेत्रलाई लगानी र उद्योग सञ्चालनका लागि उपयुक्त वातावरण निर्माण गरिदिनुपर्ने बताउनुभएको छ । मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले विकासको परम्परागत परिभाषा बदल्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो । बैठकमा विशेष समय लिएर बोल्दै सांसद कार्कीले सडक, पुल, सुरुङ र विमानस्थल जस्ता भौतिक पूर्वाधारको निर्माण आवश्यक भएपनि ती पूर्वाधारले नेपाली उत्पादन र रोजगारीमा पु¥याएको योगदानको समीक्षा गर्नुपर्ने बताउनु भयो ।

    १५. लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लघुवित्त, सहकारी र मिटरब्याज पीडितका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएर समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । मङ्गलवार ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय अगाडि धर्नामा रहेका वित्तीय पीडितहरूलाई भेट्न पुग्नुभएकी भण्डारीले आन्दोलनरत महिलाहरूको स्वास्थ्य स्थितिप्रति चासो व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले पीडितका मागहरूका बारेमा जानकारी लिएको उल्लेख गर्दै यस विषयमा सरकारले गम्भीर भएर समाधानका उपाय खोज्नुपर्ने बताउनु भयो । 

    १६. राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग

    सांसदहरूले राहदानी वितरण प्रक्रियालाई आधुनिक, सुरक्षित र सरल बनाउनुपर्नेमा जोड दिँदै विद्यमान विधेयकमा रहेका केही विभेदकारी प्रावधान र सुरक्षा संवेदनशीलताका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि छलफलमा भाग लिँदै सांसद वर्षमान पुनले राहदानी प्रक्रियालाई आधुनिक बनाउने सरकारको प्रयास सकारात्मक भएपनि विधेयकमा लैङ्गिक विभेद देखिएको टिप्पणी गर्नुभयो । 

    १७. भीमफेदीमा उच्च अदालतका मुख्य न्यायाधीश सवार सवारी दुर्घटना, ६ जना घाइते

    मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा मंगलवार बिहान भएको सवारी दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश र रजिस्ट्रारसहित ६ जना घाइते भएका छन् । प्रहरीकाअनुसार काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको सरकारी स्कारपियो जिप बिहान करिव ७ बजे अनियन्त्रित भई सडकबाट करिव ६० मिटर तल खोल्सामा खसेको थियो । दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रजिस्ट्रार तारादत्त बडू, उनकी श्रीमती लक्ष्मी बडू, छोरा रितेन्द्र बडू, छोरी रिता बडू र चालक छुनिलाल चौधरी घाइते भएका छन् । 

    १८. बजारमा खाना पकाउने ग्यासको अभावः तत्काल आपूर्ति सहज बनाउन सांसदहरूको माग

    सांसदहरूले मुलुकका विभिन्न भागमा खाना पकाउने ग्यास (एलपीजी) को चरम अभाव देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको ‘शुन्य समय’ मा बोल्दै सांसदहरूले बजारमा ग्यासको अभाव हुँदा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको उल्लेख गर्दै तत्काल आपूर्ति सहज बनाउन माग गर्नुभएको हो । सांसद मोहनलाल आचार्यले सम्बन्धित मन्त्रीले सदनमा ग्यासको अभाव नरहेको दाबी गरे पनि व्यवहारमा आफ्नै जिल्ला लगायत मुलुकका धेरै भागमा अभाव कायम रहेको बताउनु भयो । उहाँले ग्यासको सहज आपूर्तिका लागि बजार अनुगमनलाई तिब्र बनाउन र कतै लुकाइएको वा कृत्रिम अभाव सिर्जना गरिएको भए त्यसको प्रभावकारी छानबिन गर्न सरकारसँग माग गर्नुभयो ।

    १९. प्रधानमन्त्री र भारतीय स्थल सेना प्रमुखबीच सिंहदरबारमा शिष्टाचार भेटवार्ता

    प्रधानमन्त्री बालेन्द्र साह र नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो । प्रधानमन्त्रीको सचिवालयकाअनुसार भेटका क्रममा दुई पक्षीय आपसी हित र सम्बन्धका विविध विषयमा छलफल भएको छ । भारतीय सेना प्रमुख सेठ चार दिने नेपाल भ्रमणका लागि आईतवार काठमाडौं आइपुग्नुभएको थियो । 

    २०. प्रतिनिधि सभाको शुन्य समयः वैदेशिक रोजगारदेखि स्वास्थ्य र सुशासनसम्मका विषयमा सरकारको ध्यानाकर्षण

    सांसदहरूले वैदेशिक रोजगारमा देखिएका विकृति, स्वास्थ्य क्षेत्रको दयनीय अवस्था, अनलाइन ठगी र सुशासन जस्ता जनसरोकारका विविध विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।  प्रतिनिधि सभाको मङ्गलवार बसेको बैठकको शुन्य समयमा बोल्दै सांसद बलावती शर्माले वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकहरूले भोग्नुपरेको समस्याप्रति चिन्ता व्यक्त गर्नुभयो । दैनिक रूपमा नेपालीहरूको शव स्वदेश भित्रिने क्रम नरोकिएको र वैदेशिक रोजगार विभागमा करिव ४६ हजार ठगीका उजुरीहरू अलपत्र परेको भन्दै उहाँले मुलुकी ऐन र वैदेशिक रोजगार ऐनमा तत्काल संशोधनको माग गर्नुभयो । 

    २१. नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाललाई युरोपेली संघ (ईयू) को ‘हवाई सुरक्षा सूची’ (एयर सेफ्टी लिस्ट) बाट हटाउन सरकारले प्राविधिक, संस्थागत र कूटनीतिक तहमा सघन प्रयास गरिरहेको जानकारी दिनुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा सांसद निस्कल राईले राख्नुभएको प्रश्नको उत्तर दिँदै मन्त्री पौडेलले सन् २०१३ देखि जारी अवरोध हटाउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनु भयो ।

    २२. निर्धारित समयमै महाधिवेशन सम्पन्न हुन्छः सभापति थापा

    नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विधान, संविधान र अदालतको आदेशानुसार तोकिएकै समयभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको छ । मंगलवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले समयको चापलाई मध्यनजर गर्दै कार्यतालिकाअनुसार अघि बढ्न निर्देशन दिनुभयो । सभापति थापाले पार्टी अहिले संवैधानिक व्यवस्था, विधान र अदालतको फैसलाले बाँधिएको उल्लेख गर्नुभयो । 

    २३. जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि

    नेपाल भाषाका प्रतिष्ठित साहित्यकार एवं जनकवि दुर्गालाल श्रेष्ठको मंगलवार अन्तिम संस्कार गरिएको छ । ९३ वर्षको उमेरमा बुढानीलकण्ठस्थित निजी निवासमा निधन भएका श्रेष्ठको काठमाडौंको शोभा भगवती घाटमा अन्त्येष्टि गरिएको हो । विगत ६ दशकदेखि साहित्य सिर्जनामा अनवरत रूपमा सक्रिय श्रेष्ठले नेपाल भाषा र नेपाली भाषा दुवैमा कविता, गीत तथा साहित्यका विभिन्न विधामा कलम चलाउनुभएको थियो । विशेष गरी नेपाल भाषाको साहित्यमा उहाँको अतुलनीय योगदान रहेको छ, जहाँ उहाँका एक दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । 

    २४. गाँजा खेतीलाई वैधानिकता दिन सांसद राईको मागः ‘यो आर्थिक समृद्धिको बलियो आधार’

    प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद राजेन्द्र कुमार राईले गाँजा खेतीलाई तत्काल कानूनी मान्यता दिन सरकारसँग माग गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले गाँजा खेतीलाई आर्थिक समृद्धिको आधारका रूपमा व्याख्या गर्दै यसका लागि आवश्यक कानून र विधि निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सांसद राईले गाँजा खेतीकै कारण आफ्नो निर्वाचन क्षेत्र धनकुटाका युवाहरू कानुनी झमेलामा परेको र जेल भरिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । 

    २५. अन्तर्राष्ट्रिय मापदण्ड र नागरिक सहजताका लागि राहदानी ऐन संशोधनः परराष्ट्रमन्त्री

    परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपाली नागरिकको आवागमनलाई सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व भएको बताउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा मंगलवार ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै यस्तो बताउनुभएको हो । मन्त्री खनालले  विधेयकमाथिको छलफलमा उठेका जिज्ञासाहरूको सम्बोधन गर्दै राहदानी केवल यात्रा अनुमति पत्र मात्र नभई नागरिक र सार्वभौम राज्यबीचको सामाजिक सम्झौताको प्रतीक भएको उल्लेख गर्नुभयो ।

    २६. ‘जेन–जी’ आन्दोलनको वार्षिकोत्सवमा प्रधानमन्त्रीको सम्बोधन माग

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले आगामी भदौ २३ गते ‘जेन–जी’ आन्दोलनको एक वर्ष पूरा हुन लागेको अवसरमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने माग गर्नुभएको छ । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा शुन्य समयमा बोल्दै सांसद खत्रीले उक्त आन्दोलनमार्फत युवाहरूले भ्रष्टाचारको अन्त्य, सुशासन र सुरक्षित भविष्यका लागि दिएको बलिदानको स्मरण गराउनु भयो । उहाँले सो दिन प्रधानमन्त्रीले सहिदहरूको सम्मानमा विशेष सम्बोधन गर्ने अपेक्षा राखेको बताउनु भयो ।

    २७. अमेरिकी–उत्तर कोरियाली सम्बन्धले अर्थपूर्ण संवादको मार्ग प्रशस्त गर्ने दक्षिण कोरियाको विश्वास

    दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ‘ब्लु हाउस’ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको सुमधुर सम्बन्धले कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताका लागि अर्थपूर्ण संवाद र छलफलको वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरेको छ । उत्तर कोरियाली नेता किमसँगको राम्रो सम्बन्धलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्पले आईतवार पेन्टागनलाई उल्ची फ्रिडम शिल्ड (यूएफएस) सैन्य अभ्यासमा उल्लेख्य कटौती गर्न निर्देशन दिएपछि ब्लु हाउसको यस्तो प्रतिक्रिया आएको हो । 

    २८. इण्डोनेसियामा शक्तिशाली भूकम्पः मृतकको संख्या ५४ पुग्यो

    इण्डोनेसियाको इस्ट नुसा टेन्गारा (एनटीटी) प्रान्तमा गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ५४ पुगेको छ । राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) ले सोमवार यसको पुष्टि गरेको हो । बीएनपीबीका प्रमुख सुहर्यान्तोकाअनुसार अधिकारीहरूले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी राखेका छन् । उद्धार टोलीले भूकम्पमा परी घाइते भएका सयौँ मानिसहरूलाई उपचारका लागि सहायता प्रदान गरिरहेको छ । 

    २९. इरानसँगको प्रश्तावित सम्झौतामा अमेरिकी राष्ट्रपति ट्रम्पको असहमतिः परमाणु हतियार निर्माणको अनुमति दिन सकिँदैन

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अमेरिकासँग सम्झौता गर्न इच्छुक भएपनि आफूले राखेका शर्तहरू मान्न तयार नभएको बताउनुभएको छ । दुई देशबीच तय गरिएको ६० दिने वार्ताको समयसीमा समाप्त भएसँगै राष्ट्रपति ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो । सोमवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानलाई कुनै पनि हालतमा परमाणु हतियार निर्माण गर्न नदिने आफ्नो मुख्य अडान दोहो¥याउनु भयो । 

    ३०. दक्षिण कोरियाको सत्तारुढ दलको अध्यक्षमा पूर्वप्रधानमन्त्री किम निर्वाचित

    दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री किम मिन–सुक सत्तारुढ डेमोक्रेटिक पार्टीको नयाँ अध्यक्षमा निर्वाचित भएका छन् । सोमवार सम्पन्न निर्वाचनको नतिजाअनुसार किम पार्टीको नेतृत्व चयन प्रक्रियामा विजयी भएका हुन् । नेतृत्वका लागि भएको प्रतिस्पर्धामा किमले कुल ५४.०८ प्रतिशत मत प्राप्त गर्दै शिर्ष स्थान सुरक्षित गरे । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी जुङ चुङ–रेलाई पराजित गरेका हुन्, जसले ४५.९२ प्रतिशत मत प्राप्त गरे । जुङ पार्टी प्रमुखका रूपमा दोस्रो कार्यकालका लागि चुनावी मैदानमा थिए । 

    ३१. दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास व्यापक रूपमा कटौती गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा व्यापक कटौती गर्न रक्षा मन्त्रालय (पेन्टागन) लाई निर्देशन दिनुभएको छ । सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत राष्ट्रपति ट्रम्पले दक्षिण कोरियासँगको अभ्यासमा अमेरिकाको तर्फबाट भइरहेको ठूलो खर्च र यसले दिने सन्देशका कारण आफू सन्तुष्ट नरहेको उल्लेख गर्नुभएको हो । 

    ३२. फिलिपिन्समा भीषण वर्षा र बाढीको प्रकोपः मनिलासहित १२ प्रान्तमा विद्यालय र सरकारी कार्यालय बन्द

    फिलिपिन्स सरकारले राजधानी मनिलासहित १२ वटा प्रान्तमा भौतिक उपस्थितिमा सञ्चालन हुने विद्यालय र सरकारी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । उष्णकटिबन्धीय चक्रवात र मनसुनी वायुका कारण जारी भीषण वर्षाले जनजीवन प्रभावित पारेपछि सोमवार यस्तो निर्णय लिइएको हो । राष्ट्रपतिको कार्यालयद्वारा सोमवार जारी गरिएको ‘मेमोरेन्डम सर्कुलर नम्बर १२७’ अनुसार प्रभावित क्षेत्रका शिक्षण संस्था र सरकारी निकायहरूलाई वैकल्पिक कार्य व्यवस्था (अनलाइन वा भर्चुअल माध्यम) अपनाउन निर्देशन दिइएको छ । 

    ३३. ब्याज भुक्तानीमा वृद्धिसँगै टर्कीको बजेट घाटामा भारी वृद्धि

    ब्याज भुक्तानीमा भएको उल्लेख्य वृद्धिका कारण टर्कीको केन्द्रिय सरकारको बजेट घाटा गत वर्षको तुलनामा करिव १६ गुणाले बढेको छ । टर्कीको वित्त तथा कोष मन्त्रालयले सोमवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत जुलाई महिनामा बजेट घाटा १,४८४.६ प्रतिशतले वृद्धि भई ३७८.१ अर्ब टर्किश लिरा (करिब ७.९ अर्ब अमेरिकी डलर) पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा २३.९ अर्ब लिरा मात्र रहेको थियो । बजेट घाटामा भएको यो तिब्र वृद्धिको मुख्य कारण ब्याज भुक्तानीमा भएको ठूलो बढोत्तरीलाई मानिएको छ । 

    ३४. भारतको बिहारस्थित मन्दिरमा भागदौडः ७ जनाको मृत्यु

    भारतको बिहार राज्यस्थित एक मन्दिरमा सोमवार बिहान भागदौड मच्चिँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । बिहारको राजधानी पटनाबाट करिब १२५ किलोमिटर दक्षिण–पूर्वमा पर्ने लखीसराय जिल्लाको अशोक धाम मन्दिरमा उक्त दुर्घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन् । स्थानीय सञ्चारमाध्यमले वरिष्ठ प्रहरी अधिकारी शिवम कुमारलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार, मन्दिर परिसरमा विद्युतीय तार चुँडिएपछि दर्शनार्थीहरूमाझ त्रास फैलिएको र सोही कारण भागदौड मच्चिएको थियो ।

    ३५. होर्मुज जलडमरूमध्यमा नयाँ समुन्द्री मार्गका लागि इरान र ओमानबीच सहमति

     इरान र ओमानबीच सामरिक महत्त्वको होर्मुज जलडमरूमध्यमा समुन्द्री यातायातका लागि नयाँ मार्गको नक्शांकनका बारेमा सहमति भएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सोमवार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनका क्रममा यसबारे जानकारी दिनुभएको हो । प्रवक्ता बाघेईले होर्मुज जलडमरूमध्यबाट सुरक्षित आवतजावत सुनिश्चित गर्न इरान र ओमानबीच भइरहेको वार्तामा महत्वपूर्ण प्रगति भएको बताउनु भयो ।

    ३६. टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पु¥याउने अवसर छः डा. रामकुमार भण्डारी

    मानव अधिकारकर्मी एवं सेन्टर फर ह्युमन राइट्स एण्ड भिक्टिम अफ भायोलेन्सका अध्यक्ष डा. रामकुमार भण्डारीले वर्तमा सरकारलाई संक्रमणकालीन न्याय (टिआरसी)लाई टुंगोमा पु¥याउने अवसर र जिम्मेवारी रहेको बताउनुभएको छ । मंगलावार संघीय राजधानी काठमाडौंमा आयोजित ‘संक्रमणकालीन न्याय (टीआरसी)को यात्रामा हामी कहाँ छौँ ?’ विषयक संवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संक्रमणकालीन न्यायको विषयलाई लामो समयदेखि दलहरुले राजनीतिक नियन्त्रणमा राखेको आरोप पनि लगाउनु भयो । 

    ३७. दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की

    पूर्वसांसद तथा द्वन्द्वपीडित मैना कार्कीले दलहरुकै कमजोरीको कारण संक्रमणकालीन न्याय (टिआरसी)सम्बन्धी विषय टुंगोमा पुग्न नसकेको बताउनुभएको छ । मंगलवार आयोजित ‘संक्रमणकालीन न्याय (टिआरसी)को यात्रामा हामी कहाँ छौँ ?’ विषयक संवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आर्थिक तथा सामाजिक रूपमा कमजोर रहेका कारण आम द्वन्द्वपीडित संक्रमणकालीन न्यायको अभियानमा जोडिन र सरकारलाई दबाब दिन नसकेको समेत बताउनु भयो । उहाँले विगतमा आफूहले विभिन्न विधेयकमा द्वन्द्वपीडितका सवाल समेट्न संशोधन प्रश्ताव राखेको भएपनि दल र दलका नेताहरुकै कारण ती विषयहरुले मूर्त रुप पाउन नसकेको बताउनु भयो । 

    ३८. समानुपातिक समावेशीताको संवैधानिक व्यवस्था कार्यान्वयनमा सांसदहरुको जोड

    राष्ट्रिय सभाका सांसदहरुले सरकारबाट नियुक्त हुने सार्वजनिक निकायका पदाधिकारीमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न कानून कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ । 
    मंगलवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो धारणा राख्नुभएको हो । नीति निर्माण तहमा प्रतिनिधित्व हुन नसकेका सिमान्तकृत समूदायलाई आरक्षणमार्फत सहभागि गराउनुपर्ने पनि उनीहरुको भनाइ छ । 

    ३९. समावेशिता र आरक्षणको लाभ ‘तरमारा वर्ग’ले मात्रै लिए, समावेशिताको सुक्ष्म अध्ययन गर्नुपर्छः विज्ञहरु

    विज्ञहरुले समावेशितालाई प्रतिनिधित्वमा मात्र सीमित नराखी राज्यका नीति, निर्णय तथा सार्वजनिक निकायमा अवसर र सहभागितामा समान पहुँच सुनिश्चित हुनेगरी कानून निर्माण गर्न सुझाव दिएका छन् । मंगलवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो सुझाव दिएका हुन् । सरकारद्वारा नियुक्त हुने निकायहरुमा समावेशी तथा समानुपातिक सहभागिताको नाममा तरमारा वर्गको हालीमुहाली रहेको उनीहरुको तर्क छ ।

    ४०. काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा हेरफेर हुनसक्ने

    नेपाली काँग्रेसले पार्टीको १५ औँ महाधिवेशन यसअघि घोषणा गरेको असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णयलाई यथावत राखेको छ । मंगलबार पार्टी कार्यलय सानेपामा काँग्रेसको हालै बसेको केन्द्रिय समितिको बैठक सार्वजानिक गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले यसअघि निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले महाधिवेशन तयारी, सदस्यता व्यवस्थापन र तल्लो तहका अधिवेशनको निर्वाचन कार्यतालिकालाई तिब्रता दिने निर्णय गरेको उहाँले बताउनु भयो ।

    ४१ं किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी

    कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध किसानलाई २५ दिनभित्र भुक्तानी दिने व्यवस्था गर्न लागिएको बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभामा सांसद निश्कल राईले सोध्नुभएको प्रश्नको जवाफ दिँदै उहाँले भदौभित्रमा नै २५ दिनभित्र किसानको बक्यौता भुक्तानी गर्ने व्यवस्था लागू गर्ने बताउनुभएको हो । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई दुध खरिदबापत गर्नुपर्ने भुक्तानीको अवधि भदौको अन्तिम सातासम्म २५ दिनमा झार्ने तयारी गरेको उहाँले बताउनु भयो ।

    ४२. ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप

    नेपाली काँग्रेसले ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको आरोप लगाएको छ । काँग्रेस केन्द्रिय समितिको निर्णय सार्वजनिक गर्दै प्रवक्ता देवराज चालिसेले खाना पकाउने ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको आरोप लगाउनु भयो । नेपाल आयल निगमको आयात, भण्डारण र वितरण व्यवस्थापनमा देखिएका कमजोरी तत्काल सुधार गर्न उहाँले सरकारलाई आग्रह गर्नुभयो । 

    ४३. जंगली हात्तीको आतंक नियन्त्रणको लागि वैज्ञानिक व्यवस्थापन गर्न माग

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले जंगली हात्तीको आतंक नियन्त्रणको लागी वैज्ञानिक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले झापा–३ क्षेत्रमा भारतबाट ठूलो संख्यामा प्रवेश गरेका जंगली हात्तीका कारण स्थानीयवासीको जनजीवन प्रभावित भएको भन्दै तत्काल नियन्त्रण तथा व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो । हात्तीको बथानले किसानले लगाएको धानबाली नष्ट गर्नुका साथै घरमा क्षति पु¥याउने र जुनसुकै बेला आक्रमण हुने जोखिम बढेको उहाँले बताउनु भयो ।

    ४४. नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशको एकता बैठक तथा प्रशिक्षण शुरु

    नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशको एकता बैठक तथा प्रशिक्षण शुरु भएको छ । मंगलवार पार्टीका संयोजक पुष्पकमल दाहाल, सह–संयोजक माधवकुमार नेपाल लगायतका नेताहरुको विशेष उपस्थितिमा वाग्मती प्रदेश कमिटिको वैठक तथा प्रशिक्षण काठमाडौमा शुरु भएको हो । प्रशिक्षण अगाडी पार्टी संयोजक दाहालले वागमती प्रदेश कमिटिका सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीमा दुवै पक्षबाट समायोजन गरि प्रदेश कमिटि बनाईएको हो । 

    ४५. राजदुत नियुक्तिमा भएको ढिलाइप्रति काँग्रेसको चासो

    नेपाली काँग्रेसले राजदूत नियुक्तिमा भएको ढिलाइप्रति काँग्रेसको चासो व्यक्त गरेको छ । लामो समयदेखि विभिन्न मुलुकमा राजदूत पद रिक्त रहँदा नेपालको विदेश नीतिमा नकारात्मक प्रभाव परेको काँग्रेसले बताएको हो । हालै सम्पन्न काँग्रेसको केन्द्रिय समितिको बैठकले तत्काल राजदुत नियुक्त गर्न सरकारलाई आग्रह गरेको छ । राजदूत देशको प्रतिनिधित्व गर्ने महत्वपूर्ण संस्था भएकाले लामो समयसम्म पद रिक्त राख्नु उचित नभएको काँग्रेसको निष्कर्ष रहेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । 

    ४६. संविधान संशोधन गर्न सरकार गम्भिर छैनः काँग्रेस

    नेपाली काँग्रेसले संविधान संशोधन गर्न वर्तमान सरकार गम्भिर नभएको आरोप लगाएको छ । मंगलवार पार्टी कार्यलय सानेपामा काँग्रेसको हालै बसेको केन्द्रिय समितिको बैठक सार्वजानिक गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले संविधान संशोधनजस्तो गम्भीर विषयलाई सरकारले हल्का ढंगले अघि बढाएको आरोप लगाउनुभएको हो । काँग्रेस नेतृत्वको सरकारले जारी गरेको संविधानको संविधानको रक्षा, कार्यान्वयन तथा जनताको आवश्यकता र इच्छाअनुसार समयानुकूल संशोधनको नेतृत्व गर्ने जिम्मेवारी काँग्रेसकै भएको केन्द्रिय समितिको बैठकले निष्कर्ष निकालेको छ । 

    ४७. संसद तथा संसदीय समितिमा जनप्रतिनिधि मर्यादित हुनुपर्छः काँग्रेस

    नेपाली काँग्रेसले संसद तथा संसदीय समितिमा जनप्रतिनिधिको भाषा, व्यवहार र प्रश्तुति तथ्यपरक, शिष्ट तथा मर्यादित हुनुपर्नेमा जोड दिएको छ । काँग्रेसको हालै सम्पन्न केन्द्रिय समितिको बैठकले सबै जनप्रतिनिधिलाई उच्च राजनीतिक मर्यादा र संसदीय संस्कार कायम गर्न काँग्रेसले आग्रह गरेको हो । मंगलवार पार्टी कार्यलयमा बैठकको निणय सुनाउँदै पार्टी प्रवक्ता देवराज चालिसेले संसद् र संसदीय समिति लोकतन्त्रका महत्वपूर्ण उत्तरदायी संस्था भएकाले त्यहाँ देखिने अमर्यादित गतिविधिप्रति कांग्रेस गम्भीर असहमति राख्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल

    images
    प्रकाशित मिति :भाद्र २ २०८३ मंगलवार - १९:५४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij