२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीको १५औँ महाधिवेशन आगामी २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा साउन २४ देखि भदौ १ गतेसम्म सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकले समसामयिक राजनीति, संविधान कार्यान्वयन तथा संशोधन, शासकीय अवस्था, आर्थिक गतिविधि तथा सांगठनिक सुदृढीकरणसम्बन्धी महत्त्वपूर्ण निर्णयहरू पारित गरेको हो।
बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले भदौ २ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार बैठकले नीतिगत, संगठनात्मक र सरकारको ध्यानाकर्षणसम्बन्धी विभिन्न प्रस्तावहरू सर्वसम्मत पारित गरेको बताएका छन्।
पार्टीको १५औँ महाधिवेशनलाई प्राविधिक निर्वाचन प्रक्रियामा मात्र सीमित नराखी लोकतान्त्रिक नवीकरण, एकता र सहभागिताको उत्सवका रूपमा सम्पन्न गर्ने निर्णय कांग्रेसले गरेको छ।
भदौ महिनामा हुन सक्ने अत्यधिक वर्षाका कारण स्थानीय तहमा पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै केन्द्रीय निर्वाचन समितिले आवश्यक परे तल्लो तहका निर्वाचन कार्यतालिकामा सामान्य हेरफेर गर्न सक्ने अख्तियारी पाएको छ। महाधिवेशन सम्पन्न गर्न पार्टी सभापति गगनकुमार थापाको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ। महाधिवेशनमा सभापति थापाले ‘आगामी दशक, लोकतन्त्र र कांग्रेस’ शीर्षकमा मुख्य राजनीतिक प्रस्ताव पेस गर्नेछन्।
त्यस्तै, उपसभापति विश्वप्रकाश शर्माले ‘राजनीतिक संस्कृतिमा क्षयको प्रवृत्ति र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी प्रस्ताव, अर्का उपसभापति पुष्पा भुसालले ‘प्रदेश निर्वाचन विशेष प्रस्ताव’ तथा महामन्त्री गुरुराज घिमिरेले ‘संगठनसम्बन्धी प्रस्ताव’ पेस गर्ने तय भएको छ।
महाधिवेशन प्रचार–प्रसार समितिको संयोजकमा प्रवक्ता देवराज चालिसेलाई जिम्मेवारी तोकिएको छ। पार्टीको विधानलाई समयसापेक्ष बनाउन महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा विधान संशोधन समिति गठन गरिएको छ। महाधिवेशनलाई सहज बनाउन विधानको धारा ३५(२)(घ) बमोजिम आवश्यक व्यवस्था निलम्बन गर्ने, निर्वाचन निर्देशिका २०८३ तथा ‘एनसी फर एनसी’ को कार्यविधि पारित गर्ने निर्णयसमेत बैठकले गरेको छ।







© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij