२०८३ भाद्र ४ गते बिहिवार
१. ‘लोकल कन्फरेन्स अफ युथः सिकाईसँगै प्रतिवद्धता
लोकल कन्फरेन्स अफ युथ ‘एलकोई’ का सहभागीहरुको साझा अपेक्षा थियो निष्कर्षहरु अक्षरशः कार्यान्वयन हुन् । जलवायुकार्यमा युवाहरुको सहभागीताका विभिन्न आयाममा छलफल गरी उनीहरुलाई नीति निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता बढाउने उद्देश्य साथ काठमाडौंमा गरिएको युवा सम्मेलनमा सहभागीहरुले नीति निर्माणमा युवाको आवाज निर्णायक बनोस्’ र सुझावहरु कार्यान्वय हुन् भन्ने आशा व्यक्त गरेका हुन् । सहभागी युवाको अनुभवमा एउटा साझा अपेक्षा देखिन्थ्यो ‘सम्मेलनमा उठेका युवाका आवाज छलफलमै सिमित नरही नीति, निर्णय र स्थानीय कार्यान्वयनसम्म पुगून्’ । उनीहरूका लागि ‘एलकोई’ सिकाइको कार्यक्रम मात्र नभई आफ्नो समुदायमा फर्किएर जलवायु कार्य अघि बढाउने प्रतिवद्धताको शुरुवात पनि बन्यो ।
२. एमाले कायर पार्टी होइन, नेतृत्व परिवर्तनको हल्ला निराधार छः अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले कायर पार्टी नभएको उल्लेख गर्दै उच्च मनोबलका साथ एकजुट हुन कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको छ । झापामा आयोजित ‘मिसन पार्टी जागरण’ अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको अस्तित्व नै कार्यकर्तामा निहित रहेको बताउनुभएको हो । पार्टीभित्रको आन्तरिक एकतामा जोड दिँदै अध्यक्ष ओलीले संकटका बेला एक–अर्काको खुट्टा तान्ने प्रवृत्तिले विरोधी शक्तिलाई मात्र फाइदा पुग्ने उल्लेख गर्नुभयो । केही पक्षबाट नेतृत्व परिवर्तनको माग उठिरहेको सन्दर्भलाई केन्द्रित गर्दै अध्यक्ष ओलीले त्यसलाई ‘व्यर्थको प्रयास’ को संज्ञा दिनुभयो । उहाँले कार्यकर्ता पंक्ति वर्तमान नेतृत्वको साथमा रहेको दाबी गर्नुभयो ।
३. करदाता प्रोत्साहन कार्यक्रमः साउनको दोस्रो पाक्षिक विजेता घोषणा, अर्थमन्त्रीद्वारा सचेत उपभोक्ताको ‘दूत’ बन्न आग्रह
आन्तरिक राजश्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन पुरस्कार’ अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक विजेताहरूको नाम घोषणा गरिएको छ । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले साउनको दोस्रो पाक्षिकका १७ जना विजेताहरूमध्ये १६ जना (जनही १ लाख रुपैयाँका विजेता) को नाम सार्वजनिक गर्नुभयो । त्यसैगरी, १० लाख रुपैयाँ राशिको बम्पर पुरस्कारको घोषणा भने साउनको पहिलो पाक्षिकका बम्पर विजेता हेमराज जोशी र उहाँकी धर्मपत्नी तुलसी पन्तले गर्नुभएको छ । कार्यक्रममा पहिलो पाक्षिकका अर्का विजेता हिमाल अर्यालको पनि उपस्थिति रहेको छ ।
४. कानुनहरू संविधानको भावना र मूल्यमान्यतासँग पूर्णतः मेल खानुपर्छः सभामुख अर्याल
सभामुख डोलप्रसाद अर्यालले कानून निर्माण आफैँमा साध्य नभई नागरिकलाई न्याय, सुरक्षा, समानता र अवसर प्रदान गर्ने महत्वपूर्ण साधन भएको बताउनुभएको छ । सोमवार ‘मुलुकी संहिता दिवस’ का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कानुनको वास्तविक उद्देश्य प्रभावकारी कार्यान्वयनबाट मात्र पूरा हुने उल्लेख गर्नुभएको हो । सभामुख अर्यालले कानूनको गुणस्तरसँगै यसको सफल कार्यान्वयन, न्यायिक तथा प्रशासनिक निकायहरूको सुदृढीकरण र नागरिकमा कानुनी सचेतना अभिवृद्धि गर्नु अपरिहार्य रहेकोमा जोड दिनुभयो । संहितामा रहेका प्रावधानहरूको कार्यान्वयनका क्रममा व्यवहारमा देखिएका जटिलताहरू पहिचान गरी आवश्यकताअनुसार परिमार्जन र संशोधन गर्दै लैजानुपर्ने उहाँको भनाइ छ ।
५. कानून निर्माण र संशोधन विधायिकाको प्राथमिक जिम्मेवारीः प्रधानन्यायाधीश डा. शर्मा
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले कानूनको निर्माण र संशोधन मूलतः विधायिकाको जिम्मेवारी भएको बताउनुभएको छ । सोमवार ‘मुलुकी संहिता दिवस’ का अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले न्यायिक व्याख्याको आफ्नै महत्व र सीमा हुने उल्लेख गर्दै यो विधायिकाको विकल्प हुन नसक्ने स्पष्ट पार्नुभएको हो । प्रधानन्यायाधीश शर्माले समुन्नत कानून प्रणाली भएका मुलुकहरूमा न्यायिक व्याख्यालाई ‘ओभररुल’ गर्न संविधान र कानूनमा संशोधन हुने गरेको उदाहरण प्रश्तुत गर्दै न्यायिक व्याख्यामार्फत हुने कानूनको विकासका आफ्नै सीमा रहने बताउनु भयो । कानूनको प्रभावकारिताका सन्दर्भमा चर्चा गर्दै उहाँले कानूनले नागरिकको पारिवारिक, आर्थिक, व्यावसायिक र सामाजिक जीवनलाई सहज बनाएको छ कि छैन भन्ने आधारमा यसको मूल्याङ्कन गरिनुपर्ने बताउनु भयो ।
६. ग्यासको कृत्रिम अभाव र शासकीय अराजकताप्रति सांसद वर्षमान पुनको आपत्ति
नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले मुलुकमा देखिएको ग्यास अभाव, प्रधानमन्त्रीको विवादित अभिव्यक्ति र संसदीय समितिमा देखिएको अस्वभाविक व्यवहारप्रति गम्भीर आपत्ति जनाउनुभएको छ । संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पुनले सरकारले तथ्याङ्कमा आपूर्ति बढेको दाबी गरे पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाउनुले बजारमा कृत्रिम अभाव वा कालाबजारी भइरहेको सङ्केत गरेको बताउनुभएको हो । सांसद पुनले संसद्मा ग्यास अभावको विषयमा सत्ता पक्ष र प्रतिपक्ष दुवैले आवाज उठाएको उल्लेख गर्दै सरकारको दाबी र बजारको यथार्थबीच तालमेल नमिलेको बताउनु भयो ।
७. दलको आन्तरिक मामिलामा अदालत प्रवेश गर्नु हुँदैनः सभापति थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलभित्रको आन्तरिक शक्ति सङ्घर्षमा अदालत प्रवेश गर्न नहुने बताउनुभएको छ । सोमवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा जारी केन्द्रिय कार्यसमितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सभापति थापाले अदालतको क्षेत्राधिकार संविधान र कानूनको पालना भए÷नभएको व्याख्या गर्नेमा मात्र सिमित हुनुपर्ने उल्लेख गर्दै दलका आन्तरिक विषयमा न्यायपालिकाले संयमता अपनाउनुपर्नेमा जोड दिनुभयो । दलका आन्तरिक कुराहरूमा प्रवेश गर्नु न्यायिक संयमताको विषय नभइ यसले जनभावनाको कदर पनि नगर्ने बताउनु भयो ।
८. देशभर श्रद्धापूर्वक नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड
वैदिक सनातन हिन्दु धर्मावलम्वीहरूको पर्व नागपञ्चमी आज देशभर परम्पराअनुसार नागको पूजा–अर्चना गरी मनाइँदैछ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वका अवसरमा घरका मूल ढोकामा नागको तस्बिर टाँसी पूजा गर्ने प्रचलन रहेको छ । नागपञ्चमीका अवसरमा आज बिहानैदेखि काठमाडौंको नक्शालस्थित नागपोखरी लगायत देशभरका विभिन्न नागदह, पोखरी र मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको ठूलो उपस्थिति रहेको छ ।
९.दैलाका नाग, आस्थाका हात र जीवित संस्कार
ओसिएका काठका दलिनहरू र गोबरको चोखो लेपनमाथि श्रद्धापूर्वक टाँसिएको नागको चित्र । बिहानीपखको शङ्ख र घण्टीको मधुर गुञ्जन, अगरबत्तीको सुवासिलो धुवाँ र तामाको थालीमा सजिएको अक्षता–दुबोको स्पर्शले आज हरेक नेपालीको घरको दैलोलाई एउटा जीवन्त देवालयमा परिणत गरिदिएको छ । नेपाली समाजको माटोमा गडेको यो त्यो पर्व हो जहाँ भयलाई भक्तिमा, विषलाई अमृतमा र प्राकृतिक शक्तिलाई परिवारको अविभाज्य संरक्षकमा रूपान्तरण गरिन्छ।दैलोको पहरेदार ः जब घर र आस्था एउटै बिन्दुमा जोडिन्छन् ।
१०. नाडाको स्वर्ण जयन्तीको अवसरमा १८ औं ‘नाडा अटो शो’ आयोजना हुने
नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले आफ्नो स्थापनाको ५० औं वर्ष (स्वर्ण जयन्ती) को अवसरमा १८ औं संस्करणको ‘नाडा अटो शो २०२४’ आयोजना गर्ने भएको छ । सोमवार ललितपुरमा आयोजित एक पत्रकार सम्मेलनमार्फत संस्थाले उक्त प्रदर्शनी आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा सञ्चालन हुने जानकारी दिएको हो । एचपी लुब्रिकेन्ट्स मुख्य प्रायोजक रहेको यस मेलाले नेपालको अटोमोबाइल क्षेत्रको वर्तमान अवस्था, आधुनिक प्रविधि र व्यावसायिक सम्भावनालाई एउटै मञ्चमा प्रश्तुत गर्ने उद्देश्य राखेको छ ।
११. निर्वाचनमा हार व्यहोर्दैमा मैदान छाडेर भागिँदैनः ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान रक्षा, लोकतन्त्रको सुदृढीकरण र मौलिक संस्कृतिको जगेर्नाका लागि आफ्नो पार्टी अविचलित रूपमा अगाडि बढ्ने बताउनुभएको छ । झापामा आयोजित ‘नेकपा एमाले मिसन पार्टी जागरण’ अभियानको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले देशमा व्याप्त गलत क्रियाकलापको प्रतिवाद गर्न सबै नेपाली नागरिक सचेत हुनुपर्नेमा जोड दिनुभयो । यो देश नेपालीहरूको भएकाले यसलाई सही बाटोमा डो¥याउनु सबैको दायित्व भएको बताउनु भयो ।
१२. नेपाल विद्युत प्राधिकरणको जडित क्षमता ४ हजार १२० मेगावाट पुग्यो, वार्षिक नाफा ५ अर्ब ४ करोड
नेपाल विद्युत प्राधिकरणले आफ्नो स्थापनाको ४१ औं वर्ष प्रवेशको अवसरमा आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै ऊर्जा क्षेत्रमा हासिल भएका उपलब्धि र भावी कार्यदिशा प्रश्तुत गरेको छ । प्राधिकरणका कायममुकायम (का.मु.) कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले प्रश्तुत गर्नुभएको प्रतिवेदनअनुसार नेपालको विद्युत क्षेत्रमा उत्पादन, प्रशारण र वितरणतर्फ महत्वपूर्ण प्रगति भएको छ । आर्थिक वर्ष २०८२÷८३ को अन्त्यसम्ममा नेपालको कुल जडित विद्युत उत्पादन क्षमता ४ हजार १ सय २० मेगावाट पुगेको छ । यसै आर्थिक वर्षमा मात्र ५ सय २९ मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा थपिएको छ ।
१३. पार्टीको आन्तरिक विषय सडकमा ल्याउनु अनुशासनहीनता र अराजकता होः अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका आन्तरिक विषयलाई सामाजिक सञ्जालमा ल्याउने वा सार्वजनिक रूपमा हस्ताक्षर संकलन गर्ने कार्यलाई अनुशासनहीनता र अराजकताको संज्ञा दिनुभएको छ । झापामा आयोजित ‘नेकपा एमाले मिसन पार्टी जागरण’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीको विधि र पद्धतिभन्दा बाहिर गरिने कुनै पनि गतिविधि मान्य नहुने स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले नेतृत्वप्रति असन्तुष्टि भए वा अध्यक्ष परिवर्तन गर्नुपर्ने लागे पार्टीका सम्बन्धित कमिटीहरूमा छलफल गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीभित्र लोकतन्त्र रहेको र छलफल गर्न पाइने तर सामाजिक सञ्जालमा लेखेर वा बाहिर हस्ताक्षर संकलन गरेर अध्यक्ष हटाउन खोज्नु पार्टीको पद्धति नभएको बताउनु भयो ।
१४. प्रतिगमनका विरुद्ध आन्दोलनमा जुट्न एमाले अध्यक्ष ओलीको निर्देशन
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई प्रतिगमनका विरुद्धको आन्दोलनको तयारी गर्न निर्देशन दिनुभएको छ । झापामा आयोजित ‘नेकपा एमाले मिसन पार्टी जागरण’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो । उहाँले आगामी स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रित हुन पनि कार्यकर्तालाई आग्रह गर्नुभयो । अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा हरेक वडा र क्षेत्रमा जित हासिल गर्ने उद्देश्यका साथ तयारी थाल्न आग्रह गर्नुभयो । उहाँले कार्यकर्ताहरूलाई अनावश्यक हल्लाको पछाडि नलाग्न र पार्टीको लक्ष्यमा अडिग रहन समेत आग्रह गर्नुभयो ।
१५. प्रतिनिधि सभामा भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने
प्रतिनिधि सभाको आगामी भदौ १० गतेको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । प्रतिनिधि सभा नियमावली, २०८३ को परिच्छेद ९ मा रहेको व्यवस्था बमोजिम उक्त दिनको बैठकमा प्रश्नोत्तरको समय निर्धारण गरिएको हो । सभामुख डोलप्रसाद अर्यालले सोमवारको बैठकमा गराउनुभएको जानकारीअनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रत्येक दलबाट कम्तीमा एक जना सदस्यको प्रश्न समावेश हुनेछ ।
१६. बाध्यताले नभई अवसरका लागि मात्र विदेश जाने वातावरण बनाउँदैछौँः श्रममन्त्री
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले आन्तरिक रोजगारी सिर्जना र वैदेशिक रोजगारीलाई सुरक्षित एवं मर्यादित बनाउन प्राथमिकताका साथ काम गरिरहेको बताउनुभएको छ । रोल...
राष्ट्रिय सभाको सोमवारको बैठकमा सांसद विष्णुकुमारी सापकोटाले सोध्नुभएको प्रश्नको जवाफ दिँदै मन्त्रीले युवा पलायन रोक्न र स्वदेशमै अवसर सिर्जना गर्न मन्त्रालयको कार्यशैलीमा ‘प्याराडाइम सिफ्ट’ गरिएको दाबी गर्नुभयो । मन्त्री यदवले विगतमा मन्त्रालयको ध्यान वैदेशिक रोजगारीमा मात्र केन्द्रित रहेकोमा अब आन्तरिक रोजगारीलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।
१७. भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान
राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ । सोमवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति पौडेलले भारतीय सेनाध्यक्ष सेठलाई उक्त सम्मान प्रदान गर्नुभएको हो । नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने ऐतिहासिक परम्परा रहिआएको छ । सोही परम्पराको निरन्तरता स्वरूप सेनाध्यक्ष सेठलाई यो मानपदवी प्रदान गरिएको हो ।
१८. राष्ट्रिय सभाको शुन्य समयः रास्वपा सांसद सुनारलाई कारबाही गर्न माग
सांसदहरूले मुलुकमा व्याप्त खाना पकाउने ग्यास (एलपीजी) को अभाव, बाढी–पहिरोबाट भएको जनधनको क्षति र समसामयिक राजनीतिक तथा सामाजिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको बैठकमा ‘शुन्य समय’ मा बोल्दै सांसद गीता देवकोटाले बजारमा ग्यासको नियमित आयात भनिए पनि सर्वसाधारणले घण्टौँ लाइनमा बस्दा समेत ग्यास नपाएको गुनासो गर्नुभयो । उहाँले सरकार र मन्त्रीका भान्सामा अभाव नहुने तर जनताको चुलो नबल्ने अवस्थाको अन्त्य गर्न माग गर्दै पारदर्शी वितरण प्रणाली र कालोबजारी नियन्त्रणका लागि सरकारलाई रुलिङ गर्न माग गर्नुभयो ।
१९. लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमवार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो । कुल ८३ सदस्यीय प्रदेश सभामा मतदान प्रक्रियामा ७१ जना सांसद सहभागी भएका थिए । मुख्यमन्त्री आचार्यलाई नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) नेपालले विश्वासको मत दिएका छन् ।
२०. विगत साढे तीन दशकमा नेपालले विभिन्न सूचकमा उल्लेख्य प्रगति गरेको छः प्रेमप्रसाद दंगाल
राष्ट्रिय सभामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का संसदीय दलका नेता प्रा. डा. प्रेमप्रसाद दंगालले विगत तीन दशकमा नेपालले उल्लेख्य प्रगति गरेको बताउनुभएको छ । राष्ट्रिय सभाको सोमवारको बैठकमा मुलुकमा केही पनि काम भएको छैन भन्ने नकारात्मक भाष्य निर्माण गर्न खोजिएको भन्दै उहाँले विभिन्न सामाजिक तथा आर्थिक सूचकहरूका आधारमा नेपालले फड्को मारेको दाबी गर्नुभयो । नेता दंगालले प्रश्तुत गर्नुभएको तथ्याङ्कअनुसार वि.सं. २०४७ सालमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १ खर्ब २० अर्ब रुपैयाँ मात्र रहेकोमा हाल ६६ खर्ब पुगेको छ । सोही अवधिमा प्रतिव्यक्ति आय १ सय ८५ अमेरिकी डलरबाट वृद्धि भई १५३५ डलर पुगेको छ ।
२१. विद्यमान कानूनलाई समयसापेक्ष परिमार्जन गर्न सरकार प्रतिवद्धः मन्त्री गौतम
कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मुलुकका विद्यमान कानून तथा संहिताहरूलाई समयसापेक्ष बनाउन संशोधनको प्रक्रिया अघि बढाइने बताउनुभएको छ । सोमवार मुलुकी संहिता दिवसका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समाजको आवश्यकता र परिवर्तनलाई आत्मसात गर्न कानून लचिलो र गतिशील हुनुपर्नेमा जोड दिनुभएको हो । मन्त्रालयले कानून परिमार्जनका लागि जनस्तरबाट सुझाव संकलन गरिरहेको जानकारी दिँदै मन्त्री गौतमले हालसम्म ५ सयभन्दा बढी सुझाव प्राप्त भएको बताउनु भयो ।
२२. विद्युतमा लगाइएको भ्याट र महशुल वृद्धिको विरोध गर्दै उज्यालो नेपाल पार्टीद्वारा आन्दोलनको घोषणा
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विद्युत, सिंचाई र सार्वजनिक सेवामा लगाएको कर वृद्धिको विरोध गर्दै देशव्यापी आन्दोलनको घोषणा गर्नुभएको छ । दुई तिहाइ बहुमतको सरकारले ल्याएको बजेटले आम जनता र न्युन वर्गीय श्रमिकलाई मारमा पारेको भन्दै उहाँले आपत्ति जनाउनुभएको हो । माईतीघरमा हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले सरकारले घरायसी विद्युतमा ५ प्रतिशत र उद्योग, खानेपानी तथा सिंचाईमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएर किसान र उपभोक्तामाथि अन्याय गरेको बताउनु भयो ।
२३. विधानको सीमाभित्रै रहेर अधिवेशन सम्पन्न गर्छौंः गगन थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको अधिवेशन प्रक्रिया मंगलवारदेखि प्रारम्भ हुने जानकारी दिनुभएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा सोमवार आयोजित केन्द्रिय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । थापाले पार्टीको विधानले तोकेको समयसीमाभित्रै अधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो । उहाँले सबै पक्षलाई समेटेर अगाडि बढ्ने प्रयास भइरहेको बताउँदै आगामी असोज महिनाभित्रै अधिवेशन सम्पन्न गरिने प्रष्ट पार्नुभयो । अधिवेशन पश्चात पार्टीले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्नुका साथै प्रदेश र स्थानीय सरकारका कामहरूमा प्रभावकारी रूपमा केन्द्रित हुने उहाँले बताउनु भयो ।
२४. संक्रामक पशु रोग नियन्त्रण विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो
राष्ट्रिय सभाले ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । सोमवार बसेको सभाको बैठकले उक्त विधेयकलाई सम्बन्धित समितिमा पठाउने प्रश्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भनी प्रश्ताव प्रश्तुत गर्नुभयो । मन्त्री चौधरीद्वारा प्रश्तुत प्रश्तावलाई सभाका अध्यक्षले निर्णयार्थ प्रश्तुत गर्दा बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
२५. संस्थापन इतर समूहलाई गगन थापाको चुनौतिः महाधिवेशनमा उम्मेदवार खडा मलाई पराजित गरेर देखाउनुस्
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नेतृत्व र अनुहारका कारण पार्टीले अपेक्षित मत प्राप्त गर्न नसकेको भनी भइरहेको आलोचनाप्रति टिप्पणी गर्नुभएको छ । सोमवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा जारी केन्द्रिय कार्यसमितिको बैठकमा बोल्दै उहाँले असन्तुष्ट पक्षलाई विशेष महाधिवेशनमार्फत नेतृत्वको विकल्प खोज्न चुनौती दिनुभएको हो । सभापति थापाले गगन थापाको अनुहार देखाएकै कारण काँग्रेसले मत नपाएको हो भन्ने निष्कर्ष हो भने अर्को उम्मेदवार खडा गरेर आफूलाई नेतृत्वबाट हटाउन समेत चुनौति दिनुभयो ।
२६. सबै स्थानीय तहमा ‘क्लाइमेट च्याम्पियन’ राख्न युवा सम्मेलनको माग, १० बुँदे घोषणा पत्र जारी
राजधानी काठमाडौंमा भएको ३ दिने युवा सम्मेलनले सबै स्थानीय तहमा कम्तीमा दुई जना ‘क्लाइमेट च्याम्पियन’ राख्नुपर्ने माग गरेको छ । जलवायु परिवर्तनसम्बन्धी निर्णय प्रक्रियामा बालबालिका तथा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न नीतिगत व्यवस्था गर्नुपर्ने भन्दै सम्मेलनले त्यसको शुरुवात स्थानीय तहबाटै गर्नुपर्ने माग गरेको हो । स्थानीय, प्रदेश र संघीय तहका सबै जलवायु निर्णय प्रक्रियामा बालबालिका तथा युवाको समानुपातिक प्रतिनिधित्व सहित निर्णय प्रक्रियामा सहभागीताको सुनिश्चित गरिनुपर्ने माग पनि युवाहरुले गरेका छन् ।
२७. सरकार चलाउने ढंग नभए मार्ग प्रशस्त गर्नुस्ः सिके राउत
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले सरकारले शिक्षा, स्वास्थ्य र विद्युत जस्ता आधारभुत आवश्यकतामा कर लगाएर जनतालाई थप सास्ती दिएको आरोप लगाउनुभएको छ । सोमवार काठमाडौंमा ‘डेडिकेटेड तथा ट्रंक लाइन’को वक्यौता महशुल उठाउन र विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेजीको माग गर्दै शुरु गरिएको वृहत हस्ताक्षर अभियानमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष राउतले इतिहासमै पहिलोपटक वर्तमान सरकारले शिक्षा र स्वास्थ्यका साथै विद्युत जस्तो संवेदनशील क्षेत्रमा ५ प्रतिशत भ्याट लगाएको भन्दै आलोचना गर्नुभयो । नेपालले विद्युत उत्पादनमा गर्व गरिरहेको र निर्यातको कुरा गरिरहेको अवस्थामा आफ्नै नागरिकले खपत गर्दा कर तिर्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भएको उहाँको तर्क छ ।
२८. सरकार जनअपेक्षा सम्बोधन गर्न पूर्ण रूपमा असफलः एमाले सांसद राई
नेकपा (एमाले) का सांसद मोहम्मद इस्तियाक राईले वर्तमान सरकार जनसरोकारका आधारभुत समस्या समाधान गर्न र संसदीय गरिमा कायम राख्न असफल भएको आरोप लगाउनुभएको छ । सोमवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले सरकारको कार्यशैली र जनस्वास्थ्यका विषयमा सरकारको उदासिनताप्रति आलोचना गर्नुभएको हो । संसद्मा गणपूरक संख्या (कोरम) नपुग्नु र संविधान बमोजिम विधेयकहरू पारित हुन नसक्नुमा सरकार र सत्तापक्ष नै मुख्य जिम्मेवार रहेको उहाँको तर्क छ ।
२९. सरकार जनताको अभिभावक बन्न सकेनः सांसद राजेन्द्रलक्ष्मी गैरे
राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीकी सांसद राजेन्द्रलक्ष्मी गैरेले मुलुकमा आइपरेका प्राकृतिक विपत्ति, बढ्दो महँगी र सुरक्षा चुनौतीका विषयमा सरकार गम्भीर नभएको भन्दै आलोचना गर्नुभएको छ । सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद गैरेले सरकारले आफ्नो अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको र जनजीवनका आधारभुत समस्याप्रति उदासीन रहेको आरोप लगाउनुभएको हो । सांसद गैरेले गत साउन २७ गते रोल्पाको थवाङ गाउँपालिका–५ मा पहिरोका कारण दर्जनौँ व्यक्तिको मृत्यु र कैयौँ बेपत्ता भएको हृदयविदारक घटना स्मरण गर्दै पीडितले अझै राहत नपाएको बताइन् ।
३०. सरकार प्रचारमुखी मात्रै भयो, नतिजा शुन्य छः सांसद नारायणदत्त मिश्र
राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले वर्तमान सरकार परिणाममुखी हुनुको सट्टा प्रचारमुखी मात्र भएको आरोप लगाउनुभएको छ । सोमवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद मिश्रले सरकारले जनतालाई आशाभन्दा पनि ठोस परिणाम दिनुपर्नेमा जोड दिनुभएको हो । सरकारले जनताका आधारभुत आवश्यकता, सुशासन र रोजगारीको पहिचान गर्नुको सट्टा केवल प्रचारको पहिचान गरिरहेको उहाँको तर्क छ । मिश्रले छिमेकी मुलुकहरू र अन्य एशियाली राष्ट्रहरूको आर्थिक विकासको उदाहरण प्रश्तुत गर्दै नेपालको पछौटेपनप्रति चिन्ता व्यक्त गर्नुभयो ।
३१. सरकारले परिणाम देखाउनुपर्छ, पुराना दललाई दोष दिएर उम्किन मिल्दैनः अध्यक्ष राई
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले सरकारले पुराना दलहरूलाई दोष दिएर आफ्नो जिम्मेवारी र कार्यक्षमताको अभावबाट पन्छिन नमिल्ने बताउनुभएको छ । संघीय संसद भवन बाहिर सोमवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले मुलुकमा व्याप्त ग्यास अभाव लगायतका जनजीविकाका सवालमा सरकारले बहानाबाजी नगरी ठोस नतिजा दिनुपर्ने बताउनुभएको हो । संसदमा प्रधानमन्त्रीको उपस्थितिका लागि सभामुखले गरेको रुलिङका सम्बन्धमा टिप्पणी गर्दै राईले यसलाई सकारात्मक उपलब्धिका रूपमा लिनुपर्ने बताउनु भयो ।
३२. सागरनाथ वन विकास परियोजना अलपत्र परेको भन्दै संसदमा सरकारको ध्यानाकर्षण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद नीतिमा भण्डारीले सर्लाहीस्थित सागरनाथ वन विकास परियोजनाको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद भण्डारीले राष्ट्रिय महत्वको यो परियोजना विगत केही समयदेखि नेतृत्वविहीन र अस्तव्यस्त बनेको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो । सांसद भण्डारीले वि.सं. २०३५ सालमा स्थापित करिब १३ हजार ५१२ हेक्टर क्षेत्रफलमा फैलिएको यस परियोजनाले देशलाई काठ उत्पादनमा आत्मनिर्भर बनाउन, वन पैदावारको आपूर्ति सहज तुल्याउन र राज्यलाई ठूलो राजश्व योगदान पु¥याउन महत्त्वपूर्ण भुमिका खेल्ने उद्देश्य बोकेको स्मरण गराउनु भयो । तर वर्तमान समयमा यो परियोजना गम्भीर संकटबाट गुज्रिरहेको उहाँको भनाइ छ ।
३३. इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको आरोप
दक्षिण लेबनानका विभिन्न क्षेत्रमा शनिवार भएका दुई छुट्टाछुट्टै इजरायली हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन् । लेबनानी राष्ट्रपति जोसेफ आउनले यस आक्रमणले हाल जारी वार्ता प्रक्रियामा बाधा पु¥याउने स्पष्ट सन्देश दिएको बताउनुभएको छ । लेबनानी सञ्चारमाध्यम ‘अल–जदिद टेलिभिजन’काअनुसार नबातिह जिल्लाको ‘देर अल जाहरानी’ सहरमा रहेको एक दुई तले भवनलाई लक्षित गरी गरिएको आक्रमणमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । स्थानीय प्रत्यक्षदर्शी मोहम्मद फकिहका अनुसार उक्त विस्फोटका कारण घरहरूमा ठूलो क्षति पुगेको छ ।
३४. टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते
टर्कीको दक्षिणपूर्वी प्रान्त दियारबाकिरमा एउटा मिनीबस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूकाअनुसार दियारबाकिरको लाइस जिल्लामा चालकले सवारी साधनमाथिको नियन्त्रण गुमाउँदा मिनीबस सडकमै पल्टिएको थियो। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ घटनास्थलमा आपत्कालीन उद्धार टोलीहरू परिचालन गरिएको थियो । टर्कीको सरकारी समाचार एजेन्सी ‘अनादोलु’ काअनुसार दुर्घटनामा घाइते भएका नौ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
३५. दक्षिण–पश्चिम चीनको मकैबारीमा सात जंगली हात्तीको गहिरो निन्द्राः सुरक्षाको अनुभूतिले पहरेदारबिनै सुते
दक्षिण–पश्चिम चीनको एक मकैबारीमा सातवटा जंगली एशियाली हात्तीहरू गहिरो निन्द्रामा सुतेको दुर्लभ दृश्य देखिएको छ । स्थानीय वन्यजन्तु अनुगमनकर्ताहरूकाअनुसार सामान्यतया हात्तीको बथान सुत्दा सुरक्षाका लागि केही सदस्यहरूलाई पहरेदारको रूपमा खटाउने गरिन्छ । तर यस पटक भने बथानका सबै सातै वटा हात्तीहरू सँगै निदाएका थिए । विज्ञहरूकाअनुसार हात्तीहरू यसरी सामूहिक रूपमा गहिरो निद्रामा पर्नुले उनीहरूले उक्त वातावरणमा आफूलाई पूर्ण रूपमा सुरक्षित महशुस गरेको सङ्केत गर्दछ ।
३६. म्यानमारमा भीषण बाढीका कारण ३२ नगर क्षेत्र प्रभावित, ६० हजारभन्दा बढी विस्थापित
म्यानमारमा जुलाईको मध्यदेखि शुरु भएको बाढीका कारण हालसम्म नौवटा क्षेत्र र राज्यका ३२ वटा टाउनसिप (नगरपालिका) प्रभावित भएका छन् । म्यानमार रेडियो र टेलिभिजनले विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो । बाढीबाट विशेषगरी कचिन राज्य, कायिन राज्य, सागाइङ क्षेत्र, बागो क्षेत्र, मगवे क्षेत्र, मण्डले क्षेत्र, मोन राज्य, सान राज्य र इरावदी क्षेत्र बढी प्रभावित भएका छन् । विपद् व्यवस्थापन विभागकाअनुसार बाढीका कारण ६० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।
३७. गगन–देउवाबीचको दूरी घटाउन पहल गर्छुः डा. शशांक कोईराला
नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टी सभापति गगन थापा र निःवर्तमान सभापति शेरबहादुर देउवाबीच देखिएको दूरी घटाउन आफूले पहल गर्ने बताउनुभएको छ । संस्थापन इतर पक्षको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित चियापान कार्यक्रममा बोल्दै उहाँले पार्टी विभाजनको पक्षमा आफू नरहेको स्पष्ट पार्नुभयो । उहाँले दुवै पक्षलाई समेटेर पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले पाटीभित्र देखिएको विवाद समाधानको लागि आफू तयार रहेको तर आफ्नो मात्रै प्रयासले सम्भव नहुने बताउनु भयो । उहाँले सभापति थापासँग आफूले यसअघि पनि पटक–पटक भेटेर संवाद र सहमतिका लागि प्रयत्न गरेको बताउनु भयो ।
३८. चक्रपथमा स्मार्ट स्ट्रिट लाइट जडान, बुधवार साँझ उद्घाटन गर्ने तयारी
ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्ने ७ दशमलव ९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ । महानगर प्रमुख चिरिबाबु महर्जनकाअनुसार बालकुमारीदेखि बल्खु हुँदै सानेपासम्मको चक्रपथ क्षेत्रमा स्मार्ट स्ट्रिट लाइट प्रणाली जडान गरिएको हो । स्मार्ट स्ट्रिट लाइट प्रणाली नेपालमै पहिलोपटक ललितपुर महानगरपालिकाले उहाँले दाबी गर्नुभयो । स्मार्ट स्ट्रिट लाइट प्रणालीको जडान कार्य सम्पन्न भइसकेकोले अब उद्घाटनको तयारी गरिएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार बुधवार बेलुका बालकुमारी पुलबाट बत्ती बालेर स्मार्ट स्ट्रिट लाइटको औपचारिक शुभारम्भ गरिनेछ । महानगरले सोमबार आयोजना गरेको चिकित्सकसहितको एम्बुलेन्स सेवा सुभारम्भ कार्यक्रममा उहाँले उक्त जानकारी दिनुभएको हो ।
३९. जलविद्युत क्षेत्रमा देखिँदै आएको ‘लाइसेन्स राज’को अन्त्य गर्छौंः मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले मन्त्री श्रेष्ठले जलविद्युत क्षेत्रमा लामो समयदेखि देखिँदै आएको ‘लाइसेन्स राज’को अन्त्य गर्ने बताउनुभएको छ । नेपाल विद्युत प्राधिकरणको ४१ औँ वार्षिकोत्सवमा सोमवार आयोजित कार्यक्रममा उहाँले लाईसेन्स राजको अन्त्य गर जलविद्युत आयोजनाको विकासमा निष्पक्ष, पारदर्शी र प्रतिष्पर्धी प्रणाली स्थापित गर्ने बताउनुभएको हो । लगानीकर्ताले नियम परिवर्तन हुने डरमा नभई नीतिगत स्थिरतामा विश्वास गरेर लगानी गर्ने वातावरण बनाउने उहाँले बताउनु भयो ।
४०. नेपालको उर्जा र युवा जनशक्तिलाई खेर फाल्न दिनुहुन्नः अध्यक्ष श्रेष्ठ
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालमा हाल रहेको ऊर्जा र युवा जनशक्तिको अवसरलाई समयमै उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल विद्युत प्राधिकरणको ४१ औँ वार्षिकोत्सवका अवसरमा बोल्दै उहाँले नेपालको ऊर्जा र युवा जनशक्तिलाई समयमै उपयोग गर्न नसकेमा भविष्यमा यस्तो अवसर नआउने बताउनुभएको हो । उहाँले नेपालमा रहेको युवा जनशक्तिलाई जनसांख्यिक लाभका रूपमा उपयोग गर्नुपर्ने बताउनु भयो । उहाँले ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्र र नेपाल विद्युत प्राधिकरणबीच सहकार्य आवश्यक रहेको बताउनु भयो ।
४१. प्रशारण लाइनको अभावमा ऊर्जा खेर जाने अवस्थाको अन्त्य हुनुपर्दछः सचिव दुवाडी
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयकी सचिव सरिता दवाडीले प्रशारण लाइनको अभावमा ऊर्जा खेर जाने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । नेपाल विद्युत प्राधिकरणको ४१ औँ वार्षिकोत्सवको अवसरमा सोमवार आयोजित कार्यक्रममा उहाँले विद्युत उत्पादन, प्रशारण, वितरण र मागबीच सन्तुलन कायम गर्नुपर्ने बताउनुभएको हो । उहाँले प्राधिकरण अब विद्युत उत्पादन र वितरणको विस्तारसँगै गुणस्तरीय तथा भरपर्दो सेवा, आन्तरिक खपत वृद्धि र विद्युत व्यापार विस्तारमा केन्द्रित हुनुपर्ने बताउनु भयो । उहाँले विद्युत उत्पादन, राष्ट्रिय प्रणाली सुदृढीकरण र विद्युत व्यापारमा उल्लेख्य प्रगति भएको उल्लेख गर्दै अब संस्थाको सफलता उत्पादन तथा वितरण क्षमताबाट मात्रै मापन गर्न नहुने बताउनु भयो ।
४२. मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च छः प्राधिकरण प्रमुख डा. उप्रेती
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च रहेको बताउनुभएको छ । सोमवार प्राधिकरणमा आयोजित मनसुन पुर्वतयारी तथा प्रतिकार्य सम्बन्धी छलफलमा उहाँले यस्तो बताउनुभएको हो । नेपालमा यसवर्षको मनसुन औसतभन्दा फरक ढाँचामा सक्रिय भइरहेकाले बाँकी अवधिमा पनि भारी वर्षा र विपद्को जोखिम कायमै रहेको उहाँले बताउनु भयो । नेपालमा मनसुन प्रवेशको औपचारिक मिति जुन १३ र पूर्ण रूपमा बाहिरिने औसत मिति अक्टोबर २ मानिन्छ । भदौ १ सम्म आइपुग्दा मनसुन अवधि करिव एक महिना १४ दिन बाँकी रहेको छ । अब जोखिम व्यवस्थापनका लागि ‘काउन्टडाउन’मा जानुपर्ने अवस्था रहेको प्रमुख उप्रेतीले बताउनु भयो ।
४३. मनसुनजन्य विपद्को पूर्वतयारीमा केन्द्रदेखि स्थानीय तहसम्मका संयन्त्र सक्रियः विपद् प्राधिकरण
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को जोखिम न्युनिकरणका लागि केन्द्रदेखि स्थानीय तहसम्म पूर्वतयारीका संयन्त्र सक्रिय रहेको जनाएको छ । सोमवार प्राधिकरणमा आयोजित मनसुन पुर्वतयारी तथा प्रतिकार्य सम्बन्धी छलफलमा प्राधिकरणका उपसचिव रामबहादुर केसीले नीतिगत, संस्थागत र कार्यात्मक रूपमा विपद् प्रतिकार्यका लागि राज्यका सबै संयन्त्र तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । केसीका अनुसार मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना तयार भइसकेको छ । सातवटै प्रदेश र ७७ वटै जिल्लाले पनि आ–आफ्नो वस्तुस्थितिअनुसार कार्ययोजना बनाएको उहाँले बताउनुभयो ।
४४. ललितपुर महानगरमा चिकित्सकसहित निःशुल्क एम्बुलेन्स सेवा शुरु
ललितपुर महानगरपालिकाले चिकित्सकसहितको एम्बुलेन्स सेवा शुरु गरेको छ । आकस्मिक अवस्थाका बिरामीलाई घटनास्थलबाट अस्पतालसम्म पु¥याउँदा आवश्यक प्रारम्भिक उपचार उपलब्ध गराउने उद्देश्यले महानगरले नयाँ सेवा सञ्चालनमा ल्याएको हो । चिकित्सकसहित निःशुल्क एम्बुलेन्स सेवाको सोमवार एक कार्यक्रमकाबीच स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सुभारम्भ गर्नुभएको छ । मन्त्री मेहताले ललितपुर महानगरपालिकाले चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालन ल्याएर उदाहरणीय कामको शुरुवात गरेको बताउनुभयो ।
४५. लोडसेडिङको अँध्यारो युग पार गर्दै नेपाल विद्युत निर्यात गर्ने मुलुक बन्योः नायव प्रवन्ध निर्देशक मदन तिम्सिना
नेपाल विद्युत प्राधिकरणका नायव प्रबन्ध निर्देशक मदन तिम्सिनाले लोडसेडिङको अँध्यारो युग पार गर्दै नेपालले विद्युत उत्पादन, प्रशारण, वितरण र निर्यातमा उल्लेख्य उपलब्धि हासिल गरेको बताउनुभएको छ । नेपाल विद्युत प्राधिकरणको ४१ औँ वार्षिकोत्सवका अवसरमा सोमवार आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले हाल विद्युत प्रशारण ग्रिड करिव ९८ प्रतिशत जनसंख्यामा पुगेको बताउनु भयो । प्रतिव्यक्ति विद्युत खपतसमेत अघिल्लो वर्षको तुलनामा बढेको उहाँले जानकारी दिनुभयो ।
४६. ‘पार्लेमो प्रोटोकल’ कार्यान्वयनका लागि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन संशोधन प्रश्ताव गरिएको होः मन्त्री वादी
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले मानव बेचबिखन अन्तरदेशीय संगठित अपराधका रूपमा बढ्दै गएकाले अपराधको क्षेत्राधिकार स्पष्ट पार्न मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण)विधेयकलाई संशनेधन गर्ने प्रश्ताव गरिएको बताउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बादीले यस्तो बताउनुभएको हो । उहाँले विदेशमा रहेका नेपाली नागरिकले मानव बेचबिखन तथा ओसारपसारको कसुर गरेमा उनीहरुलाई नेपालको कानूनअनुसार कारबाहीको दायरामा ल्याउनसक्ने व्यवस्था समेत विधेयकमा प्रश्ताव गरिएको बताउनुभयो ।
४७. धानको न्युनतम समर्थन मूल्य बढाउन सांसद यादवको माग
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम सुप्रभात यादवले धानको न्युनतम समर्थन मूल्य बढाउन माग गर्नुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले तराईमा उत्पादन हुने बासमती धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल १० हजार रुपैयाँ र बंगलीया धानको न्यूनतम समर्थन मूल्य कम्तीमा ५ हजार रुपैयाँ निर्धारण गर्न माग गर्नुभयो । उहाँले अन्य जातका धानको समेत उचित समर्थन मूल्य तोक्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले किसानले मल, बीउ र सिंचाईको अभाव झेलिरहेको भन्दै कृषि उत्पादनका लागि आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउन समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।
४८. नागरिकको विवरण नागरिककै झोलामा खोज्ने यो कस्तो डजिटल सरकार होः सांसद कार्की
नेपाली काँग्रेसका सांसद प्रकाश सिंह कार्कीले सरकारी सेवा प्रवाहमा नागरिकले परिचय र कागजात प्रमाणित गर्नुपर्ने झन्झटको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राज्यसँग नागरिकको विवरण हुँदाहुँदै पनि सरकारी कार्यालयमा पटक–पटक कागजात मागिनु डिजिटल शासनको प्रभावकारिताको प्रश्न भएको बताउनु भयो । सरकारलाई आफ्नै नागरिक चिन्नको लागि यति धेरै कागज किन चाहिन्छ ? उहाँले प्रश्न गर्नुभयो । सांसद कार्कीले नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी र सवारी चालक अनुमतिपत्रजस्ता विभिन्न परिचयपत्र हुँदाहुँदै सरकारी कार्यालयमा हरेकपटक थप प्रमाण खोज्ने प्रवृत्तिले नागरिकलाई अनावश्यक झन्झट दिएको बताउनुभयो ।
४९. पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति संसदमा एमालेको आपत्ति
नेकपा (एमाले)ले जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएको तथा उहाँको कार्यालय र घरमा समेत खानतलासी गरिएको घटनाप्रति आपत्ति जनाएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसद राजेन्द्रकुमार राईले यस्तो आपत्ति जनाउनुभएको हो । उहाँले पत्रकार श्रेष्ठमाथि भएको व्यवहार नागरिकको अभिव्यक्ति स्वतन्त्रमाथिको हस्तक्षेप भएको टिप्पणी गर्नुभयो । सांसद राईले सरकार अधिनाकवादतर्फ उन्मुख भइरहेको समेत आरोप लगाउनु भयो । उहाँले लोकतान्त्रिक व्यवस्थामा सबै नागरिकलाई लेख्ने र बोल्ने हक भएको भन्दै सरकारले यस्तो गर्न पाउँछ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सरकारले नागरिकको जिउधनको सुरक्षा गर्नुपर्नेमा आफैं समाजमा संशय र असुरक्षा पैदा गरिरहेको आरोप पनि लगाउनु भयो ।
५०. बाढी पहिरोको जोखिम कम गर्न सांसदहरूले गराए सरकारको ध्यानाकर्षण
देशका विभिन्न ठाउँमा बाढी र पहिरोको जोखिम बढेको विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा सांसदहरुले मनसुनजन्य वर्षाको कारण सम्भावित बाढी पहिरोको न्युनिकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले गत २७ साउनमा रोल्पामा गएको पहिरो गई १३ जनाको मृत्यु भएको उल्लेख गर्नुभयो । सांसद पुनले साउन २८ गते सुनसरी गाउँपालिकाको ग्राम क्षेत्रमा थप थप ४ जनाको मृत्यु भएको बताउनु भयो ।
५१. बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभामा पेश
सरकारले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ संघीय संसदको प्रतिनिधि सभामा पेश गरेको छ । सभाको सोमवारको बैठकमा महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले उक्त विधेयक सभामा प्रश्तुत गर्नुभएको हो । विधेयक प्रश्तुत गर्दै मन्त्री बादीले बाल न्याय प्रणालीमा बालबालिकाको सर्वोत्तम हित र कानूनी विवादमा परेका बालबालिकाको संरक्षण प्रणालीलाई सुदृढ एवं संस्थागत गर्न उक्त विधेयक ल्याइएको बताउनु भयो ।
५२. मानव बेचबिखन नियन्त्रणका लागि तीन तहकै सरकारलाई सक्रिय बनाउनुपर्छः सांसदहरु
प्रतिनिधि सभाका सांसदहरुले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि पीडितको उद्धारसँगै उपचार, सुरक्षा, कानुनी सहायता, क्षतिपूर्ति, पुनःस्थापना र सामाजिक सम्मानको सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी सांसदहरुले यस्तो धारणा राख्नुभएको हो । मानव बेचबिखन नियन्त्रणका लागि संघीय सरकार मात्र नभई प्रदेश र स्थानीय तह, गैरसरकारी संस्था, सञ्चारमाध्यम तथा नागरिक समाजको भुमिका प्रभावकारी बनाउनुपर्ने उनीहरुको भनाइ छ । नेपाली काँग्रेसका सचेतक निश्कल राईले मानव बेचबिखनका सन्दर्भमा पीडितलाई उद्धार गरेर मात्र राज्यको दायित्व पूरा नहुने बताउनु भयो ।
५३. मिटरब्याज पीडितका माग तत्काल सम्बोधन गर्न सांसद भाटको माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अलि भाटले मिटरब्याज तथा लघुवित्त पीडितका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले हरिहर भवनस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय नजिक ४ सय ५० जना मिटरब्याज तथा लघुवित्त पीडित लामो समयदेखि धर्नामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले पीडितहरु मिटरब्याज तिर्दातिर्दै हैरान भइसकेको उल्लेख सरकारले तत्काल तिर्नुपर्ने ब्याजको सीमा तोकिदिनुपर्ने माग समेत राख्नुधभयो । सरकारले लघुवित्त पीडितका दुई समूहसँग छुट्टाछुट्टै सम्झौता गरेपनि केही पीडितहरुले आन्दोलन जारी राखेका छन् ।
५४. रास्वपामा कुनै गुट छैनः सभापति लामिछाने
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र कुनै गुट वा समूह नरहेको दाबी गर्नुभएको छ । सोमवार चःमतिस्थित पार्टी केन्द्रीय कार्यालयमा ‘क्याण्डिडेट क्लव’ घोषणा गर्नेक्रममा उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले पार्टीको महाधिवेशन सम्पन्न भएसँगै पार्टी समायोजनको सम्पूर्ण काम सकिएको भन्दै गुटबन्दीमा नलाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले रास्वपामा एउटै पार्टी र एउटै नेतृत्व रहेको दाबी गर्दै फरक–फरक गुटको अस्तित्व रहन नसक्ने बताउनुभयो । उहाँले कसैले आफूलाई कुनै गुट वा नेतासँग जोडेर परिचय दिएपनि त्यसलाई मनोरञ्जनबाहेक अन्य रूपमा लिन नसकिने उहाँको जिकिर छ ।
५५. संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन
सभामुख डोलप्रसाद अर्यालले संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिनुभएको छ । प्रतिनिधि सभाको बैठक शुरु भए लगत्तै प्रमुख प्रतिपक्षीसहितका दलका सांसदहरुले उठेर विरोध गरेसँगै सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र साहलाई संसदमा प्रश्नको जवाफ दिन निर्देशन दिनुभएको हो । गत १७ जेठमा प्रधानमन्त्री साहले प्रतिनिधि सभामा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिनुभएको थियो । सो क्रममा साहले भारतले नेपालको मात्र नभई नेपालले समेत भारतको भूमि मिचेको दाबी गर्नुभएको थियो ।
५६. सरकारको निरङ्कुशताविरुद्ध सडकमा उत्रिन विद्यार्थी संगठनहरुलाई एमाले सांसद बरालको आह्वान
नेकपा (एमाले)की सांसद यशोदाकुमारी बरालले सरकारको निरङ्कुशताविरुद्ध सडकमा उत्रिन विद्यार्थी संगठनहरुलाई आह्वान गर्नुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो । उहाँले अपांगता भएका नागरिक र सुत्केरी महिला समेत खाना पकाउने ग्यासका लागि दिनभर लाइनमा बस्नुपर्ने अवस्था रहेको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले ग्यास अभावको कारण नागरिकले सास्ती व्यहोर्नुपरेको भएपनि सरकार नागरिकको समस्याप्रति संवेदनशील नभएको आरोप पनि लगाउनु भयो । उहाँले सरकारमा अलिकति पनि मानवता छैन ? भन्दै प्रश्न समेत गर्नुभयो ।
५७. सांसद तामाङको प्रश्न–सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहारेर हिँड्ने ?
सत्तारुढ दल राष्ट्रिय स्वन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले कम्बोडियामा मृत्यु भएका सन्तोष राईको शव नेपाल ल्याउन सरकारले ढिलाइ गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले परराष्ट्र मन्त्रालयले कार्यविधि बनाउन नमान्दा राईको शव नेपाल ल्याउन नसकिएको भन्दै सांसद तामाङले आपत्ति जनाउनुएको हो । उहाँले एउटा सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका चहारेर कहिलेसम्म हिँड्ने सभामुख महोदय ? भन्दै प्रश्न गर्नुभयो । उहाँले शव व्यवस्थापनका लागि अर्थ मन्त्रालयले बजेट छुट्याएको भएपनि उक्त बजेट कार्यान्वयनको लागि परराष्ट्र मन्त्रालयले आवश्यक कार्यविधि नबनाउँदा राईको शव नेपाल ल्याउन समस्या बताउनु भयो ।
५८. साम्प्रदायिक तनावका उस्तै प्रकृतिका घटनामा सरकारले विभेदकारी व्यवहार देखायोः उपनेता साह
नेपाली काँग्रेसका संसदीय दलका उपनेता अभिशेकप्रताप साहले देशका विभिन्न स्थानमा भइरहेका साम्प्रदायिक घटनामा सरकारले विभेदपूर्ण व्यवहार गरिरहेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ मा २०८२ चैत ७ गते भएको साम्प्रदायिक तनाव र हालै सुनसरी तथा सिरहामा भएका घटनाको प्रकृति समान भएपनि राज्यको उपस्थिति, राहत तथा न्याय सम्पादनमा फरक व्यवहार भएको दाबी गर्नुभयो । उहाँले एउटा घटनामा सरकारले अस्वाभाविक तदारुकता, राहत, क्षतिपूर्ति र कारबाहीमा तत्परता देखाएको तर कपिलवस्तु घटनामा मौनता, उदासीनता र फितलो अनुसन्धान गरेको आरोप लगाउनु भयो ।
५९. स्थानीय तहको उम्मेदवार छनोट गर्न रास्वपाको ‘क्याण्डिडेट क्लव’ः गाउँपालिकाका उम्मेदवारले आजैदेखि आवेदन दिन पाउने
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने आकांक्षीको मूल्यांकन र छनोटका लागि ‘क्याण्डिडेट क्लव’ सञ्चालनमा ल्याएको छ । सोमवार चःमतिस्थित पार्टी केन्द्रिय कार्यालयमा सभापति रवि लामिछानेले ‘क्याण्डिडेट क्लव’को घोषणा गर्नुभएको हो । उहाँले उम्मेदवार छनोटअघि आकांक्षीको कानूनी, आर्थिक, सामाजिक तथा पारिवारिक अवस्थालगायत विषयको मूल्यांकन गरि योग्य र सक्षम प्रतिनिधि छनोटमा सहयोग पुर्याउने उद्देश्यले ‘क्याण्डिडेट क्लव’ सञ्चालनमा ल्याइएको बताउनु भयो । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij