२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले आन्तरिक रोजगारी सिर्जना र वैदेशिक रोजगारीलाई सुरक्षित एवं मर्यादित बनाउन प्राथमिकताका साथ काम गरिरहेको बताएका छन्।
राष्ट्रिय सभाको सोमबारको बैठकमा सांसद विष्णुकुमारी सापकोटाले सोधेको प्रश्नको जवाफ दिँदै उनले युवा पलायन रोक्न र स्वदेशमै अवसर सिर्जना गर्न मन्त्रालयको कार्यशैलीमा ‘प्याराडाइम सिफ्ट’ गरिएको दाबी गरेका हुन्।
मन्त्री यादवले विगतमा मन्त्रालयको ध्यान वैदेशिक रोजगारीमा मात्र केन्द्रित रहेकोमा अब आन्तरिक रोजगारीलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिएका छन्।
सरकारले ७ सय ५३ वटै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई सक्रिय बनाई परिचालन गरेको उल्लेख गर्दै गुणस्तरीय सीप विकासका लागि ३९० घण्टाको तालिमलाई अनिवार्य गर्ने नीति लिइएको उनले जानकारी दिएका छन्। चालु आर्थिक वर्षदेखि सातै प्रदेशमा सीप तथा रोजगार मेला सञ्चालन गर्ने र श्रम बजारको मागअनुसार ‘केयर इकोनोमी’ तथा डिजिटल रोजगारीका क्षेत्रमा करिब एक दर्जन कार्यक्रम सुरु गरिएको उनले बताएका छन्।
वैदेशिक रोजगारीमा हुने ठगी र शोषण नियन्त्रणका लागि मन्त्रालयले ‘अपरेशन इलिगल एजेन्ट क्लिनअप’ एप र ‘उजुरी डट एफई डट जीओभी डट एनपी’ पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै मन्त्री यादवले श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाई दुई घण्टाभित्रै सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको बताएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij