२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत पाउने भएका छन्। सोमबार प्रदेश सभा बैठकमा विश्वासको मत मागेका मुख्यमन्त्री आचार्यको पक्षमा सत्तारूढसहित चार दलले मतदान गर्ने प्रतिबद्धता जनाएका हुन्।
मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले समर्थन गर्ने भएका छन्। यी चार दलको समर्थनसँगै मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि आवश्यक बहुमत जुटाएका छन्।
प्रदेश सभा बैठकमा एमाले संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले सरकारको नेतृत्व गरिरहेको दलका तर्फबाट मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने जानकारी गराए। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका दल नेता जोखबहादुर महरा, जनता समाजवादी पार्टी नेपालकी हेमा बेल्वासे र राष्ट्रिय जनमोर्चाकी तारा थापाले पनि मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने बताएका छन्।
यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने मुख्यमन्त्री आचार्यलाई विश्वासको मत नदिने निर्णय गरेको छ। कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले कांग्रेसले विश्वासको मतको विपक्षमा मतदान गर्ने जानकारी दिए।
त्यस्तै जनमत पार्टीले पनि मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्ने भएको छ। जनमत पार्टीका दल नेता चन्द्रकेश गुप्ताले विश्वासको मत प्रस्तावको विपक्षमा मतदान गर्ने स्पष्ट पारेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी भने विश्वासको मत प्रक्रियामा तटस्थ बस्ने भएको छ। राप्रपाकी प्रमुख सचेतक मिनाकुमारी श्रेष्ठले पार्टीले पक्ष वा विपक्षमा मतदान नगर्ने जानकारी प्रदेश सभा बैठकमा गराएकी छन्।
नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन्। दलका नेताहरूले प्रस्तावमाथि धारणा राखिसकेपछि प्रदेश सभामा मत विभाजनमार्फत विश्वासको मतको टुंगो लगाइँदैछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij